काठमाडौं, ९ असार/रासस

आइसिसी टी–२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत गएराति सम्पन्न खेलमा भारतले बङ्गलादेशमाथि ५० रनको जीत हासिल गरेको छ।

एन्टिगुवामा भएको खेलमा भारतले दिएको १९७ रनको विशाल लक्ष्य पछ्याएको बङ्गलादेश निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १४६ रनमा समेटियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बङ्गलादेशका कप्तान नाज्मुल हसन शान्टोले ३२ बलमा एक चौका र तीन छक्कासहित सर्वाधिक ४० रन बनाए भने तान्जिद हसनले २९ तथा रिषाद होसेनले २४ रन जोडे।

भारतका लागि कुलदीप यादवले तीन तथा अर्शदीप सिंह र जसप्रीत बुमराहले समान दुई/दुई विकेट लिए। हार्दिक पाण्ड्याले एक विकेट लिए।

त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १९६ रन बनाएको थियो। भारतका लागि हार्दिक पाण्ड्याले २७ बलमा चार चौका र तीन छक्कासहित सर्वाधिक ५० रन बनाए। त्यसैगरी,  विराट कोहलीले ३७, ऋषभ पन्तले ३६, शिवम दुबेले ३४ तथा कप्तान रोहित शर्माले २३ रन जोडे।

बङ्गलादेशका तान्जिम हसन शकिब र रिषाद हुसेनले समान दुई/दुई विकेट लिए भने शाकिब अल हसनले एक विकेट लिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here