सहकारीको नारा नै छ ‘गाउँ–गाउँमा सहकारी, घर–घरमा भकारी।’ सहकारी एकअर्काबीचको सहकार्यात्मक अवधारणा हो। ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने भावना र व्यवहारमार्फत व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक एवं सामाजिक उत्थानको लागि गरिने एकीकृत प्रयास नै सहकारी हो। छरिएर रहेका श्रम, सीप, प्रविधि र पूँजीलाई सहकारीले एकत्रित गर्दछ। सहकारीमार्फत व्यक्तिहरू आफ्नो हितअनुकूल एकसाथ मिलेर काम गर्छन्। सीमित स्रोत र साधन भएका, समान इच्छा र आकाङ्क्षा पालेका व्यक्तिहरूको एकीकृत सङ्गठन सहकारी हो। आपसी सहयोग तथा सामाजिक उत्थानका निमित्त गरिने एकताबद्ध प्रयास नै सहकारी भएको हुँदा यसले अन्तरनिर्भरता हुँदै आत्मनिर्भरतातर्फ डो–याउँछ। सहकारी लोकतान्त्रिक विधिमा आधारित सङ्गठन हुँदा शेयर सदस्यहरू नै यसका मालिक र ग्राहक पनि हुन्।

सहकारी तब मात्रै सफल हुन्छ, जब सहकारीको सिद्धान्त, मूल्य–मान्यता, विधि–विधान, पद्धति र आदर्शलाई आत्मसात् गरेर चल्छ। यसका निम्ति सबैभन्दा महत्वपूर्ण कुरा शिक्षा हो। सहकारीका पदाधिकारी, कर्मचारी एवं शेयर सदस्यमा सहकारी शिक्षाबारे जानकारी हुनुपर्छ। संस्था सही बाटोमा चलिरहेको छ या छैन भन्ने कुरा सहकारीसम्बन्धी शिक्षा भएकाले मात्रै थाहा पाउन सक्छन्। सहकारीमा नियमानुसार सदस्यता प्राप्त व्यक्तिबाट मात्र बचत सङ्कलन गर्ने र सदस्यहरूबीच मात्र ऋण लगानी गर्नुपर्ने हुन्छ। बचत गर्ने र ऋण लिनेहरूले नै आफ्नो अधिकार तथा जिम्मेवारीबारे बुझ्न नसकेको अवस्थामा गलत मनसायका कर्मचारी तथा पदाधिकारीहरूले सहकारीलाई ठगी गर्ने हतियारको रूपमा प्रयोग गर्न सक्छन्। सहकारीको मूलभूत उद्देश्य संलग्न सदस्यहरूको आर्थिक उत्थान गरी सामाजिक न्याय र समानता दिलाउने हुनुपर्नेमा सहकारीको नाममा खुलेका केही संस्थाहरूले ठगी गरेर सदस्यलाई बिचल्लीमा पार्दै सहकारीको नामलाई बदनाम गराइरहेका छन्।

सहकारीका आफ्नै सिद्धान्त, मूल्य–मान्यताको अनुसरणको अवस्था कमजोर छ। गुणात्मकभन्दा पनि सङ्ख्यात्मकरूपमा सहकारी स्थापनाले विकृति निम्त्याउँदै छ। एउटै व्यक्तिको दोहोरो सदस्यता साथै वित्तीय सुशासनको कमीले गर्दा यस क्षेत्रमा वित्तीय जोखिम बढेर गएको छ। छिट्टै धनी हुने उद्देश्य लिएर सहकारीमा लागेका केही मानिसहरूको कारण कतिपय स्थानमा सहकारी क्षेत्र बदनाम छ। त्यसैगरी, सहकारीमा राजनीतीकरण, पैसा उठाइ गलत तरीकाले प्रयोग गर्ने प्रवृत्ति, सघनता उत्पादन तथा स्वरोजगारको क्षेत्रमा नभई बचत तथा ऋणको कारोबारमा मात्रै केन्द्रित हुने, गैरसदस्यसँग कारोबार गर्ने, कार्यक्षेत्रभन्दा बाहिर कारोबार, चक्रवृत्ति ब्याज असुली, सञ्चालकको नाममा ठूला रकम पेश्की, राष्ट्र बैकको स्वीकृतिबेगर चेक, ओभरड्राफ्ट, विप्रेषण कारोबार, सदस्यहरूको बचत रकमबाट विभिन्न कम्पनी खडा गरी लगानी गर्ने, तरलता अत्यधिक राख्ने, कतिपयमा तरलता नै नराखी लगानी गर्नेलगायतका कारण सहकारी धराशयी हुने र टाट पल्टिने गरेका छन्। यसरी सदस्यहरूको रकमलाई जोखिममा पार्ने सञ्चालकमाथि हदैसम्मको कानूनी कारबाही गरिनुपर्छ। यसको निम्ति सदस्यमा सहकारी चेतना र अनुगमनकारी निकायको अनुगमनमा कडाइ अनिवार्य छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here