भारतीय सवारीसाधनहरू नेपालमा निर्बाध सञ्चालनमा छन् । खासगरी सीमावर्ती क्षेत्रहरूमा भारतीय सवारीसाधनहरूको निर्बाध सञ्चालन भएको पाइन्छ । जबकि नेपालमा उनीहरूको सञ्चालन कार्यविधि छ र सोअनुरूप भारतीय सवारीसाधनहरू सञ्चालन हुनुपर्ने हो । कार्यविधि अनुसार मालवाहक सवारीसाधनहरूको हकमा मालवस्तु आयात भएर आउँदा भाडाका भारतीय सवारीसाधनहरू अनलोड गरेर फर्कनेसम्मको अवधिसम्म नेपालमा बस्न सक्छन् । त्यसको लागि भन्सार बिन्दुमा उनीहरूको प्रवेश दर्ता र फिर्ता भएको दिन गणना गरिन्छ र तोकिए अनुसारको राजस्व तिर्नुपर्ने हुन्छ । निजी सवारीसाधनहरूको हकमा भने चार चक्के जीपकार, भ्यान र दुई चक्के मोटरसाइकलहरू भन्सार बिन्दुमा तोकिए अनुसारको राजस्व तिरेर सो समयावधिसम्म बस्न पाउने व्यवस्था छ । यसका अतिरिक्त चार र दुई चक्के सवारीसाधनहरू भने सीमावर्ती बजार क्षेत्रसम्म दैनिक दर्ता गरेर प्रवेश पाउने गरेका छन । यसरी प्रवेश हुने सवारीसाधनहरू भने दैनिक रातिको १० बजेसम्म भारत फिर्ता भइसक्नुपर्छ । नेपाली सवारीसाधनहरू भने भारतीय सीमा क्षेत्रको रेलवे र हवाई अड्डासम्म जान सक्ने तथा त्यसभन्दा टाढा जानुपर्ने भए भाडा अथवा निजी सवारीसाधनहरूले भारतीय राजदूतावास र महावाणिज्य दूतावासबाट बैंक ग्यारेन्टीसहितको आवश्यक कागजात पेश गरेर इजाजत लिएर मात्र जान पाउँछन् ।
वीरगंज–रक्सौल क्षेत्रको कुरा गर्ने हो भने पहिले रक्सौलस्थित रेलवे ढालासम्म नेपाली तीन पाङ्ग्रे सवारीसाधनहरू जाने गरेका थिए । अहिले पुलवारि नै रोकिन्छन् । भारतीय तीन पाङ्ग्रे सवारीसाधनहरू ईरिक्शा, टेम्पो वीरगंज प्रवेश गर्न पाउँदैनन् । तर पनि चार चक्के र दुई चक्के सवारीसाधनहरू भने पर्सा जिल्लाभरि भन्सारमा दर्ता नगरीकनै निर्बाध सञ्चालन छन् । सीमा क्षेत्रदेखि जिल्लाका विभिन्न पालिकाहरूमा भारतीय सवारीसाधनहरूको निर्बाध आवागमन छ । यसमा कतिपय सवारीसाधनहरू नेपाली नागरिकले पनि प्रयोग गर्दै आएका पाइन्छन् । भारतमा सवारीसाधनहरू सस्तोमा पाइने तर नेपालमा भन्सार दस्तुर तिरेर भिœयाउँदा तेब्बर बढी मूल्य पर्ने हुँदा सीमा क्षेत्रका नेपाली बस्तीमा भारतीय सवारीसाधनहरूको प्रयोग बढेको हो । भन्सार र सशस्त्र तथा जनपद प्रहरीले भारतीय सवारीसाधनहरूको अनधिकृत प्रयोगमा अङ्कुश लगाउन सकेको छैन । पर्सा जिल्लामा नेपाली सवारीसाधनभन्दा बढी भारतीय सवारीसाधनहरू प्रयोगमा रहेका पाइन्छन् । केही समयदेखि शङ्कराचार्यद्वार वारि र पारि भारतीय सवारीसाधनहरूको अघोषित पार्किङ बढ्दो छ ।
सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र र सुरक्षा जाँचको जिम्मेवारी पाएको जनपद प्रहरीलाई यसबारे अनभिज्ञ छैनन् । तर थोरै नजरानामा उनीहरूले आआफ्नो जिम्मेवारीलाई बन्धक बनाएका कारण भारतीय सवारीसाधनहरूको अघोषित पार्किङ अहिले मौलाएको छ । यसै पनि सस्तो मूल्यमा भारतीय सवारीसाधनहरू उपलब्ध हुनाले नेपाली व्यवसायीहरू उनीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनन् । यस्तोमा नियम कानूनविपरीत सञ्चालनमा रहेका भारतीय सवारीसाधनहरूलाई निरुत्साहित नगर्ने हो भने नेपाली व्यवसायीहरूको लगानी डुब्नेछ । तसर्थ कानूनविपरीतका कार्य रोक्न आवश्यक छ ।