आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर आठको खेलमा अस्ट्रेलियाले बङ्गलादेशलाई २८ रनले पराजित गर्दै विजयी भएको छ। नर्थ साउन्डमा भएको उक्त खेल पानी परेर अवरुद्ध भएपछि डकवर्थ एन्ड लुइस
(डिएलएस) पद्धतिका आधारमा अस्ट्रेलिया विजयी भएको हो। टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १४० रनको योगफल बनाएको थियो।
१४१ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलिया ११ दशमलव दुई ओभरको खेल चलिरहँदा पानी परेपछि खेल प्रभावित बनेको थियो। त्यति बेला अस्ट्रेलियाले दुई विकेट गुमाएर १०० रन बनाएको थियो। त्यसपछि पानी नरोकिएपछि डिएलएस मेथडका आधारमा अस्ट्रेलियालाई विजयी घोषणा गरिएको हो।
अस्ट्रेलियाका लागि डेभिड वार्नरले ३५ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा अविजित ५३ रन बनाएका थिए। त्यस्तै, ट्राभिस हेडले २१ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ३१ रन बनाएका थिए।
त्यसअघि पहिला ब्याटिङ गरेको बङ्गलादेशका कप्तान नजमुल ह्दोय शान्तोले सर्वाधिक ४१ रनको योगदान दिए। उनले ३६ बलमा पाँच चौका र एक छक्का प्रहार गर्दै ४१ रन बनाएका थिए। त्यस्तै, तोहिद ह्दोयले २८ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ४० रन बनाए। बलिङतर्फ अस्ट्रेलियाका प्याट कमिन्सले तीन विकेट लिए भने एडम जाम्पाले दुई तथा मिचेल स्टार्च, मार्कस स्टोइनिस र ग्लेन म्याक्सवेलले समान एक/एक विकेट लिए।