धोबिनी गाउँपालिकाको सहयोग तथा गुणस्तरीय प्रविधि शिक्षा सीपमूलक तालीम केन्द्रको आयोजनामा आइतवार लङ्गडीमा बालविवाहविरुद्ध सडक नाटक सम्पन्न भएको छ।
बालविवाहले समाजमा पार्ने नकारात्मक असर, सोको कानूनी उपचारबारे सडक नाटकको माध्यमद्वारा सर्वसाधारणलाई जानकारी गराइएको थियो। वडाध्यक्ष अब्बास मियाँ चुडिहारले विगतभन्दा बालविवाह गर्ने परिपाटी केही हदसम्म नियन्त्रण भएको बताए।
उनले लुकीछिपी केही परिवारले बालविवाह गरे पनि अहिले यसबारेमा समाज सचेत भएकोले खुलेआम हुन बन्द भएको बताए। बालविवाहविरुद्ध समाज जागरूक भएको र विद्यार्थीदेखि विभिन्न संस्थाहरू रोकथाममा सक्रिय भएकाले सोको परिणाम समाजमा देख्न पाएको बताए। उनले छोरीलाई चाँडो बिहे गरेर ढुक्क हुने समाजका अभिभावकहरू पछिल्लो समयमा सचेत भएका र अब यस्तो काम नगर्ने दाबी गरे।
कार्यक्रममा वडासदस्य कमल ठाकुर, मैना देवी, मदन सहनी, कार्यपालिका सदस्य दिनेश कलवारलगायतको सहभागिता थियो।