वीरगंज महानगर–३२ रामवन जोगाउन पर्साका राजनीतिक दलका प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाएका छन्।
रामवनमा प्राकृतिक चिडियाखाना बनाउन रामवन बस्ती हटाउन जिल्ला वन कार्यालयले १५ दिने सूचना जारी गरेपछि आज पर्साका सम्पूर्ण राजनीतिक दलले प्रजिअ दिनेशसागर भुसाललाई ज्ञापनपत्र बुझाएका छन्।
यस अघि सर्वदलीय टोलीले रामवनमा रहेको बस्तीको भ्रमणसमेत गरेको थियो। भ्रमणपश्चात् सर्वदलीय टोलीले बस्ती बचाएर चिडियाखाना बनाउन सकिने देखिएकोले मानवबस्ती बचाएर विकास निर्माणलाई अघि बढाउन अनुरोध गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा जिल्ला संयोजक हरि पन्तले जानकारी गराए।
सर्वदलीय टोलीमा नेपाली काङ्ग्रेस, पर्साका सभापति जनार्दनसिंह क्षत्री, नेकपा, एमाले पर्साका अध्यक्ष डा विश्वम्भर शर्मा, जसपा, पर्सा सचिव तबरेज अहमदलगायत राजनीति दलका प्रतिनिधिहरूको सहभागिता थियो।
ज्ञापनपत्र बुझ्दै प्रजिअ भुसालले बस्ती बचाएर कमसेकम क्षतिमा समस्या समाधान गर्न पहल गर्ने बताए। रामवनमा ११० भन्दा बढी घरधुरी छन्।