गएको बिहीवार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय माध्यमिक शिक्षा परीक्षा बोर्डद्वारा (माध्यमिक शिक्षा परीक्षा) एसइईको नतीजा सार्वजनिक गरिएको छ। यसपालि परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्। जसमा १८६ जनाले चार जिपिए ल्याएको बोर्डले जानकारी दिएको छ। कार्यालयले सार्वजनिक गरेको नतीजा अनुसार परीक्षामा सहभागी भएका चार लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्ये दुई लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउनेछन्। यस्तोमा पढ्न नपाउने लाखौं विद्यार्थीको भविष्यको जिम्मेवारी कसले लिने ? अभिभावकको लगानी, राज्यको लगानी तथा देशको भविष्यका कर्णधार विद्यार्थीहरूको एक वर्ष समय खेर गएको दोष केवल विद्यार्थीकै टाउकोमा खन्याएर कमजोर अध्यापन गराउने शिक्षक, अव्यावहारिक शिक्षा नीति तर्जुमा गर्ने शिक्षा मन्त्रालय र शिक्षाविद्हरूले यस्तो खराब नतीजा आउनुपछाडि जिम्मेवारी लिने कि नलिने ? वा सरोकारवाला पक्षहरूलाई कारबाईको घेरामा ल्याउने कि नल्याउने ? यी सवालहरूमा अब सबैले एकफेर घोत्लिन जरुरी छ।
झन्डै आधाभन्दा बढी परीक्षार्थी एसइईमा असफल भएका छन्। प्रत्येक वर्ष नेपाली छात्रछात्राहरूले आफूले सोचे अनुसारको नतीजा नआएपछि आत्महत्या गर्ने गरेका देखिन्छन्। यो अत्यन्त दुःखद पक्ष हो त तर यस्तो हुनुको मुख्य कारणमा सरोकारवालाहरूलाई कमजोर नतीजाको दोषी नठह–याइनु र उनीहरूलाई कारबाईको भागी नबनाउने अवस्थाले गर्दा केवल विद्यार्थीहरू दोषी देखिने गरेकाले पनि यस किसिमको अवस्था आएको कुरालाई नकार्न सकिन्न। जबकि अभिभावक, विद्यालय र शिक्षकले एसइईबारे विद्यार्थीलाई अनावश्यक दबाब दिने गरेका छन्। शैक्षिक, सामाजिक, पारिवारिक संरचना नै ठीक छैन। एकातर्फ यसले एसइईमा कमजोर नतीजा आउनुको कारकहरूलाई केलाएर कारबाई नगर्दा उनीहरू जिम्मेवार भएर कहिले प्रस्तुत भएका देखिएनन् भने अर्काेतर्फ यसले छात्रछात्राहरूलाई मात्रै दोषी देख्ने भएकोले चौतर्फी दबाबबीच परीक्षार्थीहरू जो असफल भएका हुन्छन् वा आफूले सोचे अनुसारको नतीजा ल्याएका हुँदैनन् उनीहरूलाई आत्महत्याको खाडलमा धकेलिरहेको छ।
वास्तवमा १० वर्षसम्म पढेर पनि एसइईमा धेरैजसो विद्यार्थी ‘सी’ अथवा ‘डी’ ग्रेडमा उत्तीर्ण हुनु भनेको विद्यार्थी होइन कि पढाउने शिक्षक, ती शिक्षक नियुक्त गर्ने शिक्षा मन्त्रालय र समग्र शिक्षा नीति फेल भएको हो भन्ने वास्तविक कुरो किन हामीले बिर्सेको हो ? विद्यार्थी पढ्न नसक्नु वा राम्रो ग्रेड ल्याउन नसक्नुको मूलतः जिम्मेवार पढाउने शिक्षक र त्यस्ता शिक्षक नियुक्ति गर्ने शिक्षा मन्त्रालय तथा जुन नीति अन्तर्गत पढाइलेखाइ भइरहेको छ, त्यो शिक्षा नीति