ब्रह्माण्ड रहस्य एवं जटिल संरचनाले भरिएको छ। विज्ञान यस्ता रहस्य खोज्न निरन्तर प्रयत्नशील रहेको छ। जबसम्म रहस्योद्घाटन हुँदैन, तबसम्म यो एउटा परिकल्पना मात्र हो। जुन दिन यो उजागर हुन्छ त्यस दिन यो वास्तविकतामा परिणत हुन्छ। यसरी के भन्न सकिन्छ भने परिकल्पना र वास्तविकताबीच बढी अन्तर छैन किनभने हेर्दाहेर्दै परिकल्पना वास्तविकतामा परिणत भइरहेको पाइन्छ।
धेरै पहिले मानिसको मानसपटलमा पृथ्वीमा मानिसको उत्पत्तिलाई लिएर के प्रश्न उठ्ने गर्दथ्यो भने पृथ्वीमा मानिसको उत्पत्ति कसरी भयो होला ? यस सम्बन्धमा अनुसन्धान गरेर वैज्ञानिकहरूले आआफ्नो तर्क प्रस्तुत गरेका थिए। यस्तै एउटा गम्भीर प्रश्न वर्तमानमा पनि मानिस सामु उभिएको छ। त्यो के हो भने के मानिस आउँदो एक हजार वर्षसम्म बाँच्न सक्छ ? आज यदि यो प्रश्न हाम्रो मस्तिष्कमा घुमिरहेको छ भने यो प्रश्न हाम्रो मस्तिष्कमा कहाँबाट आएको होला ? यस प्रश्न पछाडिको वास्तविकता के हो भने यस प्रश्नलाई जन्माउन हामी नै जिम्मेवार छौं।
“पृथ्वीमा हाम्रा आवश्यकता पूरा गर्ने पर्याप्त संसाधन छ तर हाम्रो लोभ पूरा गर्न सक्ने जिनिस छैन।” महात्मा गाँधीको यस कथनले मानिसद्वारा उपभोक्तावादी समाजको माग पूरा गर्नको लागि भइरहेको प्रकृतिको दोहनतर्फ सङ्केत गरिरहेको छ। जुन बेला पृथ्वीको निर्माण भयो, त्यस बेला यहाँ बसोवास गर्ने प्रशस्त ठाउँ थियो। बिस्तारै मानव सभ्यताको जन्म भयो। त्यस बेला प्रकृतिले मानिसलाई धेरै कुरो दियो तर आफ्नो स्वार्थ पूर्तिको लहडमा मानिसले प्रकृतिको यसरी दोहन गर्न थाल्यो कि आज स्वयं मानिसलाई अस्तित्व जोगाउन गार्हो हुन थालेको छ। वर्तमानको गम्भीर सङ्कट पनि यही नै हो।
वर्तमानमा जुन पर्यावरणीय क्षति भइरहेको छ त्यसको एकमात्र कारण हाम्रो मानसिकता हो। हामी के सोच्छौं भने म बाँचिरहूँ, मेरो सुख समृद्धि बढिरहोस् र बढीभन्दा बढी सुख–सुविधा उपभोग गर्न सकूूँ। निरन्तर बढिरहेको पर्यावरणीय प्रदूषण, जलवायु परिवर्तन, जलस्रोतको कमी, प्राकृतिक संसाधन तथा जैविक विविधतामा कमीले आज हामी सबैलाई तनावग्रस्त बनाएको छ। यदि समय छँदै हामी सचेत भएनौं भने वा यसलाई जोगाउने उपाय खोजेनौं भने मानिसको अस्तित्व समाप्त हुनबाट कसैले पनि बचाउन सक्दैन।
हामी सबैलाई के कुरा थाहा छ भने “प्रकृतिको कोप सबैखाले कोपभन्दा बढी भयानक हुन्छ।” मानिसले आफ्नो आर्थिक विकासका लागि पर्यावरणलाई कति हद सम्म बिगारेको छ भने अब प्रकृतिको सहन सक्ने सीमा पार भइसकेको छ। एक तथ्याङ्कले के देखाएको छ भने पछिल्लो दुई दशकमा विश्वभरि हुने प्राकृतिक आपदामा चारगुना वृद्धि भएको छ। अर्थात् मानिसको अस्तित्वमाथि प्रकृतिको कहर कुनै पनि बेला बर्सन तयार भएर बसेको छ। यदि समयमैं हामीले प्रकृतिको यस चेतावनीलाई बुझ्न सकेनौं भने आप्mनो अस्तित्वमाथि आउने सङ्कट पनि रोक्न सक्दैनौं।
