मुम्बई, ६ असार/एएफपी

भारतमा विषाक्त अवैध रक्सीको सेवनबाट कम्तीमा ३४ जनाको ज्यान जानुका साथै एक सयभन्दा बढीलाई अस्पताल भर्ना गरिएको तमिलनाडु राज्यका अधिकारीले बिहीवार सञ्चारमाध्यमलाई जानकारी गराएका छन्।

स्थानीयरूपमा उत्पादन गरिएको उक्त पेय पदार्थ घातक मिश्रण विषाक्त मेथानोलले भरिएको मुख्यमन्त्री  स्टालिनलाई उद्धृत गरी पिटिआईले जनाएको छ।

घटनामा दोषी भनिएका आरोपितलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरू गरेको मुख्यमन्त्री स्टालिनले बताए। अपराधले समाजलाई बर्बाद गर्ने बताउँदै यस्ता घटनामा संलग्न सबैलाई कडा कानूनी कारबाई हुने उनले बताएको मुख्यामन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

मदिराको शक्ति बढाउनका लागि रक्सीमा प्रायः मेथानोल मिसाइन्छ, जसले अन्धोपन, कलेजोको क्षति र मृत्युसमेत निम्त्याउन सक्छ।

घटनासँग सम्बन्धित १०० भन्दा बढी व्यक्ति अस्पतालमा भर्ना भएका राज्यको कल्लाकुरिची जिल्लाका शीर्ष सरकारी अधिकारी प्रशान्तलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

तमिलनाडुका राज्यपालले सामाजिक सञ्जाल एक्समा धेरै पीडितको स्वास्थ्य गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै मृतकप्रति गहिरो शोक व्यक्त गरे।

गत वर्ष पूर्वी भारतीय राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २७ जनाको मृत्यु भएको थियो भने सन् २०२२ मा गुजरातमा कम्तीमा ४२ जनाको मृत्यु भएको थियो। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here