वीरगंज महानगरमा रहेका फलफूल पसल, गोदामको स्थलगत निरीक्षण गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय पर्सा, वीरगंज महानगरपालिका, जिल्ला प्रहरी कार्यालय पर्सा, उपभोक्ता हकहित संरक्षण मञ्च, वाणिज्य कार्यालय, वीरगंज उद्योग वाणिज्य सङ्घलगायतको संयुक्त बजार अनुगमन टोलीले वीरगंजमा रहेका वरुण फ्रूट ट्रेडर्स, जगदम्बा फ्रूट सेन्टर, सङ्कटमोचन फ्रूट ट्रेडर्स, गणपति फ्रूट ट्रेडर्स, चाँदनी फ्रूट ट्रेडर्स र जयमाता दी फ्रूट सेन्टरमा निरीक्षण गरेको र केही फलहरू परीक्षणका लागि लिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वीरगंजका प्रमुख सुरेश सिंहले बताए। उनले केही नमूना सङ्कलन गरिएको र त्यसलाई परीक्षणका लागि पठाएको बताए। उनले परीक्षण रिपोर्ट प्रतिकूल आएको खण्डमा सोही अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने बताए।
खाद्य ऐन २०२३ तथा खाद्य नियमावली २०२७ को नियम १९ को उपनियम (घ)द्वारा प्रतिबन्धित कार्बाइड एसिटाइलिन ग्याँस फलफूल पकाउनको लागि प्रयोग गरिएको अनुगमनमा फेला नपरेको तर लुकीछिपी सो रसायनको प्रयोग गरिएको हुन सक्ने आशङ्कामा परीक्षणका लागि पठाएको बताए। अहिले आँपको मौसममा खासगरी काँचो आप चाँडो पकाउनका लागि कार्बाइड एसिटाइलिन ग्याँसको प्रयोग हुने गरेका सूचनाहरू आएको र सोबारेमा यकीन गर्नका लागि अनुगमन गरिएको प्रमुख सिंहले बताए। उपभोक्ताहरूले अखाद्य वस्तु खानु नपरोस् भनेर संयुक्त अनुगमन गरिएको उनले बताए।