– श्रीमन्नारायण

नेपालमा राणा शासनको अन्त्यपश्चात् विगत साढे सात दशकमा आजसम्म एउटा पनि सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्न सकेको छैन। पञ्चायती व्यवस्थाको अवसान र देशमा लोकतन्त्रको पुनर्बहालीपश्चात्का १६ वर्षमा पनि कुनै एक प्रधानमन्त्रीले पाँच वर्षको कार्यकाल पूरा गर्न सकेन। जनान्दोलन–२ को पछिको झन्डै १० वर्षको अवस्था त्यही रह्यो। नेपालको संविधान २०७२ जारी भएपपछि विगत नौं वर्षमा वर्षैपिच्छे प्रधानमन्त्री फेरिने क्रम जारी छ। नेपाललाई सहयोग दिन चाहनेहरूले यहाँ राजनैतिक स्थिरता खोजिरहेका बेला फ्रान्सको एउटा चर्चित पत्रिकाले नेपाल राजनीतिक अस्थिरताको विश्व च्याम्पियन भन्ने शीर्षक दिएर चाखलाग्दो समाचार प्रकाशित गरेको छ।

नेपाल र नेपालीको निम्ति यो समाचार कति महत्व राख्दछ त्यो कुरा आफ्नै ठाउँमा छ। तर विश्वस्तरमा नेपालको छविमाथि प्रतिकूल प्रभाव पर्ने निश्चित छ। पाँच वर्षको निम्ति बनाइने योजनाहरू छ महीनामैं परिवर्तन हुने अवस्थाले जो कोहीलाई चिन्तित बनाएको छ। नेपालको विकासमा सहयोग गर्न चाहने, यहाँ लगानी गर्न चाहने विदेशीहरू तथा हाम्रा शुभेच्छुक मित्र राष्ट्रहरू पनि नेपाललाई किन र कसरी सहयोग गर्ने भन्ने प्रश्नको जवाफ नेपालका हालबहालका नेता र नीति निर्माताहरूसँग पक्कै पनि छैन होला।

हरेक दिन छापिने फ्रान्सको चर्चित दैनिक ‘ले मोन्डे’ले मङ्गलवारको अङ्कमा नेपाल राजनीतिक अस्थिरताको विश्व च्याम्पियन भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको छ। कुनै हिंसा अथवा राजनीतिक दलहरूको निरन्तर आन्दोलन पनि नरहेको अवस्थामा नेपालमा छ–छ महीनामा भइरहने सरकार परिवर्तन र महीना–महीनामा प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्था उत्पन्न हुनुलाई कटाक्ष गरेको हुन सक्दछ। सानो हिमाली गणराज्य नेपालले हालै मात्र १५ वर्षमा आफ्नो १४औ प्रधानमन्त्री नियुक्त गरेको छ। विसं २०७९ साल पुस १० गते प्रधानमन्त्री पदको शपथ लिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १९ महीनाको अवधिमा सरदर चार महीनामा एकपटक विश्वास मत लिने सरकारले देशमा के काम गर्ने ?

५–६ महीना अघि मात्रै नेकपा एमालेको समर्थनबाट प्रधानमन्त्री बनेका प्रचण्डलाई विस्थापित गरी उनकै मित्र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले प्रधानमन्त्रीको पद हात पारेका छन्। तीन वर्ष अघि सर्वाेच्च अदालतको परमादेशबाट बहिर्गमनमा परेका ओली नेपाली काङ्ग्रेसको बलियो समर्थनबाट देशका प्रधानमन्त्री नियुक्त भएका छन्। त्यस बेला सर्वाेच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले यसपाली अनुनय–विनय गरेर नै ओलीलाई प्रधानमन्त्री बनाएका छन्।

२०५१–५२ सालतिर नेपालमा अहिलेको जस्तै राजनीतिक अस्थिरता देखिएको थियो। नेपाली काङ्ग्रेस र नेकपा एमाले मिलेर देशमा राजनीतिक स्थायित्व दिने दाबीसहित प्रचण्डलाई सत्ताबाट बिदा गरेका छन्। प्रत्येक वर्ष गठन हुने प्रत्येक नयाँ संरचनाको सरकारले यही दाबी गर्दै आएको छ कि देशमा राजनीतिक स्थायित्वका लागि र देशको आर्थिक विकासका लागि नै यो गठबन्धन अस्तित्वमा आएको हो।

