पर्सा जिल्लामा चालू आवमा असारे विकास भएको देखिएको छैन। गत वर्ष असार महीनामा धमाधम विकास निर्माणका कार्यहरू हुने गरेका थिए।
महानगर, तीनवटा नगरपालिका र १० वटा गाउँपालिका गरी १४ वटा पालिकामा अहिले असारे विकासको काम प्रायः ठप्प छ। यसो हुनुको कारण सङ्घ सरकारले २५ प्रतिशत अनुदान सहयोग कटौती गरेको र प्रदेश सरकारले अनुदान सहयोग नपठाएकोले हो।
१४ वटै पालिकामा अनुदान सहयोग कटौती भएको कारण असारे विकास रोकिएको छ। ठोरी गापाका अध्यक्ष लालबहादुर श्रेष्ठले सङ्घ सरकारले दिने अनुदान सहयोगको आधारमा चालू आवमा विकास निर्माणका काम सम्पन्न भएको तर अनुदान सहयोग कटौती भएको हुँदा साढे तीन करोड रुपैयाँ भुक्तानी बाँकी रहेको बताए। उनले अन्य पालिकाको अवस्था पनि यस्तै रहेको बताए।
वीरगंज महानगरपालिकाले पनि करोडौं रुपैयाँ भुक्तानी दिन बाँकी छ। ठेकेदारहरू अहिले भुक्तानीको लागि दौडधूप गरिरहेका छन्। तर वीरगंज मनपासँग भुक्तानी गर्ने रकम नहुँदा समस्या भएको छ। सङ्घ सरकारबाट पाउने अनुदान सहयोगमा कटौती भएपछि सबैभन्दा बढी अनुदान सहयोग पाउने महानगरलाई आर्थिक सङ्कट परेको हो।
प्रदेश सरकारले घोषणा गरेको रु २५ करोड पनि पठाएको छैन। यही कारणले अहिले महानगरले यथार्थपरक बजेट ल्याउने जमर्को गरेको छ तर चालू आवको दायित्व अर्को आर्थिक वर्षमा पूरा गर्दा महानगरले आगामी वर्ष पनि विकास निर्माणका कार्यहरू आशाप्रदरूपमा गर्न सक्ने सङ्केत देखा परेको छैन। यद्यपि वडाध्यक्षहरूको विरोधका कारण १ देखि ३२ वडासम्म चालू आवको विनियोजित बजेटमा ३८ प्रतिशत थप गरेर आगामी वर्ष बजेट दिने निर्णय भएको छ। तर पछिल्लो दायित्व नै थुप्रै भएकोले चालू आवसरह पनि वडाहरूलाई बजेट विनियोजन हुने सङ्केत देखिएको छैन।
बजेट नभएपछि थप ३८ प्रतिशत बजेट वडापालिकाले पाउने सम्भावना कम छ। गत आवमा असार महीनामा विकास निर्माण कार्य धमाधम भएका थिए। सडक, नालालगायतका कामहरूले गति पाएका थिए।
यसपटक पर्सा जिल्लाका १४ वटै पालिकामा असारको पहिलो साता बित्न लाग्दा पनि छिटपुटबाहेक विकास निर्माण कार्य हुन सकेको छैन।