– सञ्जय साह मित्र
जबसम्म कृषिको व्यवसायीकरण र विविधीकरण हुँदैन तबसम्म कृषक र कृषिको मूल्यको सम्बन्ध खासै सकारात्मक रहँदैन। अहिलेको समयमा तरकारीको मूल्यले आकाश छोएको छ। हरियो तरकारीको उत्पादन गर्ने पनि किसान नै हुन् तर साधारण किसानले भने खासै नाफा कमाउन सकेका छैनन्। कृषिमा अहिले आम्दानी छैन भन्ने होइन, तर उत्पादनले सबैभन्दा बढी मूल्य पाउने बेला सामान्य कृषकसित बेच्नको लागि उपज नै हुँदैन। जब कृषकले आफ्नो उत्पादन बेच्नुपर्ने हुन्छ तब बजारमा फालाफाल हुन्छ, अर्थात् बजारको शब्दमा भन्ने हो भने मूल्य निर्धारणमा उपभोक्ताकै पक्ष हावी हुन्छ।
अहिलेसम्मको प्रवृत्ति के छ भने एउटा किसानले जुन बालीको उत्पादनमा बढी नाफा कमाएको देखिन्छ, सोही वस्तुको उत्पादनमा सबैको ध्यान जान्छ। अरू किसानको देखासिकी एउटा गाउँबाट अर्को गाउँ पुग्छ बालीको उत्पादन। अनि त्यो उत्पादन यति सस्तो हुन जान्छ कि कसैले वाह भन्ने खालको फाइदा पाउँदैन। करीब पाँच वर्षदेखि आँपको मूल्यमा कुनै वृद्धि भएको छैन। हरेक वर्ष आँपको उत्पादन राम्रो भइरहेको छ र आँप सस्तो भइरहेको छ। आँपको उत्पादन धेरै हुनुको पछाडि अहिले धेरै मानिस आँपखेतीमा लागेका छन्।
हुनत आँपको बोटले फल दिन्छ र बूढो भएपछि काठ दिन्छ। सधैं फल्ने र काठ पनि महँगोमा बिक्री हुने फलको रूपमा आँपलाई लिइन्छ। आँपजस्तै कटहर पनि हो। आँप पाक्न थालेपछि किसानलाई बढीमा दश दिनको समय हुन्छ तर कटहर बेच्न किसानसित करीब डेढ महीनाको समय हुन्छ। किसानले डेढ महीनामा आफ्नो उत्पादन अनुकूल समय र मूल्यमा बेच्न सक्ने देखिन्छ तर यता धेरैको ध्यान गएको देखिन्न। जबकि आँपको तुलनामा काठ, फल र मूल्य सबैमा कटहर महँगो छ।
व्यावसायिक फलफूल खेतीमा भनिन्छ, सबैभन्दा सजिलो र सस्तो लिची खेती हो। निकै कम समयमा सबै किसिमको खेतीभन्दा बढी आम्दानी हुने किसानहरू बताउँछन्। यस्तै बेमौसमी तरकारी खेती पनि किसानको लागि निकै लाभदायक मानिन्छ। हुनत आजभोलि कुनै पनि खेतीलाई बेमौसमी भन्न छाडिएको छ। बेमौसमीभन्दा पनि व्यावसायिक भन्न बढी रुचाइन्छ। जुन मौसममा जुन तरकारी उपभोक्तालाई बढी मन पर्छ तर बजारमा अभाव हुन्छ, त्यस मौसमको लागि तरकारीको उत्पादन गर्नु राम्रो मान्न थालिएको छ। र, किसानलाई फाइदाको दृष्टिकोणले विचार गर्ने हो भने फाइदा दिने बाली लगाउनु नै उपयुक्त हुन्छ।
परम्परागत खेतीले किसानलाई खासै फाइदा हुन सकेको छैन। धानखेती गर्ने बेला सबै धान खेती गर्छन् र तरकारी खेती गर्ने बेलामा पनि यही प्रवृत्ति हुन्छ। अनि उत्पादन एकैपटक हुन्छ, एकै किसिमको हुन्छ। यस वर्ष मकैको उत्पादन धेरै भयो। तुलनात्मकरूपमा मकै खेती धेरै हुँदा विगतका वर्षहरूको तुलनामा भाउ कम थियो। भाउ कम हुँदा किसानलाई आम्दानी कम हुन्छ। बेमौसमी त होइन, तर धेरैले गर्ने गरेको भन्दा केही कम खेती गरिने बालीमा मुङ तथा तिलको खेती हो। यसमा राम्रो आम्दानी हुन्छ।
अब दुईवटा प्रश्नमा बढी ध्यान दिनुपर्छ। यसका लागि कृषकहरूलाई विभिन्न नाममा तालीम दिने सङ्घसंस्थाहरूले पनि ध्यान दिनु उचित छ। किसानले सबैभन्दा सस्तो कुन उत्पादन बेच्नुपरिरहेको छ र जतिबेला भर्खरै उत्पादन भएको वस्तु सबैभन्दा सस्तो हुन्छ भने ती वस्तुमध्ये कुन महँगो छ ? किसानलाई सम्भव भएसम्म उचित मूल्य पाउने वस्तु उत्पादनमा प्रोत्साहन दिनुपर्छ। किसानलाई समृद्ध बनाउन यो आवश्यक छ। किसानको समृद्धिले पनि देशमा समृद्धि आउन सक्छ। वर्तमान अवस्थासम्म हाम्रो देशमा सबैभन्दा बढी मानिस यसै पेशामा आबद्ध छन्।
