प्रस, जनकपुर, ९ साउन/
मधेस प्रदेश सरकार, शिक्षा तथा संस्कृति मन्त्रालय र वीरगंज उद्योग वाणिज्य सङ्घबीच प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम कार्यक्रममा निजी क्षेत्र संलग्नताको लागि द्वीपक्षीय समझदारीपत्रमा बुधवार हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा प्रदेश शिक्षा तथा संस्कृति मन्त्रालयको तर्फबाट निमित्त प्रदेश सचिव महेन्द्र महतो र वीरगंज उद्योग वाणिज्य सङ्घको तर्फबाट अध्यक्ष अनिलकुमार अग्रवालले हस्ताक्षर गरेका छन् ।

समझदारीपत्रको मुख्य उद्देश्य प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम क्षेत्रसँग सम्बन्धित नीतिगत कार्यमा शिक्षा तथा संस्कृति मन्त्रालयसँग समन्वय र सहकार्य गरी वीरगंज उद्योग वाणिज्य सङ्घमा आबद्ध जिल्लास्थित तथा मातहतका सङ्घ वा अन्य पेशागत सङ्घ/महासङ्घ अन्तर्गतका उद्योग–व्यवसायहरूसँग सहकार्य, समन्वय तथा सहयोगमा श्रम बजारको माग अनुसारको आवश्यक सीप पहिचान गरी दक्ष जनशक्ति उत्पादन गर्दै रोजगारको वातावरण सृजना गर्न पहल पु¥याउनु रहेको निमित्त प्रदेश सचिव महतोले बताए ।

वीउवासङ्घका अध्यक्ष अग्रवालले यस समझदारीपत्रले समुदाय–निजी साझेदारी अवधारणामा कोसेढुङ्गा साबित हुने र यसबाट दक्ष कामदारको अभाव खेप्नुपरेका उद्योग–व्यवसायहरू र बेरोजगार युवाहरूबीचमा सेतुको काम गर्ने बताए ।

कार्यक्रममा शिक्षा तथा संस्कृति मन्त्रालयका शाखा प्रमुखद्वय लक्ष्मण राम र प्रदीपकुमार साह, वीउवासङ्घका उपाध्यक्ष माधव राजपाल र सहकोषाध्यक्ष अनोज रूँङ्गटा, मधेस प्रदेश, जनकपुरका उपनिर्देशक अर्जुन देवकोटा, इन्स्योर परियोजनाका कोशी प्रदेश प्रबन्धक सञ्जीवकुमार राई र मधेस प्रदेशका प्राविधिक संयोजक भरत सहनी तथा क्वालिटी परियोजनाका मधेस प्रदेश प्रबन्धक छविन मगर र परियोजनाकी पूनम यादवलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here