– राजेन्द्रप्रसाद कोइराला

“जिउँदै मर्याको भनी नाम छ कस्को ?

उध्धम बिना बित्तछ काल जस्को।”

द्द. एक् दिन् नारद् सत्य लोक् पुगिगया लोक्को गरौ हित् भनि

ब्रह्मा ताहि थिया पर्या चरणमा खुसि गराया पनि।

भानुभक्त विरचित उपर्युक्त कविता अंशका साथ उनीबारे केही खोतल्न चाहेको छु। भानुभक्तको जन्म विक्रम संवत् १८७१ असार २९ गते र मृत्यु १९२५ असोज ६ गते भएको थियो।

नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कवि हुन भानुभक्त आचार्य। उनले वाल्मीकि रामायण (जुन संस्कृत भाषामा लेखिएको थियो) अनुवाद गरेका थिए। मोतीराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि भनी उपाधि दिएका थिए।

संस्कृत भाषाको एकाधिपत्य रहेको त्यस समयमा संस्कृतका ग्रन्थहरूलाई उनले सहज र सरल नेपाली भाषामा  अनुवाद गरेर आम नेपालीले बुझ्न सक्ने बनाएका थिए। त्यसबेला उनको चर्को आलोचनासमेत भएको थियो।

देउताले बोल्ने भाषाको यो बाहुनले अपमान र बेइज्जत ग–यो भनी उनलाई निकै लाञ्छना लगाइयो। तर उनी आफ्नो अभियानमा निरन्तर लागिरहे। फलस्वरूप रामायण, श्रीराम गीता, प्रश्नोत्तरमाला, भक्तमाला, वधूशिक्षा लगायत फुटकर कविताजस्ता कृतिहरू लिएर आए जसले नेपाली भाषाको विकास हुनुको साथै सामान्यजन पनि शास्त्रको ज्ञानबाट लाभान्वित भए।

उनी विलक्षण प्रतिभाका धनी थिए। शार्दूलविक्रीडित छन्दका ६० वटा श्लोक एकै दिनमा तयार गर्ने गर्थे। आधा घण्टा सोचेर लेख्न थालेपछि कलम थामिन्नथ्यो।

शुरूमा उनलाई सबैले चिन्दैनथे। पछि युवाकवी मोतीराम भट्टले उनका कृतिहरू छापेर प्रकाशित गरी उनलाई आदिकवि भनी स्थापित गराए। नेपाल र अङ्ग्रेज युद्ध शुरू हुनुभन्दा पहिले (सन् १८१४–१८१६) विक्रम संवत् १८७१ असार २९ मा उनको जन्म भएको थियो।

पश्चिम नेपाल, हालको गण्डक प्रदेश तनहुँको रम्घा भन्ने गाउँमा एउटा प्रतिष्ठित, शिक्षित, सुसंस्कारी, सम्पन्न र सम्भ्रान्त ब्राह्मण परिवारमा उनको जन्म भएको थियो।

 उनका हजुरबा श्रीकृष्ण ज्यादै ख्यातिप्राप्त र मर्यादित र संस्कृतका घागडान विद्वान् थिए। उनकै ६ भाई छोरामध्ये जेठो छोरा धनञ्जय आचार्य र माता धर्मवती देवीका एक मात्र सुपुत्र थिए भानुभक्त। पिता सरकारी जागीरे थिए। त्यसैले उनको लालनपालान हुजुरबाकै काखमा हुन पुग्यो, जुन उनका लागि वरदान साबित भयो र यो देशले पनि आदिकवि भानुभक्त प्राप्त ग–यो। हजुरबाको साथले उनले सानै उमेरमा पुराण भन्न सिके र चिना–चपेटा हेर्न सक्ने भए।

उनमा सानैदेखि छिट्टै सिक्ने क्षमता थियो। अर्थात् कुनै ीचज झट्ट याद भइहाल्ने र नभुल्ने। १२ वर्षको उमेरमा नै उनी जन्मपत्रीको तत्व बुझ्न सक्ने भइसकेका थिए। गणेश चतुर्थीमा कतिवटा फूल र पातको सङ्ख्या हुन्छ भनी आमालाई सोध्दा आमाले–‘जा जा आफ्नो काम गर् भनिन् र त्यति नै खेर सम्झनको लागि २१ वटाको नाम याद गर्न कविता लेख्न शुरू गरे। र त्यो कविता उनले आफ्नो हजुरबालाई लगेर देखाए र हजुरबाबाट श्याबासी पाएका थिए र जिबाले भने–“तैले पक्कै कुलको नाम राख्नेछस्, म ढुक्क भएँ”। जिबाको त्यो शब्दले उनी झन् प्रेरित र उत्साहित  भए। र त्यसै बेलादेखि फुटकर कविताहरू लेख्न थाले। त्यस बेला नेपाली भाषामा कविता लेख्नु नै एउटा सामाजिक क्रान्ति थियो। एकपटक एउटा संस्कृतका पण्डितले सोधे–तिमी को नि ? उनले भने–“मलाई चिनेर क्या गर्छौ र ? पटकपटक त्यही प्रश्न गरेपछि उनले कवितामैं उत्तर फर्काए–

