वासुदेव पौडेल

गण्डकी, ४ असार/रासस

झन्डै ६५ वर्षअघि स्थापना भएको मोती पुस्तकालय पर्वत जिल्लाको मात्र नभएर देशकै सामाजिक जागरणको दियो बन्दै आएको छ। जिल्लाको फलेवास नगरपालिका–५ खानीगाउँमा २०१६ सालमा स्थापित यस पुस्तकालय स्थापनापश्चात् सामाजिक जागरण र सचेतनाको महत्वपूर्ण केन्द्रका रूपमा पहिचान मात्र बनाएको छैन, देशका अन्य पुस्तकालयका लागि पनि अनुकरणीय बनेको छ।

स्व मोतीप्रसाद लम्सालको स्मृतिमा शुरूमा घरको पिढीमा काठको फल्याकले बारेर एउटा कोठाबाट शुरू गरिएको यो पुस्तकालय अहिले सुविधासम्पन्न भवनमा व्यवस्थितरूपमा सञ्चालन भएको छ। २०६३ सालमा समसामयिक विषयका लेखनहरूको सङ्कलन ‘मोती’ प्रकाशन गरी सोही पुस्तक बिक्री र विज्ञापनबाट सङ्कलित नौ लाख रुपियाँसमेत गरी पुस्तकालयका लागि एक रोपनी जग्गा खरीद गरिएको थियो।

शुरूमा रिड नेपालले भवन निर्माणका लागि रु १३ लाख र फर्निचर तथा किताबका लागि रु पाँच लाख सहयोग गरेको पुस्तकालयका संस्थापक अध्यक्ष भोलानाथ शर्माले जानकारी दिए। उनका अनुसार २०६४/६५ सालमा भवन निर्माण शुरू गरी २०६९ सालमा १९ कोठे पक्की भवन निर्माण सम्पन्न भएको थियो। भवन निर्माणका लागि शिक्षा मन्त्रालयले रु ४५ लाख उपलब्ध गराएको लम्सालले जानकारी दिए। पुस्तकालयमा हाल २५ हजार पुस्तक रहेका छन्। पुस्तकालयका लागि पछि एक रोपनी जग्गासमेत थपिएकामा त्यहाँ शहरी विकास मन्त्रालयको रु ३० लाखको सहयोगमा अर्को १५० जना क्षमताको सभाकक्ष निर्माण भइरहेको उनले जानकारी दिए।

पुस्तकालय स्थापनासँगै यसले यस क्षेत्रमा शैक्षिक जागरणका साथै सामाजिक सचेतना अभिवृद्धिमा पनि विशिष्ट योगदान पुगेको उनको भनाइ छ। हरेक दिन बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुने यस पुस्तकालयमा दैनिक विभिन्न उमेर समूहका पाठकहरू आउने गरेका छन्। समाजमा पठन संस्कृति हराउँदै गएको बेला यस पुस्तकालयमा भने दैनिक ६०–६५ जनासम्म पाठक आउने गरेको पुस्तकालय व्यवस्थापन समितिका सचिव एवं लाइब्रेरियन इन्द्रप्रसाद सापकोटाले जानकारी दिए।

उनका अनुसार पुस्तकालयमार्फत नै पर्वत जिल्लाका १७० विद्यालयमा सामुदायिक विद्यालयमा ‘विद्यालय पुस्तकालय कार्यक्रम’ सञ्चालन गरिएको छ। ती विद्यालयमा पुस्तकालयका तर्फबाट आवश्यक साथ सहयोगसँगै समयसमयमा अनुुगमन तथा कार्यक्रमहरू सञ्चालन गरिएका छन्।

पर्वत जिल्लामा रहेका सामुदायिक तथा सरकारी विद्यालयमा पठन संस्कृतिको विकास गर्न यो कार्यक्रम सञ्चालन गरिएको सापकोटाले जानकारी दिए। पुस्तकालयले समयसमयमा सञ्चालन गर्दै आएको घुम्ती पुस्तकालय सेवा पनि समाजका लागि बहुउपयोगी बनेको छ। समाजमा पठन संस्कृतिको विकास गर्न पाठ्यसामग्री झोलाझोलामा राखेर पुस्तकालयमा आउन नसक्ने अशक्त व्यक्तिको घर र टोलमा जाने अभियानले सामाजिक जागरणमा विशेष टेवा पुुगेको छ।

पुस्तकालयमार्फत मोती सामुदायिक सिकाइ केन्द्र, प्राविधिक ज्ञान सेवा कार्यक्रम, मोती सामुदायिक पुस्तकालय महिला बचत तथा ऋण सहकारी सञ्चालन भएको छ। त्यस्तै, सुरक्षित आप्रवासन कार्यक्रम, मोती महिला सिलाइकटाइ उद्योगजस्ता विभिन्न कार्यक्रम सञ्चालन गर्दै सामाजिक सचेतना अभिवृद्धिमा पनि महत्वपूर्ण योगदान पु–याएको छ।

