नेशनल इन्फोटेक माध्यमिक विद्यालयमा स्काउट सञ्चालनार्थ विद्यालयका प्रधानाध्यापक मनीष सिंहको अध्यक्षता र नेपाल स्काउट, पर्साको रोहबरमा शनिवार विद्यालय स्काउट एकाइ गठन गरिएको छ।
कार्यक्रममा नेपाल स्काउट, पर्साका सचिव भूपनारायण पटेलले विद्यार्थीहरूलाई स्काउट कस्तो संस्था हो, यसले के के कार्यक्रम गर्छ र यसले विद्यार्थीहरूको व्यक्तित्व विकासमा कसरी सघाउ पु–याउँछ भन्नेबारे बताएका थिए।
आज गठन भएको सात सदस्यीय नेशनल इन्फोटेक स्काउट एकाइमा विद्यालयका प्रधानाध्यापक सिंह पदेन अध्यक्ष, शिक्षक प्रतिनिधि स्काउटर अनन्तकुमारलाल दास र लक्ष्मी झा, विद्यार्थी प्रतिनिधिमा निष्ठन झा र अजीतकुमार यादव, अभिभावक अमरिश सिंह र स्काउटर भूपनारायण पटेल रहेका छन्।
स्काउट एउटा अनौपचारिक शैक्षिक कार्यक्रम हो, जसलाई वीरगंज महानगरपालिकाको निर्देशन अनुसार वीरगंजका सम्पूर्ण विद्यालयमा सञ्चालन गरिने लक्ष्य लिइएको छ। स्काउटले विद्यार्थीहरूको व्यक्तित्व विकासका साथै उनीहरूको चारित्रिक र नैतिक विकासमा जोड दिई प्रतिभाशाली विद्यार्थी, जागरूक र देशभक्त नागरिक तयारी गर्ने काम गर्छ। सातामा एक दिन एक पिरियडमा सञ्चालन हुने यस कार्यक्रमले विद्यार्थीहरूको पढाइमा समेत सहयोग पु–याउने विद्यालयका सामाजिक शिक्षक अनन्तकुमारलाल दासले बताए।