समाचारका लेखक बु्रनो फिलिपले व्याख्यात्मक समाचारमा लेखेका छन् कि बेरोजगारका कारण विदेशिने युवाहरूको सङ्ख्या बढिरहेका बेला नेपालको सार्वजनिक मामिला केवल राजनीतिक लेनदेन संस्कृतिको नियमित परम्परा बनेको छ। नेपालमा बेरोजगारी बढ्दो छ, गरीबी छ, अर्थ व्यवस्था कमजोर हुँदै गएको छ। देशमाथि २४ खर्ब जति ऋण भइसकेको छ। जनतामाथि अत्यधिक कर लादिएको छ तर उपरोक्त घटनाहरूप्रति नेपाली जनताको चासो छैन। नेपाली जनता आफ्नो हकको कुरा गर्न सक्दैन, केवल राष्ट्रवादको सङ्कीर्ण नाराका पछाडि दगुर्न तयार रहन्छ। पत्रिकाले अझै अघि बढेर राजनीतिक अस्थिरताको ओलम्पिक प्रतियोगितामा नेपालले शीर्ष स्थान कायम गरिरहेको पनि लेखेको छ। राजनीतिक अस्थिरताको ओलम्पिक प्रतियोगिताभित्र नेपालले निरन्तर तालिकामा आफ्नो शीर्ष स्थान कायमै राखेको छ।

केपी शर्माले सन् २००८ यताकै १४ औं प्रधानमन्त्रीका रूपमा शपथ लिएका छन् भने विगत ३४ वर्षमा नेपालले ३० वटा प्रधानमन्त्री फेरिसकेको छ। नेपालमा हरेक वर्ष नयाँ प्रधानमन्त्री आउनु सामान्य कुरा भइसकेको छ। सानो हिमाली गणतन्त्रका लागि यो नै उल्लेखनीय उपलब्धि रहेको छ। तर नेपालमा भइरहने सत्ता परिवर्तनले जनजीवनमा तात्विक अन्तर नआउने गरेको भन्दै पत्रिकाले सामाजिक अस्थिरताका कारण नै नेपालमा विकास हुन नसकेको पनि लेखेको छ। पटक–पटक पुरानै अनुहार दोहोरिए पनि देश र जनताको हितमा कुनै ठोस एवं उपलब्धिमूलक काम होला भन्ने विश्वास नेपाली जनतालाई रहेको छैन र आफ्नो प्रत्येक समस्याका लागि भाग्यलाई नै दोषी ठान्दछन्। नेपालका नेताहरूले यस यथार्थलाई बुझेका छन् कि नेपाली जनताले आफ्नो भाग्यलाई मात्र दोष दिन जानेको छ। आफैंले पटकपटक चुनेका जनप्रतिनिधि, सांसद, प्रदेश सांसद र स्थानीय निकायका प्रमुखप्रति नेपाली जनताको कुनै रोष देखिन्न।

नेकपा एमालेका नेता ओली वैचारिक रूपमा युरोपेली समाजवादी प्रजातन्त्रवादी निकट रहेका छन्। उनी कट्टर कम्युनिस्ट होइनन्। ओलीले सन् २०१५ यता चौथोपटक सरकारको नेतृत्व गर्न लागेको पनि पत्रिकाले लेखेको छ। उक्त पत्रिकाले नेपाली राजनीतिमा गठबन्धन प्रतिगठबन्धन र विश्वासघातको क्रम अचम्मको रहेको टिप्पणी गर्दै दलहरूले एउटा गठबन्धन छाडेर अर्काेमा जोडिने र एकले अर्कासँग विश्वासघात गर्ने क्रम पनि धेरै रहेको समाचारमा उल्लेख छ। उदाहरणको रूपमा नेपालका कम्युनिस्टहरू गणतन्त्रवादी राजावादीसँग पनि मिल्न पुग्छन् र पछिल्लोपटक लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रहेका दुर्ई पार्टी काङ्ग्रेस र एमाले मिलेको घटनालाई पनि उक्त समाचारमा उल्लेख गरिएको छ।

नेपालको राजनीतिमा सिद्धान्त, आदर्श, विचारधारा र इमानदारीका कुरा व्यर्थका विषय भएका छन्। कोही कसैका न हित छन्, न शत्रु नै। प्रत्येक छ–छ महीनामा सरकार परिवर्तन हुने विश्वास यहाँका नेता र राजनीतिक दलहरूको रहेको छ। काठमाडौंमा सत्ता परिवर्तनको पानी पर्दा सातवटै प्रदेश सरकारमा पहिरो नै जाने गर्दछ। स्थानीय तहमा पनि समानुपातिक निर्वाचन लागू गरिएको भए झन् अस्थिरता निम्तिने थियो। हामी नेपालीहरूलाई मेडल हात पार्ने र नाम कमाउने शीघ्रता अलि बढी नै हुन्छ। राजनीतिक अस्थिरताका कारण भए पनि गोल्ड मेडल त हात प–यो नि १

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here