प्रस, निजगढ, ४ साउन/
निजगढ नगरपालिका–४ कछडिया टोलस्थित बकैयाखोलामा दिनदहाडै ट्याक्टरमा लोड गरी ढुुङ्गा चोरी, तस्करी गर्ने क्रम अझै रोकिएको छैन ।
खोलामा ढुङ्गा चोर्न जाँदा ट्याक्टरको टेलर बाढीमा फसेको छ । प्रत्येक वर्ष असार, साउन, भदौ तीन महीना खोलामा पस्न, त्यहाँ रहेका कुुनै पनि नदीजन्य पदार्थ वा बाढीले बगाइ ल्याएका वन पैदावर वा अन्य कुुनै वस्तुुहरू लिन जान वा सङ्कलन गर्न कानूनले वर्जित गरेको छ । तर खोलाबाट ढुङ्गा, ग्राभेल, बालुुवा सङ्कलन गर्न बकैयाखोलामा ट्याक्टरहरू निर्धक्क जान्छन् । बन्दको समयमा महँगो मूल्यमा ढुङ्गा, ग्राभेल, बालुुवा बिक्री हुुने भएकोले चोरी गरी सङ्कलन गरिएका ढुुङ्गा, बालुवा, ग्राभेल अर्डर अनुसार घरदैलोमा ढुवानी हुन्छ भने अर्डर नहँुुदा खोलाबगरभित्र वा खोला किनाराहरूमा अवैधरूपमा थुपारिन्छ ।
तस्करहरूले खोलाबाट चोरी गरी ल्याइएका पाँच सय टिपभन्दा बढी ट्याक्टर खोलाबगर नजीकैको फूटबल रङ्गशाला र खोलाको किनारबीचको वन क्षेत्रको नदी उकास जमीनमा सङ्कलन गर्दै आएका छन् । त्यसैगरी, अवैधरूपमा खोलामा ल्याइएका दुई हजार टिपभन्दा बढी ट्याक्टर ढुङ्गा भने पुुरानो अवनिश क्रसर उद्योगनजीकैको चाइनिज क्याम्पको उत्तरतर्फ बकैयाखोलाको ड्याम किनाराबीचको जमीनमा सङ्कलन गरिएको छ भने त्यसभन्दा पश्चिम बकैयाखोलाबीचको नदी उकास क्षेत्रमा पनि लगभग तीन सय टिप ट्याक्टरभन्दा बढी ढुङ्गा थुुपारिएको छ ।
कछडियाटोलमा स्थानीयहरूले नै खोला बन्दको समयमा दिनदहाडै ढुुङ्गा चोरी गर्दै थुपारेको स्थानीय स्रोतले बताएको हो । “वर्षायाममा सरकारले बन्द गरेको खोलामा अटेर गरी जान्छन् । कसले के गर्ने ? के भन्ने ? बन्दको बेला खोलामा नजाऊभन्दा दुश्मनझैं ठान्छन् । त्यसैले स्थानीय कोही कसैले उनीहरूलाई केही भन्ने हिम्मत गर्दैनन्,” एकजना स्थानीयले भने । “एकजना होइन, दुुईजना होइन, टोलका धेरैजसो ट्याक्टर अहिले पनि खोलामा निर्धक्क लगिन्छ,” उनले भने । त्यस टोलमा तीन सयवटाभन्दा बढी ट्याक्टर रहेको अनुमान छ । यस अघिका जनप्रतिनिधिहरू तत्कालीन नगरप्रमुख सुरेशकुमार खनाल, उपप्रमुख लीलादेवी लामिछाने, प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीको पालामा सिंगौल, निजगढमा अवैधरूपमा ठूलो परिमाणमा थुपारिएका ढुङ्गा जफत गरिएको थियो । त्यस बेला जफत गरिएका ढुङ्गालाई निजगढ नपाले ठेक्कामार्फत राजस्व सङ्कलन गर्दा करीब ३९ लाख रुपैयाँ प्राप्त भएको थियो । त्यसपछि अवैधरूपमा ढुङ्गा राख्ने कार्यमा केही वर्ष कमी आए पनि दुई वर्षयतादेखि अवैधरूपमा खोलाबाट ढुङ्गा ल्याएर थुपार्ने, बिक्री गर्नेे होडबाजी नै चलिरहेको छ ।
धन्सार खोलाबाट अवैधरूपमा चोरी तस्करी गरी निजगढ नपा–१ सिंगौलस्थित ब्रह्मबाबा सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा थुपारिएको करीब १० लाख मूल्य बराबरको ढुङ्गालाई गत पुुस १८ गते निजगढ सबडिभिजन वन कार्यालय, भमराले जफत गरेको वन अधिकृत रघुनाथ दासले बताए ।
वर्षायाममा बन्दको समयमा खोलामा ट्याक्टर हुुल्दै नदीजन्य पदार्थको दिनदहाडै चोरी तस्करी हुँदा पनि निजगढ नगरपालिका मौन छ । त्यसैगरी, इलाका प्रहरी कार्यालय निजगढ, सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन सुरक्षा बेससमेत बेखबर बनेका छन् । अवैध कार्य भइरहँदा पनि मौन बसेका स्थानीय प्रहरी प्रशासनको संरक्षणमा सो कार्य भइरहेको आशङ्का स्थानीयहरूको छ । यता खोलामा आफूहरू पुग्दा ट्याक्टरहरूलाई भगाउने गरेको सुरक्षाकर्मीको भनाइ छ । वर्षायाममा खोलामा भेलबाढीको आउने हुँदा बस्ती, खेतीयोग्य जमीन, वनजङ्गल क्षेत्रलगायत जनधनको क्षति पु¥याउन सक्ने अधिक सम्भावना हुन्छ । त्यसैले वर्षायामको असारदेखि भदौ महीनासम्म कोही कसैलाई नदी, खोलामा प्रवेश निषेध गर्दै खोलाबाट नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ओसारपोसारमा सरकारले रोक लाउँदै आएको छ ।