व्यवस्थित भवनसँगै पुस्तकालयमा विभिन्न कक्षहरू सञ्चालनमा रहेको पुस्तकालयका अध्यक्ष कृष्णराज पौडेलले जानकारी दिए। उनका अनुसार पुस्तकालय कक्षमा १२ वर्षदेखि माथिका विभिन्न उमेर समूहका नागरिकले भरपूर उपयोग गर्दै आएका छन्। यहाँको विद्युतीय पुस्तकालयमा एक सफ्टवेयरमा सात हजार पुस्तक राखिएका छन् भने कम्प्युटरहरू नेटवर्किङ गरी राखिएका छन्। पुस्तकालयको बालकक्षमा १२ वर्षसम्मका बालबालिकाका लागि खेल्ने सामग्रीसँगै बाल साहित्यका विभिन्न सामग्री राखिएका छन्।

महिला कक्ष राखिएको पुस्तकालयमा समुदायका महिलालाई कसरी पुस्तकालयमा ल्याउने भन्ने उद्देश्यका साथ विभिन्न तालीममा सहभागी गराउने गरिएको छ। यसैका माध्यमबाट महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका साथ २०७० सालमा २० रुपियाँ र २० जनाबाट सुरुआत गरिएको मोती पुस्तकालय महिला बचत तथा ऋण सहकारी सञ्चालनमा आइसकेको छ।

पुस्तकालयमा समुदायका महिलालाई ल्याएर उनीहरूलाई विभिन्न तालीममा सहभागी गराउने, दैनिकरूपमा पुस्तकालयमा आउने बानी बसाल्ने, आयआर्जनमा जोड दिने उद्देश्यका साथ सञ्चालित सहकारीमा हाल चार सयजना महिला आबद्ध छन्। यस संस्थाले डेढ करोड रुपियाँ बराबरको कारोबारसमेत गर्नुका साथै रु २२ लाख संंस्थाको शेयर पूँजी रहेको छ।

पुस्तकालयमा रहेको तालीम कक्ष यस क्षेत्रकै लागि बहुउपयोगी बनेको छ। यसले पुस्तकालयका कार्यक्रमसँगै फलेवास नगरपालिकाका विभिन्न कार्यक्रम सञ्चालन गर्दा आयआर्जनमा समेत सहयोग पुगेको अध्यक्ष पौडेलले जानकारी दिए। उनका अनुसार पुस्तकालयमा अनौपचारिक शिक्षा अन्तर्गत मोती सामुदायिक पुस्तकालय सिकाइ केन्द्र सञ्चालन गरिएको छ। केन्द्रमा नगरपालिकाको शिक्षा शाखाका कर्मचारीसमेत रहेका छन्। सिकाइ केन्द्रको कर्मचारीसहित पुस्तकालयमा चारजना कर्मचारी कार्यरत रहेका उनले जानकारी दिए।

रिड नेपाल र प्राक्टिकल एक्सनको सहयोग तथा मोती सामुदायिक पुस्तकालयको  व्यवस्थापनमा सञ्चालित प्राविधिक ज्ञान सेवा कार्यक्रमले समुदायका किसानका समस्या पहिचान गरी विज्ञसहितको टोलीले समस्या समाधान गर्ने भएकाले यसले समुदायमा राम्रो प्रभाव पारेको लाइब्रेरियन सापकोटाले जानकारी दिए।

पुस्तकालयकै प्रयासमा शुरू भएको मोती महिला सिलाइकटाइ उद्योग दलित, जनजाति, गरीब तथा सीमान्तकृत गृहिणी महिलालाई उद्यमशील बनाउने उद्देश्य राखिएको छ। शुरूमा १५ जना महिलालाई एडभान्स सिलाइकटाइ तालीम प्रदान गरी त्यसपछि मोती महिला सिलाइकटाइ उद्योगको रूपमा सञ्चालन गरिएको थियो। उद्योगमार्फत सेनेटरी प्याड तथा अन्य फेशनेवल सामग्री उत्पादन गर्न शुरू गरिएको छ। यसै कार्यक्रम अन्तर्गत एक हजार ३०० जना छात्र तथा महिला शिक्षिकालाई निश्शुल्क सेनेटेरी प्याड, रूमाल, साबुन, पेन्टी जस्ता सामग्रीका साथै सरसफाइसम्बन्धी जानकारी पुस्तिकासमेत वितरण गरिसकिएको उनले जानकारी दिए।

