पर्सा जिल्लाका प्राथमिक विद्यालयमा व्यापक बेथिति, सबैजसो प्राविमा पर्याप्त कक्षाकोठा र शिक्षक अभाव

धर्मेन्द्र चौरसिया, पोखरिया, ८ साउन/
सानो कक्षादेखि नै बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा दिएमा ठूला कक्षामा उनीहरूले राम्रो गर्छन् भन्ने मान्यताविपरीत पर्सामा सानो कक्षामा अध्ययनरत बालबालिकाको शिक्षातर्फ सम्बन्धित निकायको चरम लापरवाही देखिएको छ ।

पर्सा जिल्लाका थुप्रै पालिकामा अहिले बालविकासदेखि प्राथमिक विद्यालय तहको अध्ययनमा विद्यालय व्यवस्थापन समिति, पालिका र शिक्षा विकास समन्वय एकाइलगायतको चरम लापरवाही देखिएको छ ।

बालविकासदेखि कक्षा ४ सम्म अध्ययन हुने पकाहामैनपुर गाउँपालिका–४ स्थित नेराप्रावि श्यामपुर भेलाहाको कुरा गर्ने हो भने यस विद्यालयमा जम्मा दुईवटा कक्षाकोठामा मात्र छ । दुईवटा कक्षाकोठामा पाँचवटा कक्षा सञ्चालन हुन्छ । एउटामा तीनवटा र अर्काेमा दुईवटा । विद्यालयको हाजिरी पुस्तिकामा १०१ जना विद्यार्थी भर्ना देखिन्छन् तर विद्यालयमा भने नियमित विद्यार्थी सङ्ख्या ३० भन्दा बढी हुँदैन । पाँचवटा कक्षाका लागि बालविकासकी अनीताकुमारी साह र शिक्षक सुनील चौहान छन् । दुईजनामा एकजना अनुपस्थित भएको बखत कार्यालय सहायक मन्टुप्रसाद चौहानले कक्षा लिने गर्छन् । कतिपय समयमा दुईजना शिक्षकको अनुपस्थितिमा कार्यालय सहायक चौहानले नै पाँचवटै कक्षा सञ्चालन गर्छन् । गापाध्यक्ष सुरेश मेहता भन्छन्, “केही विद्यालयहरूमा समस्या छन् । तर के गर्ने पालिकाले १६ वटा विद्यालयका लागि आफ्नो खर्चमा २० जना शिक्षक नियुक्त गरेको छ । शिक्षामा सुधार गर्ने हो भने पालिकाको सम्पूर्ण बजेट पनि पर्याप्त हुँदैन ।” उनी थप भन्छन्, “दरबन्दी अनुसारका शिक्षकहरू छैनन्, भएका शिक्षकहरू अध्यापनमा रुचि देखाउँदैनन्, अभिभावकहरू चासो लिंदैनन्, विद्यालय व्यवस्थापन समिति जिम्मेवार छैन, पालिकाले मात्र शिक्षामा कति खर्च गर्ने ?”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपनारायण साह भन्छन्, “पालिकालाई धेरैपटक फर्निचर, भवन, शिक्षक अभावबारेमा अवगत गराइएको छ तर सुधारोन्मुख काम भएको छैन ।”
पकहामैनपुर गापामा रहेको नेराप्रावि श्यामपुर भेलाहाको जस्तो बेथिति अन्य पालिकाहरूमा पनि छ । खासगरी बालविकासदेखि प्रावि तहका कक्षा ५ सम्मका विद्यालयहरूमा यस्तै प्रकारका समस्याहरू विद्यमान छन् ।

जगरनाथपुर गापाको बिजबनियास्थित रामजानकी प्राविमा बालविकासदेखि कक्षा ५ सम्म छवटा कक्षा सञ्चालनमा छन् । तर शिक्षकहरू दुईजना मात्र छन् भने कक्षाकोठा चारवटा ।

यसैगरी, जीराभवानी गापा–३ परसवामा रहेको भोला प्राविमा बालविकासदेखि कक्षा ५ सम्म अध्ययन हुन्छ तर यो विद्यालयमा भने कक्षाकोठा दुईवटा मात्रै छ भने शिक्षक सङ्ख्या पनि दुई मात्र । एकजना बालविकासकी शिक्षिका र एकजना शिक्षक ।

पर्सा जिल्लाका प्राथमिक विद्यालयमा व्यापक बेथिति, सबैजसो प्राविमा पर्याप्त कक्षाकोठा र शिक्षक अभावपोखरिया नगरपालिका–६ स्थित नेराप्रावि श्रीसियामा बालविकासदेखि कक्षा ४ सम्म अध्ययन हुन्छ । यो विद्यालयमा भने एकजना बालविकासकी शिक्षिका, एकजना शिक्षक र एकजना स्वयंसेवक शिक्षक गरी तीनजना मात्र छन् । कक्षाकोठा भने दुईवटा मात्रै छ र त्यसैमा पाँचवटा कक्षा सञ्चालन गरिन्छ । पोखरिया नपा–१ रामतारा प्रावि वनकटवामा पनि बालविकासदेखि कक्षा ४ सम्म अध्यापन गराइन्छ तर कक्षा कोठा दुईवटा मात्र छ भने शिक्षकहरू पनि दुईजना मात्रै छन् ।

पर्सा जिल्लाका सबै पालिकामा रहेका प्रावि तहका विद्यालयहरूको अवस्था यस्तै छ । कक्षाकोठा पर्याप्त छैन, विषयगत शिक्षकहरूको कुरै छाडौं, आवश्यक शिक्षकहरू पनि छैनन् । विद्यार्थी भर्ना गरिन्छ तर उनीहरू कक्षामा किन आएनन् भन्ने खोजीनिती गरिन्न । कतिपय अभिभावकहरूले विद्यालय भर्नाको बेलामा छात्रवृत्ति हासिल गर्नका लागि मात्र सामुदायिक विद्यालयमा भर्ना गराउँछन् भने अध्ययन संस्थागत विद्यालयहरूमा ।

चलाख केही अभिभावकहरूले छात्रवृत्तिको रकम कुम्ल्याएका छन् भने अधिकांश विद्यार्थीको छात्रवृत्ति विद्यालयका शिक्षकहरूले झ्वाम पार्दै आएका छन् । अधिकांश विद्यालयमा विद्यार्थी सङ्ख्या हाजिरमा धेरै र कक्षामा उपस्थिति थोरै हुने जो कोहीले हेर्न सक्छन् ।

यस प्रकारका बेथितिसहित पालिकास्तरका विद्यालयहरू सञ्चालनमा रहे पनि सम्बन्धित वडाध्यक्ष, शिक्षा शाखा, गापाध्यक्ष, उपाध्यक्ष र शिक्षा विकास समवन्य एकाइ कसैले चासो राखेको देखिन्न । सानो कक्षामा यस प्रकारका बेथितिपूर्ण अध्ययन हुन्छ भने ठूलो कक्षासम्म उनीहरू कसरी टिकाउ हुन सक्छन् र राम्रो शिक्षा पाउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here