हाम्रो देशमा सबैभन्दा बढी कुन कृषिजन्य वस्तुको आयात भइरहेको छ ? यस कुराको निक्र्योल गरेर यदि धेरै वस्तु आइरहेका छन् भने तीमध्ये कुन–कुन वस्तुको उत्पादन हामीकहाँ सम्भव छ ? तत्काल उत्पादन गर्न सकिने र किसानको हातमा पैसा पु–याउन सकिने वस्तु के–के हुन् ? यद्यपि विगतमा केही तीतो अनुभव पनि छ, किसानसित। पहिले दूध र दूधजन्य पदार्थको आयात धेरै थियो तर केही समयपछि सडकमैं दूध पोख्नुपर्ने अवस्था आयो। अहिलेसम्म पनि कतिपय जिल्लाको दूधको पैसा किसानले पाएका छैनन्। उत्पादन बिक्री नभएर खेर जाने अवस्थाले देश र किसान दुवैलाई घाटा हुन्छ।
मिल्क होलिडे पनि नभएको होइन। यसैगरी केही दिनसम्म समाचारमा प्राथमिकतापूर्वक आइरहेको थियो कि पूर्वमा धान बिक्री नभएर किसानले घरमैं थन्क्याएर राखेका छन्। जहाँ विदेशबाट धान र चामल आइरहेको छ, त्यहाँ धानको बिक्री नहुनु खल्लो समाचार हो। हो, यो पनि विश्लेषण गरिएको छ कि हाम्रो देशले मसिनो खान सिकेको छ र उत्पादन गर्न चाहिं मोटो हुन्छ। यो धान र चामलको कुरो हो। यसमा पनि सन्तुलन ल्याउन सम्बन्धित निकाय वा संस्थाले पहल गर्नु जरुरी छ। किसान र देश दुवैलाई घाटा हुने उत्पादनलाई यदि सन्तुलनमा ल्याउन सकियो भने किसान र देश दुवैलाई फाइदा हुन्छ।
कृषि सीमित पेशा होइन तर हाम्रो कृषि भने निकै सीमित हुन पुगेको छ। हुनत कृषि बजार उपभोक्ताको रुचिमा पनि निर्भर छ, नत्र माछा र अन्डा पनि सडकमा खन्याएको नदेखिनुपर्ने हो। टमाटर सडकमै फालेर विरोध जनाउनु नपर्ने हो। फेरि कुनै समय यी वस्तुको माग बजार वा उत्पादनले धान्न नसक्ने अवस्था भई बाहिरबाट ल्याउनुपर्ने पनि नभएको होइन। यसरी बजारको माग अस्थिर हुनुमा उपभोक्ता र उपभोगको अस्थिर प्रवृत्ति पनि हो। उत्पादनले यस कुरालाई खासै बुझ्न नसकेको अवस्थामा कुनै बेला फाल्नुपर्ने र कुन बेला निकै महँगोमा किनेर ल्याउनुपर्ने स्थिति सिर्जना भइरहेको देखिन्छ।
एउटा उदाहरण हेरौं। अहिले साउन शुरू भइसकेको छ। साउन महीनाभर मानिस शाकाहारी हुन्छन्। अन्य महीनामा शाकाहार भोजन नगर्ने तर साउन महीनाभरि शाकाहार भोजन गर्नेहरूको सङ्ख्या बढ्दा होटल, मासु तथा माछा व्यवसायमा असर पर्छ। एकैपटक यति धेरै मानिस शाकाहारी बन्छन् कि मांसाहार र शाकाहार दुवै भोजन र कतिपय अवस्थामा व्यवसायमा प्रभाव पर्न जान्छ। हो, कतिपय मानिस मितिले शाकाहार बन्दछन् भने कतिपय तिथिले। कतिपय चाहिं जुनले पहिले साउन शुरू हुन्छ र जुनले पछि साउन समाप्त हुन्छ, त्यति दिनसम्म शाकाहारी हुन्छन्। साउने शाकाहार प्रवृत्ति बढेको देखिएको छ।
किसानहरूले पनि कृषिजन्य पदार्थ बजारबाट किन्नुपर्छ। सबै उपभोग्य वस्तुको उत्पादन किसान आफैंले गर्दैन। हामीकहाँ सबैभन्दा बढी उपभोग हुने आलु र प्याज अपेक्षितरूपमा उत्पादन हुँदैन। आलुविना कुनै पनि भान्सा अपूरो हुन्छ। अनि आलुको उत्पादन सन्तोषजनक छैन। किसानहरू पनि आलु उत्पादनमा खासै रुचि लिंदैनन्। आलु र प्याजमा किसानको पैसा पनि गइरहेको छ। तर यतातिर किन किसानहरू आकर्षित हुन सकेका छैनन् ? वा हाम्रो उत्पादन किन आयातमुखी मात्रै रहने गरेको छ ? किसानहरूले गम्भीरतापूर्वक ध्यान जानु अत्यन्त आवश्यक छ।
बजारमा पाइने कृषि उपजको मूल्यसित सर्वसाधारण किसानको उल्टो नाता स्थापित हुन पुगेको देखिन्छ। जुन वस्तु आफूलाई चाहिन्छ त्यसको मूल्य बढी हुन्छ र जुन वस्तुको उत्पादन आफूले गरेका हुन्छन् त्यसको मूल्य बजारमा कम हुन्छ। किसानको हातबाट पैसा बढी जान्छ वस्तु भने कम आउँछ। अनि किसान कसरी समृद्ध बन्न सक्छ ? किसानको हातमा पैसा अडिनेगरी उत्पादनसित सम्बन्ध गाँस्न लगाउनुपर्छ। अब किसानलाई पनि व्यावसायिक बनाउनु परेको छ। उपभोक्ताको माग अनुसार उत्पादनमा अभ्यस्त बनाउनुपरेको छ। सामान्य किसानको हातमा नगद आउने वातावरण बनाउनतिर सबै पक्षको ध्यान जानु जरुरी छ।