आज सम्पूर्ण विश्व पर्यावरणीय असन्तुलनको कारण कैयन समस्यासँग जुझिरहेको छ। स्वार्थी मानिसहरू प्रकृतिको दोहन गर्न लागिपरेका छन्। सँगसँगै उसको आचरण पनि प्रकृति विरोधी भइसकेको छ। जुन धर्तीलाई हामी माता भनेर सम्बोधन गर्छौं त्यसै धर्तीको छाती स्वार्थले अन्धो भएर छियाछिया पारिरहेका छौं। यस सन्दर्भमा मलाई भारतीय कवयित्री महादेवी वर्माको चार पङ्क्तिको सम्झना भइरहेको छ– “कर दिया मधु और सौरभ दान सारा एक दिन/किन्तु रोता कौन है तेरे लिए दानी सुमन/मत व्यथित हो फूल, किसको सुख दिया संसार ने/स्वार्थमय सबको बनाया है यहाँ करतार ने।” यी पङ्क्तिहरूको माध्यमले कवियित्रीले प्रकृति र मानिसको अस्तित्वबीच एउटा जीवन्त चित्र कोरेकी छिन्।
इतिहास के भन्छ भने मानिसले दुईवटा विश्वयुद्ध लडेको छ र यसमा जानमालको अकल्पनीय क्षति भएको थियो। वैज्ञानिक, भौतिकविद् र इतिहासकारहरूले के भविष्यवाणी गरेका थिए भने यदि तेस्रो विश्वयुद्ध भयो भने त्यो ‘पानी’को लागि हुन्छ। अर्थात् पानी बेगर मानिसको अस्तित्व एक शताब्दीको त कुरै नगरौं, एक दिन पनि दुष्कर छ। आज स्थिति के छ भने विश्वको आधी भन्दा बढी जनसङ्ख्या स्वच्छ पेयजलको लागि काकाकूल बनिरहेको छ। नेपाल पनि यसबाट अछूतो छैन। वीरगंजकै कतिपय वडामा खानेपानीको समस्या रहेको छ। हिजोआज हामीहरू जीवनदायिनी नदीहरूको पानी प्रदूषित पारिरहेका छौं। उदाहरणका लागि वीरगंजस्थित सिर्सिया नदीलाई लिन सक्छौं, जो आफ्नो अस्तित्वका लागि छटपटिइरहेको छ।
एउटा तीतो यथार्थ के हो भने यदि ‘पानी’ हुँदैन भने मानिससहित पृथ्वीमा पाइने समस्त जीवजन्तुहरूको अस्तित्व लोप हुन्छ। विडम्बना के हो भने मानिसले पानीजस्तो अपरिहार्य सम्पदाको यसरी दुरुपयोग गरेको छ जसले भूमिगत जलको स्तर एउटा खतरनाक स्थितिसम्म पुगिसकेको छ। तर ध्यान दिनुपर्ने कुरा के हो भने यदि समस्या छ भने त्यसको समाधान पनि अवश्य छ। खाँचो समय छँदै समाधान खोज्नु हो। यदि यसो गरिएन भने गम्भीर दुष्परिणाम भोग्न तयार हुनुपर्छ। पानी जोगाउनको लागि विभिन्न सङ्घसंस्था, युवा र शहरी तथा ग्रामीण जनसङ्ख्यामा चेतना फैलाई जागरुक बनाउन सकिन्छ। यसरी विश्वलाई एउटा सकारात्मक सन्देश दिन सकिन्छ। पानीको समस्यामा एकजना शायरले के लेखेका छन् भने–“सारे जन की प्यास बुझाना इतना आसां काम नहीं/बादल को भी भाव में ढलकर पानी बनना है।”
