किएभ, युक्रेन, १५ असार/एएनआई

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको युद्ध अन्त्य गर्न विश्वको बहुमतले समर्थन गर्ने ‘व्यापक योजना’ तयार गरिरहेको अल जजीराले शनिवार जनाएको छ।

“विश्वको बहुमतले समर्थन गर्ने युद्ध अन्त्य गर्ने योजना देखाउनु आफ्नोलागि धेरै महत्वपूर्ण छ,” युक्रेनी राष्ट्रपतिले स्लोभेनियाका राष्ट्रपति नताशा पिरक मुसारसँग शुक्रवार किएभमा आयोजित पत्रकार सम्मेलनमा भने। उनले यो कूटनीतिक मार्ग भएको र यसमा आफूहरूले काम गरिरहेको बताउँदै युक्रेन र रूसबीच हाल कुनै वार्ता भने नभएको उनको स्पष्टोक्ति रहेको छ।

युक्रेन र रूसबीच हालसम्म कुनै वार्ता नभएकोले जेलेन्स्की र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको सार्वजनिक बयानका आधारमा सम्भावित शान्ति सम्झौताका शर्तहरूको कुरा गर्दा दुई पक्ष पहिलेभन्दा धेरै टाढा देखिन्छन्।

शान्ति वार्ता शुरू हुनु अघि युक्रेनले बारम्बार क्रिमियाको प्रायद्वीपसहित आफ्नो अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्षेत्रबाट रूसले आफ्नो सेना फिर्ता लिनुपर्ने बताउँदै आएको छ।

यद्यपि २०२२ फेबु्रअरीमा युक्रेनमा पूर्ण आक्रमण शुरू गरेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई रूसको कब्जामा रहेको आफ्नो पूर्व र दक्षिणको थप क्षेत्र खाली गरेर प्रभावकारीरूपमा आत्मसमर्पण गर्न माग गरेका छन्।

चालू महीनाको शुरूमा युक्रेनी राष्ट्रपतिले स्वीट्जरल्यान्डमा एउटा अन्तर्राष्ट्रिय शिखर सम्मेलनको आयोजना गरेका थिए। सम्मेलनमा युक्रेनको स्थितिका लागि समर्थन जुटाउन रूसलाई आमन्त्रित गरिएको थिएन।

स्वीट्जरल्यान्डमा भएको दुई दिने शिखर सम्मेलनमा ९० भन्दा बढी देशले नेता तथा वरिष्ठ अधिकारीहरू पठाएका र अधिकांशले युक्रेनको क्षेत्रीय अखण्डतालाई  सम्झौतामा सम्मान गर्नुपर्ने कुरामा जोड दिने अन्तिम विज्ञप्ति जारी गर्न सहमत भएको अल जजीराले जनाएको छ।

यसबाहेक रूसी सेना युक्रेनको क्षेत्रमा बिस्तारै अघि बढिरहेका छन् भने शुक्रवार अर्काे अग्रपङ्क्तिमा रहेको सानो गाउँ कब्जा गरेको दाबी रूसले गरेको छ।

मस्कोले हाल युक्रेनको लगभग २५ प्रतिशत स्थान ओगटेको र सन् २०२२ मा चारवटा क्षेत्र कब्जा गरेको दाबी गरेको छ।

यसअघि बिहीवार ब्रसेल्समा भएको इयू काउन्सिल शिखर सम्मेलनमा जेलेन्स्कीले युद्ध अन्त्य गर्न केही महीनाभित्र ‘विस्तृत योजना’ अगाडि राख्ने बताएका थिए। जेलेन्स्कीले सैनिक र नागरिकबीचको उच्च हताहतको कहालीलाग्दो दरलाई औंल्याउँदै द्वन्द्व अन्त्यका लागि आफूहरूसँग धेरै समय नभएको बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here