प्रस, वीरगंज, ८ असार/

नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका आठ जिल्ला शाखाले शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै शुक्रवार राति जारी भएको निर्वाचन तालिकामा आफ्ना शाखाहरूमा निर्वाचन हुन नसक्ने जानकारी गराएका छन्।

सप्तरीका अध्यक्ष श्रवणकुमार देव, सिराहाका अध्यक्ष मनोजकुमार वनैता, सर्लाहीका अध्यक्ष टङ्कबहादुर क्षत्री, रौतहटका अध्यक्ष प्रेमचन्द्र झा, बाराका अध्यक्ष रेशम तिवारी, पर्साका अध्यक्ष अनुप तिवारी, महोत्तरीका सचिव राजकरण महतो र धनुषाका सचिव वटुकनाथ झाले नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समितिले हिजो राति जारी गरेको निर्वाचन तालिकासँगै मतदाता नामावलीप्रति गम्भीर आपत्ति जनाएका छन्।

उनीहरूले जिल्ला शाखाहरूले सार्वजनिक गरिएको निर्वाचन तालिकामा विधानअनुरूप जिल्ला, प्रदेश र केन्द्रको मनोनयन कार्यक्रम तथा समयावधिको समेत पालना नगरिएको बताए।

महासङ्घको सुर्खेत साधारणसभाले सदस्यता शुद्धीकरण गर्न समिति बनाउँदै जिल्ला शाखाहरूलाई निर्देशन दिएको र सोहीअनुरूप देशभरका शाखाहरूले विभिन्न तनाव खेपेर सदस्यता शुद्धीकरण गरेर पठाएको तर केन्द्रले आफूखुशी सदस्यता थप गरी निर्वाचन समितिलाई सदस्यता नामावली बुझाएकोमा विधानको बर्खिलाप भएको आरोप लगाएका छन् । उनीहरूले अध्यक्ष र महासचिव समग्र संस्थाभन्दा माथि रहेको र निरङ्कुश बनेको आरोप पनि लगाएका छन् ।

आफूहरू निर्वाचनको चाहनामा रहेको तर केन्द्रले बलजफ्ती थपेका नामहरू हटाउनुपर्ने, जिल्ला र प्रदेशले गरेका शुद्धीकरण मान्य हुनुपर्ने र यी मागहरू सम्बोधन भएपछि मात्र निर्वाचनको तालिका प्रकाशित गरिनुपर्ने अन्यथा शाखामा निर्वाचन हुन नसक्ने चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here