समुदायमा आयआर्जन गराउने उद्देश्य राख्दै पुस्तकालयले अगरबत्ती बनाउने, ज्योति कात्ने जस्ता तालीम प्रदान गर्दै आएको छ। समुदायमा आयआर्जनका लागि मुढा, कुसनहरू बनाउने तालीमसँगै टिसर्ट बनाउने जस्ता विभिन्न खालका प्रतियोगिता सञ्चालन गर्ने गरिएको छ।

पुस्तकालयमा मोती सामुदायिक पुस्तकालय सदस्यता विस्तार, आर्थिक सङ्कलन तथा अक्षयकोष अभियान सञ्चालन गरिएका छन्। मोती स्मृतिकोष अभियान अन्तर्गत स्व भाग्यकुमारी खनाल स्मृतिकोष जस्ता कोष स्थापना गरिएको छ। पुस्तकालयमार्फत मोती सामुदायिक पुस्तकालय पर्यावरण संरक्षण तथा सरसफाइ अभियान सञ्चालन गरिंदै आइएको छ। त्यस्तै, ट्यागगल्स कार्यक्रम सञ्चालन अभियान अन्तर्गत १२ देखि १५ वर्षका किशोरीहरूलाई प्रविधिमार्फत सशक्तीकरण गरी क्षमता अभिवृद्धि गराउने गरिएको छ। यस अभियानमा हालसम्म ११० जना सहभागी बनेका छन्।

पुस्तकालयको दिगो सञ्चालन एवं व्यवस्थापनका लागि विभिन्न अभियान तथा कार्यक्रम प्रभावकारी बनेका छन्। म्याचिङ फन्ड अभियान अन्तर्गत पुस्तकालयलाई दिगो सञ्चालनको लागि सियाटल अमेरिका बस्ने पुस्तकालयको संरक्षक सदस्य अमूल्य भट्टराई र यादवमणि भट्टराईले मासिक एक सय अमेरिकी डलर जम्मा गरी वार्षिकरूपमा जम्मा भएको एक हजार २०० डलरलाई माइक्रोसफ्ट कम्पनीमा ‘म्याचिङ’ गरी वार्षिकरूपमा दुुई हजार ४०० अमेरिकी डलर जम्मा गरिरहेका छन्।

दिनको एक रुपियाँ सहयोग अभियान यहाँको अर्को विशिष्टता हो। यस अभियानमार्फत समुदायमा रहेका व्यक्तिलाई पुस्तकालयमा जोडिनका लागि आह्वान गरिएको छ। यस अन्तर्गत जन्मोत्सव, श्राद्ध, चौरासी पूजा, चूडाकर्म, विवाह, न्वारन, सरकारी सेवामा जोडिंदा होस् वा बढुवा हुँदा स्वस्फूर्तरूपमा एक रुपियाँ दान अभियानमा अहिलेसम्म १६३ जनाबाट रु ९८ हजार आठ रुपियाँ जम्मा भएको छ।

लाइब्रेरियन सापकोटाका अनुसार पुस्तकालय सञ्चालनको लागि नियमित स्रोतको अवस्था नरहे पनि तालीम हलको भाडा, सदस्यता, म्याचिङ फन्ड, ब्याज, चन्दा, आर्थिक सहयोगसहित वार्षिक २० लाख रुपियाँसम्म आम्दानी हुने गरेको छ। पुस्तकालयमा कार्यरत कर्मचारीका तलब, मसलन्द, मर्मतसम्भार, विभिन्न कार्यक्रम सञ्चालनलगायतमा रु १६ लाख खर्च भई औसत चार लाख बचत हुने गरेको छ। अहिले पुस्तकालयको कुल सम्पत्ति रु एक करोड ७० लाख रहेको बताइएको छ।

नौ प्रकारका सदस्यता कायम गरेकामा कुल ९४८ जना सदस्य रहेको पुस्तकालयमा हाल ५३८ जना साधारण सदस्य, ३१९ जना आजीवन सदस्य, ८४ जना संरक्षक सदस्य, तीनजना विशिष्ट सदस्य, दुईजना मानार्थ संस्थापक सदस्य, एकजना प्रमुख संरक्षक सदस्य र एकजना मानार्थ स्वदेशी सदस्य छन्।

पुस्तकालयको हाल निर्माणाधीन सभाकक्ष समुदायका मानिसहरूले भूकम्पलगायतका विभिन्न प्राकृतिक विपत्तिका क्रममा उपयोगसमेत गर्न सक्ने उल्लेख गर्दै उनले उक्त स्थानमा पर्वत जिल्लामा प्रचलित लोपोन्मुख संस्कार, संस्कृति, प्राचीन ढिकी, जाँतो जस्ता सामग्रीसमेतको सङ्कलन गर्दै सङ्ग्रहालयसमेत निर्माण गर्ने अवधारणा अघि सारिएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here