नै जिम्मेवार हो। विद्यार्थी त घरबाट पढ्न आएको हो। उसलाई राम्रोसँग नपढाइदिएपछि, नसिकाइदिएपछि उसको के दोष छ र वास्तवमा पढाउने र सिकाउने मामिलामा अयोग्य मानिसलाई यो वा त्यो कारणले शिक्षा मन्त्रालयले नै नियुक्ति गरिदिएपछि त्यसको अनुगमन नगरेपछि विद्यार्थीको के दोष ? एसइईको नतीजा प्रकाशनलाई हामीले यस विचारधाराबाट हेर्न जरुरी छ। अनिमात्रै वास्तविक निष्कर्षमा पुग्न सकिन्छ।
वास्तवमा विद्यार्थी तथा विद्यार्थीका अभिभावक दुवै पक्षले के बुझ्न जरुरी छ भने एसइई नै जीवनको सबैथोक होइन। यसभन्दा अगाडि पनि जीवन हुन्छ र सानदार हुन्छ। संसारमा एसइई नगरेका थुप्रै मानिस सामाजिक, राजनीतिकरूपमा निकै ठूलाठूला काम गरेर चर्चित बनेका छन्। यो कुरा सधैंभरि याद राख्नुपर्छ कि जीवनकै लागि यो संसार हो। संसारको लागि जीवन होइन। यो जीवन कुनै पनि चीजको लागि त्याग गर्नु उचित होइन। त्यसमा पनि जाबो एउटा एसइई जस्तो कुराको लागि आफूले चाहेको नतीजा नआउँदा ज्यान दिनुपर्ने कुनै कारण नै छैन। यसपालि आएन, अर्काे पालि आउँछ। अर्को पालि आएन, त्यसपछि आउँछ। त्यसपछि पनि भएन भने के भो र ? जीवनमा थुप्रै क्षेत्र छन्, जहाँ एसइईको कुनै मान्यता र माग छैन। आफ्ना अन्य अनुभव र योग्यताको आधारमा जीवनलाई सफलतापूर्वक व्यतीत गर्न सकिन्छ।
विश्वप्रसिद्ध वैज्ञानिक आइन्स्टाइन पढ्न नजानेको भन्दै विद्यालयबाट निकालिएका थिए। अर्का विश्वप्रसिद्ध वैज्ञानिक थोमस अल्वा एडिसन जसलाई विद्यालयले पागल विद्यार्थी भनेर निष्कासित गरेको थियो। पछि उनी आफ्नै आमाको रेखदेखमा घरमैं पढेर २५ वटा चीज आविष्कार गरेर प्याटेन्ट आफ्नो नाममा गराए। त्यस्तै, नाम चलेका भारतीय उद्योगपति धीरुभाइ अम्बानीले पनि विद्यालय शिक्षा पूरा गर्न सकेका थिएनन् भने संसारका धनी बिल गेट्स तथा एप्पल कम्पनीका संस्थापक स्व स्टिभ जब्स पनि विद्यालय तहमा असफल भएका थिए। त्यसैले पढ्नेहरूले नै संसार जित्छ भन्ने कुरा होइन। नपढेकाहरूले नै पनि संसार जितेका प्रशस्त उदाहरणहरू हाम्रो समाजमा छन्। यो कुरा कहिले बिर्सिनुहुन्न।
आत्महत्याको बाटो कमजोर मानसिकता हो। एसइईमा ‘सी’ वा ‘डी’ ग्रेड आउँदैमा कसैले पनि आत्महत्या गर्नुहुँदैन। सबैले बुझ्नैपर्ने कुरा के हो भने जीवनको कुनै पनि क्षेत्रमा जस्तोसुकै कठिन परिस्थिति आए पनि प्रत्येक चुनौतीको सामना गर्नुपर्छ न कि आत्महत्याको बाटो रोज्ने।
