कास्की, १० असार/रासस

पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय महिला टी–२० क्रिकेटको उपाधि स्याङ्जाले जितेको छ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सोमवार सम्पन्न फाइनलमा घरेलु टोली कास्कीलाई ४५ रनले पराजित गर्दै स्याङ्जाले उपाधि जितेको हो। विजेता स्याङ्जाले नगद रु एक लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेता कास्कीले रु ५० हजार ट्रफी र मेडल पुरस्कार प्राप्त ग–यो।

फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको स्याङ्जाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १०५ रन बनाएको थियो। उसका लागि कुसुम गोदारले ३१ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ३१ रन जोडिन्। सिमाना केसीले ३६ बलमा दुई चौकाका साथ २४ रनको योगदान दिइन्। यसैगरी, ज्योत्सना मरासिनीले १४ रन बनाइन्। अन्य खेलाडीले भने दोहोरो अङ्कको रन छुन सकेनन्।

कास्कीका लागि सुशीला दिम्दुङ र पूर्णिमा गुरुङले समान दुई/दुई विकेट लिए। रचना चौधरी, चन्द्रमाया बराल र रिया तामाङले समान एक/एक विकेट लिए।

उपाधिका लागि १०६ रनको लक्ष्य पछ्याउने क्रममा कास्की २० ओभरमा नौ विकेट गुमाउँदै ६० रनमा सीमित भयो। कास्कीले १५ रन अतिरिक्त दोहोरो रन आफ्नो पारीमा जोडे पनि कुनै पनि खेलाडीले दोहोरो अङ्क छुन भने सकेनन्। कास्कीका खेलाडीहरूले आफ्नो पारीमा ४५ रन मात्रै बनाए।

स्याङ्जाका लागि बलिङतर्फ आकृति तिवारीले चार ओभरमा एक मेडन राख्दै १२ रन दिएर दुई विकेट लिइन्। ‘वुमन अफ दी म्याच’ घोषित सिमाना केसीले तीन ओभर बलिङमा पाँच रन दिएर दुई विकेट लिन सफल हुँदा रञ्जना साउदले दुई ओभरमा पाँच रन दिएर दुई विकेट लिइन्। यसैगरी, कुसुम गोदारले एक विकेट लिन सफल भइन्।

प्रतियोगितामा स्याङ्जाकी कुसुम गोदार ‘प्लेयर अफ दी सिरिज’ र ‘बेस्ट ब्याटर’ बन्न सफल भइन्। कास्कीकी चन्द्रमाया बराल उत्कृष्ट बलर बन्न सफल भइन्। उनीहरूले नगदसहित ट्रफी प्राप्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here