प्रस, वीरगंज, ३ साउन/
जथाभावीरूपमा अरूको खेत हुँदै विद्युतीय तार लगाएका दुईजनामाथि ज्यानसम्बन्धी मुद्दा दर्ता भएको छ।
देवाहीगोनाही नगरपालिका–७ गोनाहीका रामदरेशराय यादव र गुल्टेनराय यादवमाथि इलाका प्रहरी कार्यालय, गरुडामा ज्यानसम्बन्धी मुद्दा दर्ता भएको हो।
आरोपीहरूले विद्युत्को पोलबाट तार जथाभावी आफ्नो खेतमा लगी मोटर चलाएका थिए। सोही तारबाट करेन्ट लागेर सोमवार दिउँसो देवाहीगोनाही नपा–७ का चुनीलाल पासवानको आफ्नो खेतमा काम गरिरहेको अवस्थामा मृत्यु भएको थियो। पासवानको मृत्युपछि उनको आफन्तले दिएको लिखित किटानी जाहेरीको आधारमा मङ्गलवार रामदरेश र गुल्टेनमाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एवं प्रहरी उपरीक्ष्Fक दिलीप घिमिरेले बताए।
पासवानको मृत्यु भएलगत्तै रामदरेश र गुल्टेन फरार छन्। दुवैजनाको खोजी तथा घटनाबारे अनुसन्धान भइरहेको प्रउ घिमिरेले बताएका छन्।