वास्तवमा आत्महत्या भनेको कायरता हो। यो एक कायरतापूर्ण काम हो। जुन भवावेशमा आएर केही सेकेन्डभित्रै आत्महत्या गर्ने निर्णय गरिन्छ। यस प्रकारको अवस्था घण्टौं वा मिनेटमैं होइन केही सेकेन्डभित्रै उत्पन्न हुन्छ र त्यसै बेला मान्छेले आत्महत्याको निर्णय गर्छ। मनोचिकित्सकहरूका अनुसार आत्महत्या वास्तवमा मनोचिकित्सा विज्ञानमा एक आपत्कालीन अवस्थाको रूपमा रहेको छ। जुनसुकै मानसिक रोगीहरूमा विशेषतया उदासीनता, साइकोसिस, बाइपोलार डिसअर्डरको सम्भावना रहन्छ। कसैले रोगकै दीर्घकालीन असरका रूपमा आत्महत्या गरेर मृत्युवरण गर्छन् भने कोही मनोसामाजिक विभिन्न कारणहरूको परिणामस्वरूप आत्महत्याको प्रयास गर्छन्। अन्तर्राष्ट्रिय सर्वेक्षण अनुसार किशोरावस्थामा दुर्घटनापछि आत्महत्या नै तिनको अकाल मृत्युको कारक देखिन्छ। यसका मनोसामाजिक कारणहरूमा दीर्घकालीन उदासीनता, सम्बन्धविच्छेद, नजीकका आफन्तको मृत्यु अनि परीक्षामा असफलता आदि पर्न आउँछन्। सन् २०११ मा भारतमा गरिएको एक सर्वेक्षणले त परीक्षामा असफलता नै किशोरहरूले आत्महत्या गर्ने दोस्रो प्रमुख कारणका रूपमा देखाएको थियो। वास्तवमा किशोरहरू साँच्चै मृत्युवरण गर्नैका लागि भन्दा पनि सहनै नसकिने परिस्थिति या प्रतिकूलताबाट हतोत्साहित भएर या आफूलाई असहाय, बेकामको ठानेर अनि कहिलेकाहीं त किंकर्तव्यविमूढ भएर त्यसबाट सहज उन्मुक्तिका लागि आत्महत्याको निर्णय लिन पुग्छन्। आत्महत्याका घटनाहरू भारत, नेपाल जस्ता विकासोन्मुख देशहरूमा मात्र होइन विकसित देशहरूमा पनि देखिन्छ। जस्तो कि संयुक्त राज्य अमेरिकाको एउटा परामर्श केन्द्रमा त बर्सेनि ४०–५० जना विद्यार्थी आत्महत्याको विचार लिएर आउने गरेका देखिएको थियो। युवा विद्यार्थीहरू पढाइको चाप एवं तिनका अभिभावकहरूले बारम्बार अङ्क एवं परीक्षा परिणामबारे गर्ने खोजीनितीका कारण उदास रहने गरेको विभिन्न अन्तर्राष्ट्रिय शोधकार्यहरूबाट प्रस्ट भएको छ। अमेरिकी कलेजका विद्यार्थीहरूमा १० प्रतिशतले त्यस्ता उदासीनताबाट उन्मुक्तिका लागि आत्महत्याको विचार गर्ने गरेको र यो नै तिनीहरूको मृत्युको दोस्रो ठूलो कारण देखिएको थियो।
अहिले हाम्रो विद्यालयलाई १० बाट बढाएर १२ कक्षा गरिएको छ। अब एसइई विद्यालयस्तरको फलामे ढोका रहेन। अब १२ कक्षालाई फलामे ढोका बुझ्नुपर्छ। त्यसैले एसइईमा जुनसुकै ग्रेडमा पास गरेका विद्यार्थीहरू पनि सजिलै कुनै न कुनै सङ्कायमा नामाङ्कन गराएर ११– १२ को पढाइ गरिरहेका देखिन्छन्। यसर्थ विद्यार्थीहरूमा अभिभावकहरूले धेरैभन्दा धेरै ग्रेड ल्याउनको लागि दबाब दिनु उचित होइन। शुरूबाट विद्यार्थीको मनोविज्ञान बुझेर उनीहरूलाई पठनपाठनको राम्रो सुविधा दिएर पढाइमा लगाउनु राम्रो कुरा हो। तर उनीहरूको मनोविज्ञानविरुद्ध आफ्नो स्वार्थअनुकूल यो विषय पढ, यो विषय राम्रो हुन्छ, ‘ए प्लस’ ल्याउनैपर्छ … जस्ता कुराका लागि अत्यधिक दबाब दिएपछि विद्यार्थीको मनोविज्ञान बिग्रने र नतीजा सोअनुकूल नआएपछि उनीहरू अवसादमा जाने खतरा हुन्छ। अवसादमा गइसकेपछि तत्कालीन सोचे अनुसारको नतीजा प्रकाशन नहुँदा किंकर्तव्यविमूढ भई आत्महत्याको बाटो रोज्न पुग्छ। यो कुरा अभिभावकले राम्ररी बुझ्नुपर्छ, सबै बच्चा चिकित्सक बन्दैनन् र सबै बच्चा इन्जिनीयर बन्दैनन्। वास्तवमा विद्यार्थीहरू इमानदार नागरिक मात्रै बनिदिए, उसको र समाज तथा देशको भविष्य राम्रो हुने कुरामा कुनै दुई मत छैन भन्ने कुराको ज्ञान सबैले लिन जरुरी छ।
