-बैधनाथ श्रमजीवी

संसारको कुनै पनि व्यक्ति, समाज वा देश सबैलाई यतिबेला हामी दुई अवस्थामा भेट्छौं। पहिलो सफल व्यक्ति सफल समाज वा सफल देशको रूपमा, दोस्रो असफल व्यक्ति, असफल समाज वा असफल देशको रूपमा। संसारमा भएका २०० देशमध्ये थोरै सफल देशका रूपमा रहेका छन् भने प्रायः धेरै देश असफलरूपमा देखिन्छन्। वास्तवमा मानवसमाजभित्र देश बनेकै नागरिकको सर्वाङ्गीण विकासको लागि हो। तर जुनस्तरमा उनीहरूको विकास हुनुपर्ने हो, त्यो स्तरमा उनीहरूको विकास हुन सकेको छैन। यस्ता असफल देशहरूमा त्यहाँका नागरिकहरूलाई जीवनका नैसर्गिक कुराहरूको पहुँचसम्म पनि उनीहरू देखिंदैनन्। गाँस, बास, कपास, शिक्षा र स्वास्थ्य जस्ता महत्वपूर्ण आधारभूत कुराहरूबाट वञ्चित रहेका देशहरू के कारणले यस्तो अवस्थामा आएका छन् ? यो संसारमा किन कोही सफल र कोही असफल देशको रूपमा देखिरहेका छन् ? समाज होस् वा व्यक्ति सफल वा असफल हुनुको कारण के हो ? आउनुस् यसबारे थोरै चर्चा गरौं।

प्रत्येक सफल व्यक्तिको जीवनमा कुनै न कुनै सफल व्यक्तिको प्रेरणाको प्रभाव परेको देखिन्छ। प्रत्येक व्यक्तिले प्रत्येक क्षेत्रमा आफूभन्दा पहिलेको पीढीले गरेका अनुभूतिहरूको अनुकरण गरेर त्यसभन्दा अगाडि बढेपछि सफल हुन्छ। प्रायः सफल मानिसहरू शुरूमा सामान्य मानिस नै हुन्छन् तर जब उसले आफ्नो जीवनमा एउटा ठोस लक्ष्य निर्धारण गर्छ, जुन लक्ष्य विज्ञानसम्मत र व्यावहारिक हुन्छ अनि त्यसै लक्ष्यको बारेमा दिनरात सपना देख्ने गर्छ र त्यसको प्राप्तिको लागि कडाभन्दा कडा परिश्रम गर्न पछि हट्दैन। आफ्नो लक्ष्यमा पुग्नको लागि निरन्तर आफ्नो योग्यतालाई परिमार्जित गर्दै लान्छ र आफ्नो बानीहरूलाई सुधार्दै लग्छ। कुनै पनि निर्णय गर्दा हतारमा निर्णय नगर्ने र निर्णय गर्नुभन्दा पहिले त्यससँग सम्बन्धित सबै पक्षहरूमा ध्यान दिने तथा एकचोटी निर्णय गरिसकेपछि त्यसको कार्यान्वयनमा लागिपर्ने गरेर मात्रै सफलता प्राप्त गर्न सकिन्छ। सफल हुनको लागि केवल सुख सुविधा तथा आफू अनुकूलको वातावरण पाएपछि मात्रै काम गर्ने सोचले सफलता हासिल हुन सक्दैन।

