ओमप्रकाश चौधरी, सेढवा, ६ साउन/
वर्षेबाली धानबालीका लागि नेपाल सरकारको अनुदानप्राप्त रासायनिक मल किसानहरूले समयमा पाउँदा सहज भएका छन्। साल्ट ट्रेडिङ कम्पनी लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले किसानहरूलाई समयमैं रासायनिक मल उपलब्ध गराउँदा किसानहरूलाई सहजता भएको हो।
धान रोपाइँको दुई सातापछि छरिने डिएपी र युरिया मल यसपालि किसानहरूले सजिलै पाएका छन्। हरेक वर्ष रासायनिक मलका लागि समस्या झेल्दै आएका तथा भारतीय बजारहरूमा निर्भर हुँदै आएका किसानहरू स्थानीय कृषि सहकारी सङ्घसंस्थाबाट लिन पाउँदा धान रोपाइँमा सहयोग मिलेको बताउँछन्।

पटेर्वासुगौली गाउँपालिका–२ का बिगा महरा चमारले यसपालि सहजरूपमा रासायनिक मल पाउँदा भारतीय बजारमा कमसल तथा कम तौलका मलबाट ठगिनबाट जोगिएको बताए। यसअलावा सीमामा खटेका नेपाली तथा भारतीय सुरक्षाकर्मीहरूबाट धाकधम्की एवं गाली बेइज्जती सुन्नु नपरेकोमा किसानहरूले खुशी व्यक्त गरेको चमारले बताए।

धान रोपाइँको १५ दिनपछि डिएपी तीन किलो र युरिया डेढ किलो प्रतिकट्ठाको दरले छर्ने गरिन्छ। त्यसपछि रोपाइँको ३५–४० दिनपछि प्रतिकट्ठा तीन किलोको दरले युरिया मल छर्ने गरिन्छ। बाला निस्किनुभन्दा पहिले एकपटक प्रतिकट्ठा दुई किलोसम्म युरिया मल पुनः छर्ने गरिन्छ।

जीराभवानी गापा–२ स्थित जय मारुतीनन्दन कृषि सहकारी संस्था, सेढवाका अध्यक्ष सत्यनारायण साहका अनुसार यसपालि किसानहरूलाई मल वितरणका लागि समयमैं मल प्राप्त भएकोले सबैलाई वितरण गरिएको बताए। त्यसपछि युरिया मलको माग बढी हुने र सम्बन्धित कम्पनीहरू कृषि सामग्री तथा साल्ट ट्रेडिङले पनि आवश्यकता अनुसार मल दिने जनाएको साहको भनाइ छ। हरेक वर्ष मल अभावका कारण अधिकांश किसानले भारतबाट अथवा नेपालमैं मल पाएको समयमा भण्डारण गरेकाले मल वितरण गर्न सम्भव भएको साहको भनाइ छ। वर्षेबाली धानको बीउ ब्याडमा राख्ने समयमा डिएपी मलको अभाव भएको साहले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here