हाम्रो समाजमा विद्यार्थी तथा अभिभावक दुवैले यस्तो मनोविज्ञानको विकास गर्न जरुरी छ कि एसइईमा ‘डी’ ग्रेड ल्याए पनि त्यो विद्यार्थी काम लाग्ने नै हो। बेकम्मा वा निकम्मा होइन। ‘सी’ वा ‘डी’ ग्रेड ल्याउने विद्यार्थीको भविष्य पनि खराब हुँदैन, राम्रै हुन्छ। अब पहिलेको जस्तो एसएलसीमा अनुत्तीर्ण हुने बित्तिकै कामै नलाग्ने जस्तो अतिशयोक्तियुक्त धारणाहरू राख्नुभएन। यस प्रकारका नकारात्मक सामग्रीहरूलाई प्रमुखताका साथ सञ्चारमाध्यमहरूले प्रचारप्रसार पनि गर्नुहुँदैन। उनीहरूले यसमाथि नजरअन्दाज गर्ने वा रोक लगाउने गर्नुपर्छ। बरु यसको ठीकविपरीत एसइई नै जीवनको सबै थोक होइन भन्ने कुराको प्रचार गर्न जुट्नुपर्छ।
हाम्रो समाजमा हुनेखाने परिवार मात्र नभई हुँदाखाने अभिभावकहरूसमेत परस्पर प्रतिस्पर्धा गरेर छोराछोरीलाई एसइई उत्तीर्ण गराउनैका लागि ठूलो धनराशि खर्चेर बोर्डिङ स्कूल, ट्युशन, कोचिङ आदिमा लगानी गरिरहेका हुन्छन्। त्यस्तै, एसइईमा ‘सी’ वा ‘डी’ ग्रेड हुनुको मतलब त्यो लगानी खेर गएको ठान्ने या राम्रो श्रेणी ल्याउन नसके त्यस्ता छोराछोरीलाई अपराधीसरह व्यवहार गर्ने गर्छन्। अतः सानैदेखि बालबालिकामा असफलताप्रति डर एवं नकारात्मक भाव, उत्तीर्ण हुन नसके बुबाआमाको सपना पूरा गर्न नसकेकोमा पश्चात्तापबोध अनि जीवनभन्दा पनि परीक्षाको अङ्क नै महत्वपूर्ण भन्ने धारणा विकसित भइरहेको हुन्छ। त्यस्तै, विद्यालयहरू पनि एसइई शतप्रतिशत ‘ए प्लस’को सफलतालाई नै आफ्नो भविष्यको मानक मान्ने, असफल हुने सम्भावित विद्यार्थीहरूमा हीनताबोध नै जाग्ने गरी व्यवहार गर्ने गर्छन्। अनि मिडियासमेत एसइईमा असफल भएर आत्महत्या जस्ता सामग्रीलाई बढाइचढाइ प्रसारण गर्नमंै उद्यत हुन्छ। यी सब तथ्यमाथि विचार गर्दा वास्तवमा अहिलेको आवश्यकता नैतिक शिक्षा एवं मनोविश्लेषणको नै हो। परीक्षामा असफलता जीवनकै असफलता कदापि होइन, किनभने जीवन एउटा असफलताले रोकिंंदैन। अनि किशोरावस्थामा आउने मनस्थितिको उचित सम्बोधनका लागि समयसमयमा विशेषज्ञबाट परामर्शसमेत चाहिने गर्छ। यी सब तथ्यको चेतना अभिभावक, विद्यालय, मिडियाकर्मी एवं सरकारले नै संवाहन गर्नुपर्छ। नत्र त हरेक वर्ष असार महीना, रोपाइँको मात्र महीना नरही छात्रछात्राहरूको अकाल मृत्युुको महीनाका रूपमा रूपान्तरण हुनबाट रोक्नुपर्छ।