प्रस, वीरगंज, ३० असार/
जिल्ला प्रहरी कार्यालय, पर्साले लामो समयपछि आइतवार सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक कुमार न्यौपानेले प्रहरी तथा सेवाग्राहीबीच अहिलेसम्म भएका कामकारबाईप्रति सर्वसाधारणहरूको धारणा अनुसार आगामी रणनीति बनाउन सजिलो होस् भन्ने उद्देश्यले सार्वजनिक सुनवाइ कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा सहभागीहरूले पर्सा प्रहरीले शान्ति सुरक्षा दिन नसकेको आरोप लगाएका थिए । चोरीका घटनामा वृद्धि भएको सहभागीहरूले बताए । उनीहरूले वीरगंजमा दैनिक तीन/चार वटा मोटरसाइकल चोरी हुने गरेको आरोप लगाए । बिचौलियाका कारण तस्करहरू मालामाल हुने तर सर्वसाधारणहरूसँग प्रहरीले आतङ्ककारी जस्तो व्यवहार गर्ने गरेको पनि आरोप लगाए ।

खाद्यान्न सामग्री भारतबाट खरीद गरी ल्याउँदा सीमा क्षेत्रमा घण्टौं रोकी सास्ती दिने गरिएको सहभागीहरूको भनाइ थियो । मलखाद किनेर ल्याउँदा सीमामा रहेका सशस्त्र प्रहरीले रोकी नियन्त्रणमा लिने गरेको सहभागीहरूले आरोप लगाएका थिए ।

कार्यक्रममा पर्सा प्रहरी जनताको सेवा गर्नमा भन्दा बढी आफ्नो ताकत प्रदर्शनमा लागिपरेको सहभागीहरूले बताए । वीरगंजमा सञ्चालित क्यासिनोका कारण नेपाली युवाहरू बर्बाद भइरहेका उनीहरूको आरोप थियो । विदेशी नागरिकहरूका लागि सञ्चालित क्यासिनोमा नेपाली युवाहरूको प्रवेशमा कडा रोक लगाउन माग गरिएको थिए । जिल्ला प्रहरी कार्यालयमा विगतभन्दा अहिले बिचौलियाहरूको बिगबिग बढेको पनि आारोप लगाइएको थियो ।

जिल्ला प्रहरी कार्यालयमा गुनासो सुन्ने अधिकारीकहाँ सबैको पहुँच नभएका कारण अहिले पनि जिप्रका, पर्सा बिचौलियाबाट सञ्चालित भइरहेको र त्यसले सर्वसाधारणमा पर्सा प्रहरीप्रतिको सद्भाव बिथोलिंदै गइरहेको बताएका थिए ।

कार्यक्रममा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले पर्सामा मोटरसाइकल चोरीका घटना नियन्त्रण गर्न गा¥हो हुने बताए । तीन दर्जनभन्दा बढी चोरलाई पक्राउ गरी जेल हाले पनि मोटरसाइकल चोरीका घटनामा कमी नआएको उनले बताए ।
प्रहरी शान्ति सुरक्षाको लागि सदैव तयार रहे पनि बढी प्रभावकारी बनाउन स्थानीयहरूको सहयोगको खाँचो रहेको उनले बताए ।

क्यासिनोमा नेपाली प्रवेशको घटना बाहिरिएपछि आफूले भिस्वा होटलमा रहेको क्यासिनोलाई कारबाही गरेको बताए । आगामी दिनमा यो समस्या समाधान हुने उनले दाबी गरेका थिए । जिप्रका, पर्सामा बिचौलिया नभई नेता, कार्यकर्ताहरू सर्वसाधारणहरूको सहजताका लागि आउने गरेको उनले बताए ।

कार्यक्रममा सबैभन्दा बढी आलोचित जिल्ला प्रशासन कार्यालय, पर्सा भएको थियो । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई लक्षित गरी अधिकांश जनप्रतिनिधिले आआफ्ना समस्या सुनाएका थिए । जिल्ला प्रशासन कार्यालय, पर्सामा सर्वसाधारण नागरिकता बनाउन जाँदा बिचौलियाविना कुनै काम नहुने गरेको उनीहरूको आरोप थियो ।

जनप्रतिनिधिहरूले आफूहरूले सहीछाप गरी नागरिकता सिफारिश गरी पठाउँदा पुनः सर्जमिन मुचुल्का ल्याउन भनी सर्वसाधारणलाई दुःख दिने गरिएको बताए । गलती गर्ने जनप्रतिनिधिहरू अहिले पनि जेल जाँदैै छन्, हामी आफैं सजक भई नागरिकता सिफारिश गर्ने गरेकामा जिप्रकाका कर्मचारीहरूले आर्थिक लाभ लिन पुनः मुचुल्का उठाउन भनी पठाउने गरेको जनप्रतिनिधिहरूको आरोप थियो ।

बिचौलियालाई रकम दिए एकै दिनमा नागरिकता पाउने नदिए सातासम्म लाग्ने गरेको जनप्रतिनिधिहरूको आरोप थियो ।
प्रजिअ भुसालले नागरिकता सम्बन्धमा उठेका प्रसङ्गको जवाफ दिंदै नागरिकता कानून अलि जटिल भएको कारण चित्त नबुझेमा अधिकारीहरूले सर्जमिन मुचुल्का गर्न पठाउने गरेको बताए । साउन १ गतेदेखि गाउँबाट आएका कुनै पनि सेवाग्राही मर्कामा नपर्ने उनले बताए ।

समयमा आम नागरिकले नागरिकता बनाए कुनै अधिकारीहरूले शङ्का गर्दैनन् तर १६ वर्षमा नागरिकता लिनुपर्नेमा ४० वर्षमा नागरिकता लिन आउने व्यक्तिमाथि शङ्का उत्पन्न हुनु स्वाभाविक भएको बताए ।

शाखा प्रमुखद्वारा बिचौलिया परिचालन भएको कुराको खण्डन गर्दै उनले प्रमाण दिएमा कारबाही गर्ने बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी गण नं १३ का प्रमुख राधेश्याम धिमालमाथि पनि सहभागीहरूले कैयौं आरोप लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here