गाजा, १४ असार/सिन्ह्वा

गाजापट्टीको प्यालेस्टिनी तटीय क्षेत्रमा स्वास्थ्य अवस्था बिग्रँदै गएकोले त्यहाँका बासिन्दालाई स्वास्थ्य सेवाको चरम आवश्यकता रहेको संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकायले जनाएको छ।

प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य निकाय (युएनआरडब्लुए)ले सामाजिक सञ्जाल एक्समा गाजामा थोरै सङ्ख्यामा युएनआरडब्लुए स्वास्थ्य केन्द्र मात्र सञ्चालनमा रहेको बताएको छ।

मध्य गाजाको नुसिरातमा टोलीहरूले स्थानीय परिवारको सेवा गर्न जारी राखे पनि औषधि र इन्धनको गम्भीर अभावले जीवनरक्षाको कार्यमा बाधा पुगेको छ।

युएनआरडब्लुएले गाजामा प्यालेस्टिनीलाई फोहोर र ढलले घेरिएको जनाएको छ। “भीडभाड भएको आश्रय, खाना, पानी र इन्धनको अभाव, चिकित्सा आपूर्तिमा न्यूनतम पहुँच र गर्मीका कारण स्वास्थ्य अवस्था बिग्रँदै गएको छ,” युएनआरडब्लुएले उल्लेख गरेको छ।

क्यान्सर भएका २१ जना प्यालेस्टिनी बालबालिका बिहीवार विदेश उपचारका लागि केरेम सालोम हुँदै गाजाबाट निस्किए। मे महीनाको शुरूमा रफाह सीमाबाट आवतजावत बन्द भएपछि गाजापट्टीमा रहेका बिरामीहरूले पहिलोपटक गाजा छोडेको स्वास्थ्य अधिकारीहरूले बताए।

बिरामीहरू बाहिर निस्कन गार्हो र जटिल भएकाले रफाह सीमापारको विकल्प नभएको गाजा क्षेत्रका अस्पतालहरूका महानिर्देशक मोहम्मद जकाउटले पत्रकार सम्मेलनमा उल्लेख गरे।

इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सीमामा हमासले गरेको हिंसाविरुद्ध बदला लिन गाजापट्टीमा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ।

आक्रमणका कारण इजरायलमा करीब एक हजार दुई सय मानिस मारिएका थिए र २५० भन्दा बढी मानिसलाई बन्धक बनाइएको थियो। द्वन्द्वबाट प्यालेस्टिनी भूमिमा मृत्यु भएका व्यक्तिको सङ्ख्या ३७ हजार ७८१ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीले बताएका छन्। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here