रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभूषण कुशवाहाको हत्यामा संलग्न अज्ञात समूहलाई पक्राउ गर्नुपर्ने माग गर्दै शुक्रवार विद्यार्थीलगायतले प्रदर्शन गरेका छन्।
कुशवाहाको हत्यामा संलग्न सातजनालाई प्रहरीले पक्राउ गरेको भएपनि अज्ञात समूह फरार रहेको प्रहरीले विज्ञप्तिमा जनाएपछि विद्यार्थी, शिक्षकलगायतले दबाबस्वरूप आज जिल्ला प्रहरी कार्यालय, बाराअगाडि धर्ना दिएका थिए। धर्नामा विद्यार्थी, प्राध्यापक, क्याम्पस सञ्चालक समिति, अभिभावक तथा नागरिक समाजले नाराबाजी गरेका थिए।
जेठ ३२ गते क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या भएको थियो। उनको हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले खजुरिया टोलका ३२ वर्षीय अवधलालप्रसाद कुशवाहा, २९ वर्षीय चाँदसीप्रसाद कुशवाहा, २७ वर्षीय चुल्हाइ भन्ने श्रवणकुमार साह र ५० वर्षीय ब्रह्मदेव राम, मोतीलाल चौधरी, ३४ वर्षीय राधेशकुमार पटेल र ५४ वर्षीय विनोदराउत कुमीलाई पक्राउ गरेको जिप्रका, बाराले जनाएको छ। उनीहरूका साथबाट तीनवटा मोटरसाइकल, छ राउन्ड गोली, विभिन्न मोबाइल, ल्यापटप र नेपाल तथा भारतको सिमकार्डसमेत बरामद गरेको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराएका थिए।