वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले महानगरका ३२ वटै वडामा समानुपातिकरूपमा बजेट विनियोजन गरिएको दाबी गरेका छन।
वीरगंज महानगरपालिका–५ मा बिहीवार आयोजित सार्वजनिक सुनवाइ कार्यक्रममा नगरप्रमुख सिंहले असार ८ गते सम्पन्न नगरसभाबाट वीरगंज महानगरपालिकाका ३२ वटै वडामा समानुपातिकरूपमा आगामी आवका लागि बजेट विनियोजन गरिएको दाबी गरे। उनले वडास्तरीय योजना छनोट गर्दा जनप्रतिनिधिहरू जनताको घरदैलोमैं पुगेर समस्या बुझ्नुपर्ने बताए। उनले नागरिक सुशासन, पारदर्शिता र जनअपेक्षाअनुरूप वीरगंज बनाउने अभियानमा नेतृत्व जुटिरहेको बताउँदै नगरवासीको सहयोग र सहकार्यबाट वैभव वीरगंजको परिकल्पना साकार हुने बताए।
कार्यक्रममा सहभागीहरूले वीरगंजमा हाल खानेपानीको समस्या विकराल बन्दै गएको र ढल, नालाको व्यवस्थापन, अव्यवस्थित बिजुलीका पोल र तारहरूको व्यवस्थापन, वर्षामा डुबान हुने समस्या समाधान गर्न नगरप्रमुख सिंहको ध्यानाकर्षण गराएका थिए।
वडाध्यक्ष प्रदीप चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगंज महानगरको आमसञ्चार प्रवद्र्धन तथा नियमन समितिका संयोजक ध्रुव अधिकारीले प्रतिवेदन प्रस्तुत गरेका थिए भने पत्रकार ओमप्रकाश खनालले सार्वजनिक सुनवाइबारे टिप्पणी गरेका थिए।