वास्तवमा यसको लागि प्रतिकूल अवस्थाहरूमा पनि काम गर्न सक्ने मनोविज्ञानको विकास गर्न जरूरी छ। जुनसुकै अवस्थामा पनि आफ्नो लक्ष्यमा अविछिन्न रूपले लागिराख्ने  आत्मबल हुन जरूरी छ। सफलताहरूको पनि एउटा क्रमबद्धता हुन्छ। सानोसानो काममा सफल हुँदै गएपछि ठूलाठूला काममा पनि सफल हुन सकिन्छ। यसको लागि धैर्यको पनि निकै ठूलो भूमिका हुन्छ। जीवनमा आइपर्ने सानादेखि ठूलासम्म चुनौतीहरूको सजिलै सामना गर्ने मनोविज्ञान आफूभित्र विकास गर्नुपर्छ। चुनौतीसँग लडेर नै कुनै पनि व्यक्ति आफ्नो लक्ष्यमा पुगेको देखिन्छ। एकचोटी लक्ष्य निर्धारण गरिसकेपछि त्यो बाटोमा समर्पित भएर परिश्रमपूर्वक लागि सकेपछि शिखरमा नपुगेसम्म पटकपटक हामीले कहाँसम्म आइपुग्यौ के कति सफल हुँदै गइरहेछौ भन्ने कुराहरूको पनि आवधिक मूल्याङ्कन गरेर अगाडि बढ्न जरूरी हुन्छ। यदि हामी यस्तो गर्दैनौं भने वास्तवमा हामी सफल भइरहेछौं कि असफल भइरहेछौ भन्ने कुराको जानकारी नै पाउदैनौं। यस्तोमा हामी सफल हुने सम्भावना कम र असफल हुने सम्भावना बढी हुन आउँछ। कुनै पनि काम गर्दा गलती हुनु स्वभाविक कुरा हो। तर त्यही काम गर्दा पटकपटक उस्तै गल्ती दोह–याउनुलाई स्वभाविक मान्न सकिंदैन। त्यसैले सफल हुनको लागि आफूले गर्ने गरेको कामको मूल्याङ्कन गर्दा देखिएका कमी कमजोरीहरू आगामी दिनमा फेरि पनि नदोहोरियोस् भन्ने हेक्का राख्न जरूरी छ। एउटा सफल मानिस तबमात्र बन्न सकिन्छ, जब आफ्नो गलतीहरूलाई सुधार्न तथा स्वीकार्न आँट गर्न सक्छ। जहिले पनि गलतीहरूबाट सिक्ने पनि गर्नुपर्छ।

वास्तवमा सफलता नदीको एउटा किनारा हो भने अर्काे किनारा असफलता हो। यी दुवै सँगसँगै हुन्छन्। त्यसकारण असफलता हुने जति पनि कुराहरू छन् त्यसको बडो मसिनो तरीकाले मूल्याङ्कन गर्ने तथा काम गर्दै जाँदा भए गरेका त्रुटिहरूलाई निरन्तर सच्याउने र त्यसबाट शिक्षा लिएर आफ्नो ज्ञान तथा अनुभवलाई झन परिस्कृत गर्ने कुरामा बरू गम्भीरतापूर्वक ध्यान दिन जरूरी हुन्छ। प्रत्येक अवस्थामा जीवनले भोग्ने व्यवहारहरू सकारात्मक र नकारात्मक घटनाहरूको घुइँचोहरूको बीचबाट गुज्रिरहेको हुन्छ। यस्तोमा हामीले जहिले पनि सकारात्मक कुराहरू आफूभित्र बढी राख्ने तथा नकारात्मक कुराहरू न्यून गर्दै लग्ने बानीको विकास गर्न जरूरी छ। नकारात्मक कुराहरू बढी लियो भने मनभित्र निराशाको भावहरू मात्रै धेरैजसो उत्पन्न भइरहन्छ। र, त्यसले सफलताभन्दा पनि असफलताको बाटोतिर डो–याउने गर्छ।

