राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को छिपहरमाई गाउँपालिकामा भेला सम्पन्न भएको छ। रास्वपा पर्साका क्षेत्रीय सभापति जीतेन्द्र मिश्रको अध्यक्षतामा भएको भेलाको केन्द्रीय सङ्गठन विभागका प्रमुख शङ्कर श्रेष्ठले उद्घाटन गरेका थिए।
भेलामा केन्द्रीय सङ्गठन विभागका प्रमुख श्रेष्ठले रास्वपाप्रतिको बढ्दो जनसहभागिताले विपक्षी दलहरू अत्तालिएको बताए। उनले प्रारम्भिक अवस्थामा नै प्राप्त जनविश्वास अकल्पनीय रहेको बताए।
उनले यथावस्थामा पार्टीले प्रगति गर्दै जाने हो भने आगामी निर्वाचनमा एकल बहुमतका साथ सरकार बनाउने दाबी गरे। उनले अहिले समीकरणको सरकारमा सहभागी छौं र चारवटा मन्त्रालय पाएका छौं, आगामी निर्वाचनमा बहुमतका साथ सबै मन्त्रालयको बागडोर सम्हाल्नेछौं दाबी गरे। उनले आफ्नो पार्टीको मूलमन्त्र सुशासन रहेको र भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध पार्टीले सशक्त आवाज उठाउने बताए।
पर्सा संयोजक हरि पन्तले पार्टीप्रतिको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने बताए। उनले पर्साका १४ वटै स्थानीय तहमा सङ्गठन विस्तारलाई तीव्रता दिने जानकारी दिए।
पन्तले भने–“हामीले सुशासनको कुरा उठाइरहँदा हाम्रो काममा पनि प्रश्न उठ्न दिनुहुँदैन।” भेलामा मधेस प्रदेश शिक्षा विभाग प्रमुख शम्भु कँडेल, उपप्रमुख चन्द्रबहादुर पटेल, रास्वपा सङ्गठन विभाग मधेस प्रदेशका उपप्रमुख प्रमोद रायमाझीलगायतले मन्तव्य व्यक्त गरेका थिए।
भेलाले उमेश यादवको अध्यक्षतामा ११ सदस्यीय पालिका कमिटी गठन गरेको छ। कमिटीको उपाध्यक्ष बृजकिशोर यादव, सचिव मनबोध यादव, कोषाध्यक्ष सनोज महतोलगायत छन्।