ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले विद्यालयबाहिर रहेका किशोरीहरूको हकमा आसमान नेपालले आफ्नो पालिकामा प्रभावकारी कार्य गरेको बताएका छन्।
क्यापटिभेटिङ इन्टरनेशनल फाउन्डेशनको आर्थिक सहयोगमा आसमान नेपालले वीरगंजमा आयोजना गरेको वार्षिक समीक्षा बैठकमा उनले आफ्नो पालिकाको शिकारीवासमा आफू वर्षमा एकाधपटक पुग्ने गरेको तर आसमान नेपाल त्यहाँ पुगेर विद्यालयबाहिर रहेका किशोरीहरूलाई नौ महीनासम्म पढ्न सिकाएर केहीलाई विद्यालय भर्ना गराएको र केहीलाई रोजगारमा लगाएर उदाहरणीय काम गरेको बताए।
उनले जङ्गलभित्रको सो बस्तीका मानिसहरू अहिले तरकारीखेती गरिरहेका र उनीहरूको जीवनशैलीमा निकै परिवर्तन आएको बताए। बोलाइ, खानपिन, हिंड्डुल, लगाइ आदिमा सकारात्मक परिवर्तनका साथै खासगरी शिक्षामा उनीहरूको संलग्नता र अङ्ग्रेजी भाषाको समेत ज्ञान वृद्धि भएको आफूले महसूस गरेको उनले बताए। उनले ठोरीमा अन्य गैरसरकारी संस्थाको तुलनामा आसमान नेपालले प्रभावकारी कार्य गरेको दाबी गरे।
अरूले फोन र कागजबाट काम माग्दै आएकामा आसमान नेपालले ठोरीमैं नौ महीनासम्म सेन्टर सञ्चालन गरेर किशोरीहरूलाई सिकाइमा संलग्न गराएको बताए।
आसमान नेपालकी सहजकर्ता मालिका घतानीले जङ्गली जनावरको भयका साथै आफू किशोरी भएकोले शिकारीवासमा गएर त्यहाँका किशोरीहरूलाई भेला गरी सिकाइ, पढाइ गराउन निकै समस्या भएको अनुभव सुनाइन्। उनले सिकाइमा संलग्न हुने किशोरी र उनका अभिभावकहरू पनि शुरूमा नकारात्मक देखिएका तर पछि उनीहरूमा परिवर्तन आएको बताइन्। अहिले त्यहाँको अवस्थामा सुधार आएको उनले दाबी गरिन्।
कार्यक्रममा जीराभवानी गापाकी उपाध्यक्ष रेखा चौधरीले शिक्षाविना कुनै पनि क्षेत्रको विकास सम्भव नहुने बताउँदै आफ्नो पालिकामा विद्यालयबाहिर रहेका किशोरीहरूलाई सिकाइ कार्यक्रममार्फत आसमान नेपालले ठूलो परिवर्तन गरेर देखाएको बताइन्।
जीराभवानी गापाको कठक्युआ वसन्तपुर आधारभूत विद्यालयका प्रधानाध्यापक कृपासिन्धु पटवारीले विद्यालय नगएका र बीचमैं छाडेका किशोरीहरूलाई आसमान नेपालले विद्यालय पठाउन गरेको प्रयास निकै सराहनीय भएको बताए।
उनले आफ्नो विद्यालय रहेको टोल मुस्लिम बाहुल्य भएको र त्यहाँ अहिले पनि किशोरीहरू घरमा र बाहिर जाँदा बुर्का लगाउने गरेकामा यस्तो अवस्थाका किशोरीहरूलाई विद्यालयसम्म पु–याएर निकै प्रशंसनीय कार्य गरेको बताए। प्रअ पटवारीले आफूले दुई वर्षदेखि विद्यालय आउन निम्तो दिएका किशोरीहरू अहिले आसमान नेपालको प्रयासमा विद्यालय आएको भन्दै खुशी व्यक्त गरे।
समीक्षा गोष्ठीमा ठोरी गापाकी मैना सुनारले आसमान नेपालको सहयोगमा बंगुर पालन शुरू गरेको बताइन्। सिन्धुली माइत रहेको र बालावस्थामा विवाह भएपछि पाँच कक्षापछि पढाइ छाडेर घरजम गर्दा पढाइ छुटेको र अहिले आसमान नेपालको सहयोगमा पढाइका साथै रोजगार पनि प्राप्त भएको बताइन्।
कार्यक्रममा आसमान नेपालका कार्यकारी निर्देशक नवलकिशोर यादव, ठोरी गापाका प्रमुख प्रशासकीय अधिकृत धर्मदेव थापा, शिक्षा प्रमुख भुपालकुमार जोशी, जीराभवानी गापाका शिक्षा प्रमुख शिवराज फुँयाल, ठोरी गापाका वडाध्यक्ष शम्भु खड्का, जीराभवानी गापाका वडाध्यक्षद्वय महादेवमहतो थारू, रामशरणखवास थारू, नेरामावि सेढवाका प्रअ खेमराज महतो थारूलगायतले मनतव्य व्यक्त गरेका थिए।
कार्यक्रममा आसमान नेपाल कार्यक्रम प्रबन्धक सञ्जीव गुप्ताले सिकाइलाई निरन्तर गरौं, पालिकालाई पछाडि नपारौं भन्ने अभियानका साथ ठोरी र जीराभवानी गापामा स्कूल नगएका, बाहिर रहेका १०–१८ वर्ष उमेर समूहका किशोरीहरू लक्षित गरेर सिकाइ कार्यक्रम सञ्चालन गरेको बताए।
उनले ठोरीमा ८१ जना र जीराभवानीमा २४१ जनागरी ३२२ जना भेला गरेको र २७९ जनाले अहिलेसम्म निरन्तरता दिएको बताए। ४३ जना किशोरीहरू विवाह गरेर तथा रोजगारका लागि भारत गएको बताए। कार्यक्रमको सहजीकरण आसमान नेपालका धर्मेन्द्र चौरसियाले गरेका थिए।