आइसिसी टि ट्वान्टी विश्वकप २०२४ अन्तर्गत अमेरिकालाई हराउँदै इङ्गल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ। ब्रिजटाउन बार्बाडोसमा गए राति सम्पन्न खेलमा इङ्गल्यान्डले अमेरिकालाई १० विकेटले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ।
अमेरिकाले दिएको ११६ रनको लक्ष्य, इङ्ल्यान्डले ९.४ ओभरमैं कुनै विकेट नगुमाई पूरा ग–यो। इङ्ल्यान्डको जीतमा कप्तान जस बटलरले ३८ बलमा ६ चौका र ७ छक्कासहित सर्वाधिक ८३ रनको योगदान दिए। त्यस्तै फिल साल्ट २१ बलमा २५ रनमा अविजित रहे।
त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका १८.५ ओभरमा ११५ रनमा समेटिएको थियो। अमेरिकाका लागि नीतीश कुमारले सर्वाधिक ३० रन र कोरी एन्डरसनले २९ रन जोडे। त्यस्तै हरमित सिंहले २१ तथा स्टेभेन टेलरले १२ रन बनाए।
इङ्ल्यान्डका लागि क्रिस जोर्डनले चार विकेट लिए भने श्याम करन र आदिल राशिदले समान दुई–दुई तथा लियम लिभिङस्टोनले एक विकेट लिए। यो जीतसँगै इङ्गल्यान्ड अन्तिम सुपर आठको समूह २ मा तीन खेलबाट चार अङ्कका साथ सेमिफाइनलमा पुगेको हो। समान दुई खेलमा दक्षिण अफ्रिका चार र वेस्ट इन्डिजको दुई अङ्क छ। अमेरिका भने अङ्कविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।