त्यसैगरी एउटा प्रसिद्ध उखान के रहेको छ भने “कल्पना गर्नुहोस् यदि रूखले वाइफाई दिन्थे भने हामी कति रूख लगाउँथ्यौं र शायद हामी आफ्नो ग्रहलाई बचाउने प्रयास गथ्र्यौं।”तर दुःखको कुरो के हो भने अक्सीजन दिने रूखबिरुवालाई हामी स्वयं दोहन गरिरहेका छौं। विडम्बना के हो भने हामी प्रद्यौगिकीको अभ्यस्त भइसकेका कारण पर्यावरणमा हुने हानिकारक प्रभाव नदेखेको जस्तो गरिरहेका छौं। प्रद्यौगिकीको प्रयोगले प्रकृति त नष्ट हुन्छ नै, यसले हामीलाई प्रकृतिबाट अलग्याइ पनि दिन्छ।
यदि वास्तवमा हामी बाँच्न चाहन्छौं र राम्रो जीवनयापन गर्न चाहन्छौं भने बढीभन्दा बढी वृक्षारोपण गर्नुपर्छ। अक्सीजन दिने र कार्बन डाइअक्साइड लिनुको साथै रूखबिरुवाले पर्यावरणबाट अन्य हानिकारक ग्याँस पनि अवशोषित गर्छन् जसले गर्दा हावा शुद्ध र ताजा बन्छ। रूखबिरुवा जति हरियो हुन्छ, त्यत्तिकै बढी अक्सीजन उत्पादन र विषाक्त ग्याँसको समाप्ति हुन्छ। बढ्दो प्रदूषणसँग छुटकारा पाउने सबैभन्दा ठूलो उपाय पनि वृक्षारोपण नै हो।
वर्तमानका कैयन घटनाहरूले विश्व समुदायलाई प्रभावित पारिरहेको छ। यी घटनाहरूले विश्वबाट शान्ति विस्थापित गर्ने काम गरिरहेका छन् भने आप्mनै अस्तित्वमाथि पनि प्रश्नचिह्न खडा गरिरहेका छन्। त्यहीं अर्कोतिर सम्पूर्ण विश्वमा शस्त्रको होडबाजी चलेको छ। परमाणु बमको हमलाको आशङ्का बढेको छ। बलिया देशद्वारा कमजोर देशको आन्तरिक मामिलामा हस्तक्षेप बढिरहेको छ। त्यहीं क्षेत्रीय विवादले मानव अस्तित्वको परिकल्पना खण्डित गरेको छ जसबाट विश्वमा असन्तुलनको स्थिति सिर्जना भएको छ।
निष्कर्षतः हामी के पाउँछौं भने यी तमाम चुनौती र विवादका बीच पनि मानव अस्तित्व आपूmलाई जोगाउन धेरै हदसम्म सफल हुन सक्छ। विश्वविख्यात फ्रान्सेली लेखक विक्टर ह्युगोले भनेका थिए–“जुन कुरोमाथि विचार गर्ने समय आइसकेको छ, त्यसलाई कसैले पनि पाखा लगाउन सक्दैन।” अर्थात् मानिसले आफ्नो अस्तित्व जोगाउन एकसाथ सम्पूर्ण विश्वलाई मालाको रूपमा गाँसेर विश्वशान्तिको सन्देशसहित भाइचारा, आपसी सौहार्द, न्यायोचित वितरण, प्रकृतिसँग लगाव, मानवप्रति प्रेम आदि मापदण्ड अँगालेर आफ्नो अस्तित्व र आउने पीढीको लागि एउटा सुरक्षित भविष्य तयार गर्नुपर्ने हुन्छ। अनि मात्र हामी धेरै हदसम्म आफ्नो अस्तित्व जोगाउन सक्छौं। यस परिवेशमा सबैले स्मरण गर्नुपर्ने कुरो के हो भने–“सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया/सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःख भागभवेत्।” अर्थात् सबै सुखी होऊन्, सबै निरोगी होऊन्। सबैको कल्याण होस् र कोही दुःखको भागी नबनोस्।