वीरगंज (पर्सा), ७ साउन/रासस
आन्तरिक राजस्व कार्यालय वीरगंजले गत आर्थिक वर्ष २०८०/८१ मा रु छ अर्ब ८६ करोड ८६ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ। गत आवमा अन्तःशुल्क र आयात घटेसँगै राजस्व सङ्कलनमा प्रत्यक्ष असर देखा परेको छ।

कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा रु २७ करोड १५ लाख कम राजस्व सङ्कलन गरेको छ। आन्तरिक राजस्व कार्यालय, वीरगंजका प्रमुख कर अधिकृत ढाकाराम तिवारीले कार्यालयले गत आवभरिमा सबै शीर्षकमा रु छ अर्ब ८६ करोड ८६ लाख ७८ हजार राजस्व सङ्कलन गरेको बताए।

“गत आवको वर्षभरिमा मूल्य अभिवृद्धि कर र आयकर सङ्कलन उत्साहजनक देखिएको छ,” उनले भने, “गत आवमा अन्तःशुल्क करबापतको राजस्व असुलीमा धेरै गिरावट आएको छ। यसले समग्र राजस्व सङ्कलनमा असर पारेको छ।” आन्तरिक राजस्व विभागले गत आवमा कार्यालयका लागि रु नौ अर्ब ४१ करोड ९७ लाख ९३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो। कार्यालयले गत आवमा आयकरतर्फ रु दुई अर्ब २६ करोड ७५ लाख ५४ हजार सङ्कलन गरेको छ। मूल्य अभिवृद्धिकरतर्फ रु दुई अर्ब २० करोड २५ लाख चार हजार सङ्कलन गरेको छ। सोही अवधिमा अन्तःशुल्कतर्फ रु चार अर्ब २० करोड २५ लाख ३६ हजार सङ्कलन गर्ने लक्ष्य राखिएको थियो। तर गत आवमा हिमालयन डिष्टिलरीको उत्पादन घटेसँगै अन्तःशुल्कबापतको रकम प्रत्यक्ष प्रभावित भएको देखिन्छ। कार्यालयले अन्तःशुल्कबापत रु दुई अर्ब ३९ करोड ८६ लाख २० हजार सङ्कलन गरेको छ।

प्रमुख कर अधिकृत तिवारीले राजस्व सङ्कलन बढाउन नियमितरूपमा बजार अनुगमन र कर सचेतनालगायत कार्यक्रम अघि बढाउँदै आइरहेको बताए। आन्तरिक राजस्व विभागले आव २०७९/८० मा कार्यालयलाई रु १० अर्ब ६२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकामा सो अवधिमा भने रु सात अर्ब १४ करोड सङ्कलन गरेको थियो। कार्यालयले विशेषगरी आयकर, भाडाकर, ब्याजकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र स्वास्थ्य कर असुली गर्ने गर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here