यसकारण जुन बेला पनि जस्तोसुकै अवस्थामा पनि सकेसम्म सकारात्मक भावमै आफूलाई राखेर अगाडि बढ्ने गर्याै भने निसन्देह हामी सफलताको शिखरसम्म पुग्छौं। कुनै पनि व्यक्ति सफल हुनको लागि उसको जीवन चुनौती रूपी काँडाले भरिएको हुन्छ। फूलैपूmल ओच्छाइएको संसारमा कुनै बाटो छैन। जसबाट हिंडेर हामी आफ्नो गन्तव्यमा जान सक्छौ। यदि त्यो बाटो छ भनेर कोही भन्छ भने तपाईं बुझ्नुस् त्यो पतनको बाटो हो। जसले हामीलाई हाम्रो अस्तित्वबाट विमुख गरी हामी छौं कि छैन भन्ने कुरामासमेत प्रश्नचिह्न खडा गरिदिन्छ। यसकारण सकारात्मक भावलाई जति धेरै आफूभित्र भर्न सकियो त्यति धेरै हामी सफल हुन सक्छौ। प्रत्येक चुनौतीहरू हाम्रो कार्य योजनामा आएकै सफलताको बाटो तयार पार्नको लागि हो। यसप्रकारको सकारात्मक सोच राखेरै एउटा सामान्य मानिस बुद्ध बनेको हामी देख्छौ। पढ्न लेख्नमा त्यति धेरै रूचि नभएको सुस्त प्रकृतिको आइन्स्टाइन संसारको सुपरजिनियस मानिसको रूपमा सफल भएको देखिरहेका छौं। त्यसकारण चुनौतीबाट आत्तिनु हुँदैन। स्टिफिन हकिङ्स जस्तो ठूला वैज्ञानिक जसको जीवनको तीन दशकभन्दा बढी समय हिवलचेयरमै प्यारालाइस भएर बित्यो तर त्यो अवस्थामा पनि उनले अत्यन्त सकारात्मकताका साथ आफ्नो खोजी कामलाई जारी राखेर यो ब्रह्माण्डमा ईश्वर छैन, ईश्वरको कुनै आवश्यकता नै छैन जस्तो निष्कर्षहरू निकाले। त्यति मात्र होइन ताराहरू कसरी जन्मिन्छन्, कसरी मर्छन्, ब्ल्याक होल के हो, ब्रह्माण्ड के हो र कसरी बन्यो, पृथ्वीको भविष्य के छ र हामी मानवले के गर्नुपर्छ जस्ता महत्वपूर्ण कुराहरूमा उनले १० वटा भविष्यवाणी नै गरे। संसारका सबै सफल व्यक्तिहरू चाहे तिनी वैज्ञानिक हुन् वा दार्शनिक,  खेलाडी हुन् वा गायक,  कवि हुन् वा समाजसेवी सबैको जीवनको शुरूआत बाल्यकालदेखि नै हुने गरेको छ। यसर्थ बालबालिका राम्रो भए समाज राम्रो हुन्छ र बालबालिका खराब भए समाज खराब हुन्छ भन्ने कुरा सबैले बुझ्न जरूरी छ।

