स्वास्थ्य कार्यालय पर्साको सहयोगमा वीरगंज महागरपालिकाको समन्वयमा सोमवार लामखुट्टेको टोकाइबाट हुने डेङ्गु लगायतका रोगबाट जोगिन अवलम्बन गर्नुपर्ने कार्यका बारेमा सफाइकर्मीहरूलाई सचेतना गराइएको छ।
महानगरपालिकाको तालीम केन्द्रमा सोमवार आयोजित सचेतना कार्यक्रममा जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर र महानगरका स्वास्थ्य महाशाखाका अधिकृत सुमन ठाकुरले लामखुट्टेको टोकाइबाट हुने रोगहरू र सोबाट जोगिनका लागि सफाइकर्मीहरूको भूमिकाबारेमा जानकारी गराएका थिए। उनीहरूले स्थिर अवस्थामा रहेको पानी जस्तै पोखरी, निकास नभएको नाला, घरको गमला, कुलरको पानी, एसीको पानी, घरको बाल्टिनमा दुई दिनभन्दा बढी समयसम्म राखिएको पानी, टायर, टीनका डब्बाहरूमा जमेको पानीमा डेङ्गु फैलाउने लामखुट्टेको विकास हुने बताएका थिए। यस प्रकारका सूचकहरूमध्ये सफाइकर्मीहरूले आफ्नो क्षेत्र अन्तर्गत पर्ने घरबाहेकमा स्प्रे गर्दा मापदण्ड अनुसारको औषधि र पानीको प्रयोग गर्न सुझाए। उनले हाल महानगरको वडा नं १ देखि १६ सम्मलाई लक्षित गरेर स्वास्थ्य कार्यालयले स्प्रे मेशीन १६ थान र एक हजार डब्बा बिटिआई औषधि वितरण गरिएको बताए। स्वास्थ्य अधिकृत जयमोद ठाकुरले यो औषधि प्रत्येक १५ दिनमा छर्न सुझाव दिए। उनले तत्काल चार महीनाका लागि औषधि उपलब्ध गराएको र आवश्यकता परेको खण्डमा थप पाँच सय डब्बा उपलब्ध गराउने बताए। उनले डेङ्गुजनित लामखुट्टे चार फिटभन्दा माथि उड्न नसक्ने, चलायमान र फोहर पानीमा विकसित नहुने जानकारी गराए।
वीरगंज महानगरपालिका सरसफाइ महाशाखाका प्रमुख सर्फुद्दीन मियाँले पानी परेको बेला लामखुट्टेहरू सक्रिय हुने बताए। उनले अहिले लार्भा बन्ने बेला हो र यही बेला लामखुट्टेविरुद्धको अभियान सञ्चालन गर्दा लाभदायक हुने बताए। प्रमुख मियाँले यसअघि फगिङ प्रणालीबाट महानगरपालिकाले लामखुट्टेविरुद्धको अभियान सञ्चालन गर्दा पाँच प्रतिशत मात्र सफलता पाउने गरेकोले यो वर्षदेखि फगिङ कार्य बन्द गरिएको बताए।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पर्साका पूर्वअध्यक्ष शत्रुघ्न नेपालले महानगरको सफाइ विगत दुई वर्षयता सराहनीय भएको बताए। उनले अहिले वीरगंज आउने जोकोहीले यस अघिको भन्दा सरसफाइ निकै राम्रो भएको चर्चा गर्ने गरेको बताए। कार्यक्रममा महानगरका १६ वटा वडाका नाइके र सफाइकर्मीहरूको सहभागिता थियो।