प्रस, वीरगंज, १५ साउन/
वीरगंज–पोखरिया सडकखण्ड बहुअर्वाभाठामा रहेको एक उद्योगबाट गएराति ट्रान्सफर्मर चोरी भएको छ।

विन्ध्यवासिनी गापाको गर्दौलस्थित गाद नदीको छेउमा रहेको जयलक्ष्मी उद्योगमा रहेको ट्रान्सफर्मर गएराति चोरहरूले पोलबाट तल झारी त्यसभित्र रहेको पित्तलका क्वायल, तेललगायत अन्य सामान चोरी गरी लगेको उद्योगका सञ्चालक बाँकेप्रसाद कुर्मीले बताए। दिनभरि उद्योग सञ्चालनमा रहेको र राति कामदारहरू उद्योग बन्द गरी घर गएपछि चोरहरूले ट्रान्सफर्मरका सामान चोरी गरेको पीडित कुर्मीले बताए।

चोरी भएको स्थानबाट पूर्व एक सय मिटरको दूरीमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका बेससमेत रहेका छन्। त्यतिमात्र हैन, वीरगंज–पोखरिया सडकखण्ड रातिको बेला पनि अति व्यस्त रहन्छ। सडकसँगै टाँसिएको उद्योगबाट चोरहरूले ट्रान्सफर्मरका सामान चोरीको घटना सुनेर स्थानीयहरू आश्चर्यचकित भएका छन्। गर्दौल तथा बहुअर्वाभाठा गाउँको सिमानामा रहेको गाद नदीसँगै पश्चिमपट्टि सो उद्योग रहेको छ। नजीकै रातभरि ट्राफिक प्रहरीले सवारीसाधन चेकजाँच गर्छ। रातभरि सो सडकखण्डमा जनपद र सशस्त्र प्रहरी गस्ती पनि गर्छन्। तापनि कसरी चोरी भयो भन्नेबारेमा प्रहरी पनि चकित छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here