प्रत्येक व्यक्तिको बाल्यकालमा प्रायः सबै अभिभावकहरूको चाहना हुन्छ आफ्नो सन्तान सबैभन्दा राम्रो होस्। प्राकृतिकरूपमा पनि सन्तानप्रति विशेष रूचि हुनु मानवको जैविक स्वभाव हो। मानव जीवनको महत्वपूर्ण सुखको रूपमा सन्तान सुखलाई पनि मानिन्छ। हाम्रा पुर्खाहरूले भन्ने गर्थे– सन्तानहीन व्यक्तिको लागि स्वर्गको ढोका सधैं बन्द रहन्छ। त्यसैले मानव जाति सदैव सन्तान प्राप्ति तथा सन्तानको भलाइका लागि बडो गम्भीर तथा संवेदनशील भएर सोच्ने गरेको पाइन्छ। यही लोभको कारण मानव जाति फल्दैफुल्दै प्रत्येक पीढीभन्दा नयाँ पीढी निरन्तर विकसित हुँदै आएको छ। तर यति बेला आमनागरिकको लागि सबैभन्दा ठूलो चिन्ताको विषय नै सन्तानको भविष्य बन्न गएको छ। वर्तमान अवस्थामा नेपाली समाजभित्र देखिएको उद्दण्डता, अराजकता, अपराधीकरण, अनैतिकता तथा व्यभिचारले गर्दा प्रत्येक अभिभावकमा सन्तानप्रति गहिरो चिन्ता देखिन थालेको छ। समाजको प्रत्येक तहतप्कालाई लाग्दछ उसको सन्तान राम्रो हुने हो कि होइन। बढ्दो सामाजिक असुरक्षा तथा लागू औषधिजस्ता कारोबारले युवा शक्तिको भविष्य बेरोजगारी र आकासिंदो महँगीको डरलाग्दो कालो बादलभित्र निस्सासिने अवस्थामा पुगेको छ। अभिभावकहरूको सन्तान राम्रो बनोस् भन्ने सदिच्छा यति खेर न समाजभित्रको वातावरणबाट पूरा हुने अवस्था छ, न राज्यले अख्तियार गरेको बालबालिका नीतिबाट नै। कतैबाट पनि बालबालिकाको भविष्य राम्रो नदेखिएपछि अभिभावकमा विशेष चिन्ता हुनु स्वाभाविकै हो। मानव जीवनको सफलता तथा असफलताको लागि यतिबेला पैसाले सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको छ। पैसाको अभावमा न त बालबालिकालाई राम्रो शिक्षा दिन सकिन्छ, न उसलाई भविष्यमा आफ्नो खुट्टामा उभिनसक्ने दक्ष जनशक्तिको रूपमा तयार गर्न सकिन्छ। देशमा बढ्दो गरिबी तथा बेरोजगारी र महँगीले बालबालिकाको भविष्य सबैभन्दा बढी चुनौतीपूर्ण बनाइदिएको छ।                 बालबालिकालाई दक्ष बनाउन पैसाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। तर पैसा नै सबैथोक होइन सफलताको लागि यो पनि हामीले बुझ्न जरूरी छ। किनकि उपयुक्त वातावरणको अभावमा हामीले थुप्रै धनवानका छोराछोरी पनि उद्दण्ड, अनुशासनहीन तथा कुलतमा फसेको देख्छौं। यसर्थ पैसा मात्र भएर छोराछोरी राम्रो बन्ने भनाइ आंशिक रूपमा मात्र सत्य हो। वास्तवमा परिवारभित्रको वातावरणले पनि बालबालिकाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। पैसाको सदुपयोग भएन भने यसबाट केटाकेटीहरू सप्रिनुको साटो बिग्रने सम्भावना नै बढी रहन्छ। यसर्थ के कति कुरामा अभिभावकले समय दिन सके आफ्ना बालबालिकालाई असल नागरिक तथा दक्ष जनशक्ति बनाउन सकिन्छ भन्ने बारे थोरै चर्चा गरौं।

बाल मनोविज्ञानले भन्छ परिवार नै बालबालिकाहरूको पहिलो पाठशाला हो। अर्थात जीवनका महत्पपूर्ण कुराहरू प्रत्येक व्यक्ति आफ्नो परिवारबाट नै सिक्ने गर्दछ। त्यसैले परिवारका सदस्यहरूले बालबालिकाहरूसँग कस्तो व्यवहार गर्ने, कस्तो व्यवहार नगर्ने भन्ने कुरा बुझ्न जरूरी छ। केटाकेटीहरूलाई कोरा कागज पनि भन्ने गरिन्छ। यस अर्थमा केटाकेटीहरूलाई अभिभावकहरूले जस्तो चाहन्छन् त्यस्तै बनाउन सक्छन्। वास्तवमा केटाकेटीहरू स्वभावले बढी जिज्ञासु हुन्छन्। उनीहरूको आँखामा पर्ने प्रत्येक चीज के हो भन्ने जिज्ञासा उत्पन्न हुन्छ, फलस्वरूप उनीहरू अभिभावकलाई प्रश्नको ओइरो लगाइरहन्छन्। बालबालिकाको यस्तो जिज्ञासु स्वभावबारे अनभिज्ञ अभिभावकले बालबालिकासँग झर्केर प्रस्तुत हुने, उस्तै परे कुटपिट समेत गर्ने गरेको देखिन्छ। यस्तो कार्यले गर्दा बालबालिका भविष्यमा डरछेरूवा हुने, आफ्नो कुरा राख्न नसक्ने, नेतृत्व गर्ने क्षमता हराउँदै जाने, विश्लेषण व्याख्या गर्न नसक्ने, तर्क गर्ने क्षमताको कमी भएको अनुभूति गर्ने आदि दुर्बलताको शिकार हुन पुग्छन्। त्यसैले बालबालिका प्रत्येक जिज्ञासाको समाधान अभिभावकले सही र चित्त बुझ्नेगरी मायालु तरिकाले दिनुपर्छ, जसले गर्दा भोलि उनीहरूले झन् धेरै जिज्ञासा प्रकट गर्न सकून्।

