प्रस, वीरगंज, ८ साउन/
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइन फिडर प्रयोग गरेबापत करोडौं रुपैयाँ विद्युत महसूल बक्यौता रहेको भन्दै उद्योगहरूको नाम पुनः सार्वजनिक गरेको छ ।
विद्युत् प्राधिकरणले नक्कली भुक्तानीको रकम असुलेको आरोप लागेपछि सूचनामार्फत बक्यौता रहेको उद्योगहरूको नाम सार्वजनिक गरेको हो ।
देशभर ६१ वटा उद्योगबाट रु २२ अर्ब २४ करोड ५७ लाख ७७ हजार ५२ रुपैयाँ बक्यौता असुल गनुपर्ने रहेको प्राधिकरणले जनाएको छ । जसमध्ये मधेस प्रदेशको वीरगंजमा रु नौ अर्ब बक्यौता देखाइएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बक्यौता नतिर्ने उद्योगहरूको सङ्ख्या ६१ रहेको र सबैको लाइन काटिने बताए । यसअघि छवटा उद्योगको लाइन काटिसकिएको छ ।
वीरगंज–पथलैया कोरिडोरमा हामा आइरनको रु ११ करोड ५५ लाख, मारुती सिमेन्टको रु ९७ करोड ९२ लाख, त्रिवेणी सिन्थेटिक्स यार्नको रु १५ करोड ६५ लाख, हिमाल आइरनको रु आठ करोड १२ लाख, सूर्य नेपालको दुई करोड ९४ लाख, त्रिवेणी स्पिनिड्ढो नौ करोड तीन लाख, नारायणी इस्पात मिलको ७८ करोड ४८ लाख, जगदम्बा स्टील प्रालिको चार अर्ब १४ करोड, अशोक स्टीलको ७८ करोड ३६ लाख, हुलास स्टीलको ४३ करोड २४ लाख बक्यौता रहेको प्राधिकरणले सार्वजनिक सूचना गरी जनाएको छ ।