नयाँ दिल्ली, १० असार/एएफपी

राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) सरकारको नेतृत्व गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार संसद्को पहिलो बैठकको पहिलो सत्रमा तेस्रो कार्यकालको योजना प्रस्तुत गरेका छन्।

एक दशकपछि पहिलोपटक गठबन्धन सरकारमा सामेल हुन बाध्य भारतीय जनता पार्टी (भाजपा) सरकारले अघिल्ला कार्यक्रमलाई कसरी प्रस्तुत गर्छ भनेर विशेष चासोका साथ हेरिएको छ। भाजपाले एकल सरकार बनाएको बेला घोषणा गरेका कतिपय कार्यक्रमहरू यो सरकारले त्याग्छ वा निरन्तरता दिन्छ, यसमा सबैको चासो रहेको छ।

जुलाई ३ सम्म चल्ने पहिलो सत्रमा मोदीको तेस्रो कार्यकालको योजना र सन् २०१४ देखि रिक्त रहेको विपक्षी दलको नेताको रूपमा राहुल गाँधीको सम्भावित औपचारिक नियुक्तिको पूर्वावलोकन हुनेछ।

विश्लेषकहरूले ७३ वर्षीय मोदीले आप्mना हिन्दू राष्ट्रवादी एजेन्डालाई संयमित गर्दै गठबन्धन साझेदारलाई आश्वस्त पार्ने, पूर्वाधार, सामाजिक कल्याण र आर्थिक सुधारमा बढी ध्यान केन्द्रित गर्ने अपेक्षा गरेका छन्।

संसदीय मामिलामन्त्री किरेन रिजिजुले सोमवार अधिवेशन ‘शान्तिपूर्ण र उपलब्धिमूलक’ भएको बताए पनि भारतीय सञ्चारमाध्यमले भने अझ बलियो प्रतिपक्षसँग जीवन्त बहस हुने अपेक्षा गरेको बताएका छन्।

पहिलो दुई दिन नवनिर्वाचित सांसदले शपथ लिएसँगै संसद् अधिवेशन शुरू हुनेछ।

प्रधानमन्त्रीको रूपमा मोदीको दशकले उनलाई देशको बहुसङ्ख्यक हिन्दू धर्मको कट्टर समर्थकको छवि विकास गरेको छ। यसले देशभित्रको मुस्लिम समुदायसहित अल्पसङ्ख्यकहरूलाई चिन्तित बनाएको छ।

भाजपाले यस वर्षको चुनावमा २४० सिट जितेको छ र यो तल्लो सदनमा बहुमतका लागि चाहिने सङ्ख्याभन्दा ३२ सिट कम हो। यसले भाजपालाई शासन गर्न साना पार्टीहरूको समूहमा निर्भर बनाएको छ।

मोदीले यो सरकारमा पनि प्रमुख पदहरू यथावत् राखेका छन् र क्याबिनेटमा भाजपाको प्रभुत्व कायमै छ।

प्रधानमन्त्री मोदीका विश्वासपात्र राजनाथ सिंह, अमित शाह, नीतिन गडकरी, निर्मला सीतारमण र एस जयशङ्कर क्रमशः रक्षा, आन्तरिक, यातायात, वित्त र विदेशमन्त्री बनेका छन्।

उनको ७१ सदस्यीय सरकारमध्ये ११ पद गठबन्धनका सहयोगीलाई दिइएको छ भने मन्त्रिमण्डलको महत्वपूर्ण शीर्ष ३० पद पाँचवटा गठबन्धन दललाई बाँडिएको छ।

तल्लो सदनको सञ्चालनको रेखदेख गर्ने शक्तिशाली पद सभामुखको निर्वाचनलाई पनि धेरैले हेरिरहेका छन्।  सांसदहरूले बुधवार सभामुखका लागि मतदान गर्नेछन्।

गठबन्धनका सहयोगीले यस पदमा आँखा लगाएका छन्। केहीले खुलेरै प्रधानमन्त्रीले भाजपाबाट उम्मेदवार खडा गर्ने बताएका छन्। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here