नेपालमा सत्ता परिवर्तन सामान्य कुरा भएको छ। अन्य मुलुकमा कोही पदाधिकारीको कार्यकालभरि कुनै परिवर्तन नहुँदा त्यहाँको जनतालाई खासै चासो हुन्न। नेपालमा भने वर्ष दिन नाघ्नेबित्तिकै किन यो मानिस अहिलेसम्म पदमा छ, किन फेरबदलको तारतम्य बस्न सकेन भन्ने जिसाज्ञा भुटभुटिन थाल्छ। यो स्वाभाविक पनि हो, किनभने सत्तामा बस्नेले गर्न सक्ने केही होइन, गरेको पनि केही देखिएको छैन। विवाद, षड्यन्त्र, अराजकताबाहेक अहिलेको दिनमा राजनीतिक दलहरूले केही गर्न सकेका छैनन्। अनि दलहरू एउटा गयो, अर्को आयो, अर्को गयो फेरि अर्को आयो भन्ने गोरखधन्दामा लाग्छन्, तिनलाई तर्साउने हैसियत राखेको जनता भने छटपटिएर बस्छ। नेपाली जनता तीन वर्षसम्म निकै चतुर, विवेकशील, असल विवेचक, निस्पृह देखिन्छ। चौथो वर्ष आउनेबित्तिकै उसका सबै शील, गुण हराउँछन्, ऊ त्यो मानिस नै होइनजस्तै अलग–अलग खेमामा देखिन थाल्छ। कुनै खेमामा नदेखिने जनता पनि विकल्प नै छैन भनेर कुनै न कुनै खेमाको तरफदार बन्न पुग्छ। यसले नै हो सत्ता नवीकरणलाई निरन्तरता दिएको।

नेपालमा एकमना सरकार बनाउने दलहरू त पूर्णकाल सत्तामा बस्न सकेनन् भने अहिले त कुनै पनि दलको बहुमत छैन। यस्तोमा तालमेल हुनु स्वाभाविक हो, जहाँ पनि हुन्छ। तर जहाँ पनि सत्ता परिवर्तन भइरहँदैन। केही दिन तँ बस्, केही दिन म बस्छु भन्ने कुनै सम्झौता हुन्न। शुरू नेतृत्वलाई विरलै परिवर्तन गरिन्छ। तर नेपाल त गजबको देश हो। यहाँ चार दलको गठबन्धनमा सरकार बन्दछ भने पहिले नै शर्त लगाइन्छ, यति समय तिमी, यति समय ऊ। पछि पर्नेलाई सम्झौता भङ्गको खतरा हुन्छ, ऊ विपक्ष्Fीसँग मिल्छ र यो गठबन्धन तोड्छ। हामीले केटाकेटीमा बाँदरको न्यायबारे कथा पढेका थियौं। दुईटा बिरालाले कतैबाट एउटा रोटी पाएछन्। दुवैले त्यसमा हक जनाउँदा विवाद परेछ र बाँदरकहाँ न्याय माग्न पुगे। बाँदरले रोटी आधा–आधा गर्छु, दुवैलाई बराबर भाग दिन्छु भनेर बठ्याइँपूर्वक आधा गर्दा कम–बेसी टुक्रा बनायो। तराजुमा तौलँदा बढी भएको भाग दाँतले टोकेर खाएछ, दाँतले टोक्दा बराबर नहोस् भन्ने हेक्का राखेर। जुन भाग बढी हुने त्यसलाई बढी टोकेर पुनः असन्तुलन बनाउँदो रहेछ। हेरौं न प्रचण्डले कसरी आफूसँग केही नहुँदा एमाले र काङ्ग्रेसको रोटी झन्डै सखाप पारिदिएका !

काङ्ग्रेसले एमालेलाई खेद्ने, एमालेले काङ्ग्रेसलाई खेद्ने अनि त माओवादीको खुदो पल्टने भइहाल्यो १ बाँदरको चर्तिकाला बिरालाहरूले बुझेनन्। काङ्ग्रेस र एमालेले बुझे वा आफ्नो पालो नआउने देखेर एकजुट भए। अहिले एमाले सत्ता नेतृत्वमा पुगेको छ। शर्त छ, एमालेपछि काङ्ग्रेस सत्तामा हुनेछ। हुनत यस्तै हुन्छ भन्ने विश्वास कसैलाई पनि छैन। एउटाको पालो सिद्धिन नपाउँदै अर्कोलाई षड्यन्त्रको आभास हुन्छ र आफूले बहिष्कार गरेको गठबन्धनसँग मिल्न जाँदैन भन्न सकिन्न। सत्तामा जो पुगे पनि देश र जनताका लागि हुने केही होइन। अनि बाँदर र बिरालाको यो खेल मग्न भएर किन नहेर्ने ? न यहाँ भनेर केही हुन्छ, न कराएर। त्यै हुन्छ जुन स्वार्थी राजनीतिक दलहरूको हितमा हुन्छ। हित त दलको पनि हुँदैन, तीनमध्ये कुनै एक नेताको हुन्छ, तर राजनीतिक दलहरू सत्ताको मूतको न्यानोलाई अङ्कमाल गरेर निष्फिक्री सुत्छन्। सुतेपछि परिदृश्यमा के भइरहेको छ किन वास्ता गर्ने ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here