अती वेश देश तनहुँमा श्रीकृष्ण ब्राह्मण थिया।

खुप उच्चा कुल आर्यवन्शी हुनगै सत्कर्ममा मन्दिया।

विध्धामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिए।

इन्को नाती म भानुभक्त भनी हुँ यो जानी चिह्नी लिया।

यसरी उनी जे विषयमा पनि कविताको लयमा उत्तर दिन सक्ने भए। अर्थात् कविताको लय नै उनको भाषा हुन थाल्यो। उनको यही विलक्षण प्रतिभाले गर्दा मोतीराम भट्टले उनको मुक्तकण्ठले प्रशंसा गरेका छन। सानै उमेरमा उनले आफ्नो हजुरबाबाट दुर्गा कवच,  शप्तसती, रुद्री, वेद, ज्योतिष मुहुर्त, मार्तण्ड, अमरकोश, रघुवंश, मध्य–कौमुदीजस्ता शास्त्रको ज्ञान प्राप्त गरिसकेका थिए। पुरान वाचनको कला उनले विभिन्न विद्वान्हरूबाट बनारसमा गएर सिकेका थिए। हजुरबाको प्रभावले शिक्षा प्राप्त गर्न उनलाई सहज भएको थियो। २२ वर्षको उमेरपछि उनमा कवितालाई नै पेशा बनाउने एक किसिमको आवेग र जोश सृजना भयो। कविता लेखेर नै परोपकार गर्ने, परहित गर्ने र समाजको रूपान्तरण र शिक्षित बनाउने उनले अठोट गरे। घाँसीसँग भेट भएपछि उनले जीवनमा नाम राख्ने काम गर्नुपर्छ भन्ने अठोट लिए। घाँसीसँग भेट भएपछि उनले कविता लेखे–

भर्जन्म घाँसतिर मन्दीई धन कमायो।

नाम क्यै रहोस् पछि भनेर कुवा खनायो।

घाँसी दरिद्र घरको तर बुध्दी कस्तो।

मो भानुभक्त धनी भईकन आज यस्तो। मेरा इनार न त सत्तलपाटी क्यै छन्।

जो धन र चिजहरू छन घरभित्र नै छन्।

तेस घाँसिले कसरी आज दिएछ अर्ती .

धिक्कार हो। मकन बस्नु नराखी कीर्ति।

अब भानुभक्तले काव्य रचना गरेर लोकको सेवा गर्ने अठोट गरे। र संस्कृत भाषाको रामायाणलाई नेपाली भाषामा लेख्ने निश्चय गरे। सन् १८४१ तिर रामायाण बालकाण्ड लेखेर सके।

जग्गाको झगडाको मुद्दालाई लिएर उनी पहिलोपटक सन् १८४९ मा  काठमाडौं आए। त्यस बेला उनले कान्तिपुर र बालाजुको वर्णन गरेर कविता लेखे। कसैगरी उनको दरबारसँग हेलमेल भयो र जङ्गबहादुरका भाई कृष्ण बहादुरसँग उनको राम्रो हिमचिम हुन गयो र सन् १८५० मा उनी जागीरे भए र दुई वर्षका लागि मधेसतिर लागे। पछि उनलाई हिसाबकिताब गडबड गरेको दोषारोपण गरी पाँच महीना कुमारी चोकमा कारावासमा राखियो। त्यही समयको सदुपयोग गरी अयोध्याकाण्ड, अरण्यकाण्ड, किष्किन्धाकाण्ड र सुन्दरकाण्डजस्ता कृतिहरूको रचना गरे। पाँच महीनापछि छोराको ब्रतबन्धको समयमा उनी जेल मुक्त भए र एक वर्ष पछि पुनः काठमाडौं आए र युद्धकाण्ड तथा उत्तरकाण्ड लेखी नेपाली रामायण पूरा गरे। नेपाली भाषा विकासको लागि उनले खेलेको भूमिका अतुलनीय छ।

आजका पीढीले उनीबाट धेरै कुरा सिक्न सक्छन्। तर आधुनिकताको आडम्बरले अहिलेको पुस्तालाई यसरी गाँजेको छ कि यस्ता प्रेरणादायी व्यक्तित्वबारे जानकारी राख्नु उनीहरूको प्राथमिकतामैं पर्दैन।

अन्त्यमा उनकै कविताबाट यो आलेखलाई विश्राम दिन चाहें–

गजाधर्सोतिकी घरबुढी अलच्छिन्की रहिछन्।

नरक जानालाई सबसित बिदाबारी भइछन्।

पुग्यौं साँझमा तिन्का घर पिढिमहा बास गरियो।

निकालिन साँझमा अलिक पर गुलजार गरियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here