वीरगंज महानगरपालिका कार्यालयले जथाभावी फोहर गर्नेविरुद्ध जरिवाना लिन शुरू गरेपछि १८ महीना अवधिमा रु ३६ लाख सङ्कलन गरेको छ। महानगरपालिकाले अहिले दुई तरीकाबाट फोहर सङ्कलन गर्दै आएको छ। एउटा आफैंले सफाइ कर्मचारीहरू खटाएर र अर्काे ठेक्काबाट। आफैंले सफाइ कर्मचारी खटाएर उसले नाला कटान गरी फोहर उठाउँछ भने केही सरकारी कार्यालय र एउटा कूटनीतिक कार्यालयको फोहर सङ्कलन गर्छ। यसका लागि डेढ सयको हाराहारीमा सफाइकर्मी र एक दर्जन जति ट्याक्टर परिचालन गरेको छ। जथाभावी फोहर नफालौं, तोकिएको स्थानमा फोहर फालौं र जथाभावी फोहर फाल्नेलाई जरिवाना हुने सन्देशका साथ महानगरले आफ्नो दायित्वको फोहर सङ्कलन गर्दै आएको छ। अर्काे ठेकेदारबाट फोहर सङ्कलन गर्दै आएको छ। करीब पाँच वर्षदेखि ठेकेदारमार्फत फोहर सङ्कलन भइरहेको छ। फोहर सङ्कलन गरेबापत ठेकेदारले घरपिच्छे मासिकरूपमा शुल्क लिने व्यवस्था गरिएको थियो। त्यसैगरी, घर, होटल, क्लिनिक, अस्पताल, नर्सिङ होम, बैंक, पसलहरूबाट मासिक शुल्क निर्धारण गरेको थियो। घरपिच्छे फोहर शुल्क शुरूका तीन/चार महीना सङ्कलन गरियो भने त्यसपछि बन्द भयो। अन्यसँग भने ठेकेदारले शुल्क उठाउँदै आएको छ।

फोहरको बारेमा कुरा गर्दा वीरगंज महानगरपालिकाको १ देखि १६ नम्बर वडामा अहिले फोहर सङ्कलन निकै राम्रो देखिएको छ। विगत दुई वर्षदेखि यी वडाहरूमा महानगरपालिकाले फोहर हुन दिएको छैन। ठेकेदारबाट एकाबिहानैदेखि अबेर राति १ बजेसम्म महानगरका मुख्य सडक, सहायक सडकहरूका फोहर सङ्कलन गरिन्छ। महानगर आफैंले भने बिहान ४–८ बजेसम्म बेलुकी ६–१० बजेसम्म र बिहान १० देखि साँझ ५ बजेसम्म गरी कुल १६ घण्टा फोहर सङ्कलन गर्छ। फोहर सङ्कलन नियमितरूपमा गर्दै आए पनि मानिसहरूको स्वभावमा परिवर्तन ल्याउन सकेको थिएन। जथाभावी फोहर फाल्ने परम्परा नै बसालेकाहरूलाई महानगरपालिकाले जरिवाना गर्न थालेपछि मात्र सुधार आएको हो। शुरूमा फोहर सङ्कलनसम्बन्धी समिति बनायो र सो समितिमार्फत फोहर गर्ने जोसुकैलाई कारबाहीको दायरामा ल्याउने काम ग–यो। शुरूमा चेतावनी दिने काम भयो, त्यसपछि फोहर फाल्नेलाई रु पाँच सयदेखि जरिवाना गर्न शुरू गरियो र अहिले रु एक लाखसम्म जरिवाना गरिन्छ। जथाभावी फोहर गर्नेलाई एक सय रुपैयाँदेखि एक लाखसम्म जरिवाना गर्न पाउने व्यवस्था छ।

सुधारको लागि कठोर हुन जरुरी हुन्छ। यो अभियानमा नगरप्रमुख राजेशमान सिंहको प्रशंसा गर्नैपर्छ। जथाभावी फोहर गर्नेलाई जरिवाना गर्ने व्यवस्था पहिलेदेखि थियो छ। नगरप्रमुख सिंहले यसलाई कठोररूपमा लागू गरे। जरिवाना भएको समाचार आगोझैं फैलियो र अहिले वीरगंजको

मुहार फेरिएर सफा वीरगंज भएको छ। यो कुरा महानगरवासीले महसूस गरेका छन् भने वीरगंजको सफाइको बाहिरबाट आउनेहरूले पनि प्रशंसा गर्छन्। वीरगंज महानगरपालिकाले फोहर गरेको सुधार दोस्रो सूचक हो अहिले। यसअघि कर्मचारीबाट सञ्चालन हुँदा फोहरलाई व्यवस्थित गर्ने काम तत्कालीन कार्यकारिणी अधिकृत रश्मीराज पाण्डेले गरेका थिए। गरेपछि हुन्छ र आँटेपछि पुग्छ भन्ने सन्देश उनीपछि सरसफाइमा नगरप्रमुख सिंहले प्रवाह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here