राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा पर्सागढी नगरपालिका–३ को खेलमैदान वरिपरि वृक्षारोपण गरिएको छ।
‘भावी सन्तति र समृद्धिका लागि वृक्षारोपण गरौं’ मूल नाराका साथ डिभिजन वन कार्यालय, पर्साको आयोजना र बिरुवागुठी युथ क्लब, बडनिहारको सहकार्यमा विभिन्न जातका बिरुवा रोपिएका थिए।
डिभिजन वन कार्यालय, पर्साका प्रमुख सुनीलकुमार कर्णको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख गोकर्ण पाठकले वनविनाशकै कारण वातावरणमा प्रतिकूल असर परेको बताए। उनले समयमा वर्षा नहुँदा पानीका मुहानहरू सुक्दै गएकाले सबै मिली वनजङ्गल जोगाउनुपर्ने बताए। डिभिजन वन कार्यालय, पर्साका प्रमुख कर्णले वन रहे हामी रहन्छौं, हामी रहे वन, त्यसैले वन जोगाउने दायित्व वनकर्मीको मात्र नभई स्थानीय समुदायको पनि रहेको बताए। उनले वनकर्मी चाहे जति नभएको कारण तस्करबाट वन जोगाउन कठिनाइ भएको बताए। करीब सात हेक्टर क्षेत्रफलमा वृक्षारोपण गर्ने योजना अनुसार आज टीक, अमला, जकरान्डालगायतका २०० वटा बिरुवा रोपिएको थियो।
कार्यक्रममा वडाध्यक्ष सुकमान तामाङ, विन्ध्यवासिनी कोइलाभार साझेदारी वन, बडनिहारका अध्यक्ष रिजवान अन्सारी, सबडिभिजन वन कार्यालय, बडनिहारका वन अधिकृत उज्ज्वल यादव, सहायक वन अधिकृत रामपुकारप्रसाद यादव, राजीवकुमार श्रीवास्तवलगायतको सहभागिता थियो। कार्यक्रममा स्वागत क्लबका सल्लाहकार विक्रम कार्की र सहजीकरण जिल्ला वन कार्यालय, पर्साका शाखा अधिकृत अञ्जनी मण्डलले गरेका थिए।