बाल मनोवैज्ञानिकहरू बालबालिकालाई फोटोकपी अर्थात जस्ताको त्यस्तै नक्कल गर्ने भनी चित्रण गर्छन्। कुरा सही पनि हो, बालबालिकाहरू कुनै पनि चीज तुरून्त टिप्छन् अर्थात नक्कल गर्न सिपालु हुन्छन्। यस मनोविज्ञानलाई अभिभावकहरूले आत्मसात गर्नुपर्छ। बालबालिकाको अगाडि झगडा गर्ने, अपशब्द प्रयोग गर्ने, धूमपान वा मद्यपान गर्ने, झूटो बोल्नेजस्ता कार्य कदापि गर्नु हुँदैन। अभिभावकहरूले बाल मनोविज्ञानलाई राम्ररी नबुझ्ने गरेका हुनाले त्यस्ता सम्पूर्ण घटनालाई बालबालिकाले जीवनशैलीमा उतार्ने सम्भावना बढी रहन्छ। बालबालिकाले अभिभावकलाई बडो नजिकबाट हेरिरहेका हुन्छन्। उनीहरू प्रत्येक घटनाबाट प्रभावित हुन्छन् र प्रत्येक घटनामा अभिभावकको प्रेरणा खोज्छन्। तर यस्तो कुरा अभिभावकहरूले नबुझिदिंदा बालबालिका अनावश्यक मानसिक तनावबाट गुज्रन्छन्। बालबालिकालाई गाली गरेर वा पिटेर तह लगाउन खोज्नु सर्वथा मूर्खता हो। यो कुरा अभिभावकहरूले बुझ्नुपर्छ। विद्यालयमा बालबालिका पाठ्यपुस्तकमा पढ्ने गर्छन्– नङ पाल्नुहुँदैन, धूमपान गर्नुहुँदैन, सानालाई माया ठूलालाई आदर गर्नुपर्छ, खाना खाएपछि दिउँसो र राति ब्रशले दाँत सफा गर्नुपर्छ आदि। तर जब ऊ घरमा जान्छ, अभिभावकलाई एक चोटी मात्र दाँत सफा गर्ने गरेको, नङ पालेको, साबुनपानीले हात नधोई खाना खाने गरेको तथा धूमपान गर्ने गरेको देख्छ अनि भ्रमित हुन्छ। किताबको कुरा ठीक वा अभिभावकले गरेको ठीक छुट्याउन गा–हो पर्छ। बालबालिकाले अभिभावकलाई नै मोडेल मान्ने गरेका हुनाले सोही अुनसार नक्कल गर्ने गर्दछन्। त्यसैले यस्ता कुराहरूलाई अभिभावकहरूले गम्भीरतापूर्वक ध्यान दिन जरूरी छ। भविष्यमा यिनै कुराहरूले ती बालबालिकालाई सफल व्यक्तिको रूपमा स्थापित गर्न जगको रूपमा काम गर्नेछ। हामीले केटाकेटीलाई केवल केटाकेटी मात्र बुझ्नु हुँदैन वास्तवमा प्रत्येक बच्चा मान्छेको बुबा हो। त्यसैले बच्चा राम्रो भएमा समाज राम्रो हुन्छ, यसमा कुनै दुर्ई मत छैन।

अब प्रश्न उठ्छ बच्चा कसरी राम्रो हुन्छ। बच्चालाई राम्रो बनाउन व्यक्ति परिवार समाज र राज्य यी तीनवटाले महत्वपूर्ण भूमिका खेल्नुपर्छ। यी तीनवटैको योजनाबद्ध नीति सही छ भने मात्रै त्यो समाजमा जन्मेका सबै बच्चाहरू सफल मानिसको रूपमा भविष्यमा देखिनेछन्।

यतिबेला हाम्रो देशमा बच्चाहरू किन सफलता प्राप्त गरेको देखिंदैन ? जति धेरै पैसा खर्च गरेर पढाए पनि नपढाए पनि किन सबैको गन्तव्य विदेश मात्रै हुँदै गएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here