पोखरामा जारी गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा कास्की र स्याङ्जा भिड्ने भएका छन्।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा बुधवार समूह ‘बी’को आफ्नो अन्तिम खेलमा नवलपुरलाई दुई विकेटले पराजित गर्दै स्याङ्जा फाइनलमा पुगेको हो। समूह चरणका तीनवटै खेल जितेको स्याङ्जा छ अङ्कसहित समूहको शीर्ष स्थानमा रहेर कास्कीसँगको फाइनल भेट पक्का गर्न सफल भयो।
घरेलु टोली कास्की समूह ‘ए’को विजेता बन्दै यस अघि नै फाइनलमा पुगिसकेको छ। प्रतियोगिताको फाइनल खेल भोलि बिहीवार हुने आयोजकले जनाएको छ। स्याङ्जासँगको खेलमा टस जितेर सुरुआतमा ब्याटिङ रोजेको नवलपुरले १७ ओभरमा सीमित गरिएको खेलमा १६ ओभरको चौथो बलमा सबै विकेट गुमाउँदै ७५ रन मात्रै बनाउन सक्यो।
खेलमा नवलपुरका लागि रिजन काफ्लेले ४५ बलमा ३० रनको योगदान दिए भने कमल परियारले २२ बलमा १८ रन मात्रै जोड्न सके। यस्तै, सुदीप अर्यालले १२ रनको योगदान दिए। स्याङ्जाका लागि ‘प्लेयर अफ दी म्याच’समेत रहेका सन्दीप खत्री क्षेत्री र अङ्कित न्यौपानेले समान दुई/दुई विकेट लिए।
खेलमा ७६ रनको लक्ष्य पछ्याएको स्याङ्जालाई जीतका लागि अन्तिम ओभर कुर्नुप–यो। स्याङ्जाले १६ ओभरको दोस्रो बलमा आठ विकेटको क्षतिमा ७९ रन बनाउँदै लक्ष्य भेट्टायो। स्याङ्जाका लागि अनिश ताम्राकारले १५ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै २२ रनको योगदान दिए। त्यस्तै, ईश्वर क्षेत्रीले २९ बलमा २१ रन बनाए भने प्रदीप पाण्डेले अविजित रहँदै ११ रन बनाए।
नवलपुरका लागि कमल परियारले चार ओभरको बलिङमा एक मेडन राख्दै १२ रन दिएर तीन विकेट लिन सफल भए। दीपक डुम्रेले तीन ओभरमा एक मेडनसहित छ रन दिएर दुई विकेट लिए। प्रदेश खेलकूद परिषद्को आयोजना तथा प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा यही जेठ ३२ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो।
प्रतियोगिताको विजेता टीमले नगद पुरस्कार रु एक लाख र उपविजेता टीमले नगद रु ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन्। प्रतियोगितामा आठ जिल्लाको सहभागिता थियो। प्रतियोगिताबाट आसन्न १०औं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि प्रारम्भिक टोली छनोट गरिने प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए।