निजगढ नगरपालिका–२ सिंगौलमा सोमवार दिउँसो करिब डेढ बजे आगलागी हँुदा पूर्णरूपमा घर जलेर क्षति भएको छ। स्थानीय लीलाधर सापकोटाको दुई तले कच्ची घर जलेको इलाका प्रहरी कार्यालय, निजगढले जनाएको छ।
भैंसीलाई खोले पकाउँदै गर्दा परालमा सल्केको आगोले घरमा आगलागी भएको जनाइएको छ। एक्कासि घरबाट आगोको मुस्लो निस्किएपछि स्थानीयले निभाउने प्रयास गरेका थिए। सिंगौलदेखि लगभग १० किलोमिटर पर रहेको निजगढस्थित सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन सुरक्षा बेस निजगढमा रहेको वारुणयन्त्रसहित सशस्त्र प्रहरी, इप्रका निजगढ, अस्थायी प्रहरी चौकी सिंगौलसहितका प्रहरी टोलीले आगोलाई नियन्त्रणमा लिने प्रयास गरे पनि नसकेको इप्रका, निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए।
घर, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्री जलेर पूर्णरूपमा नष्ट भएपनि मानवीय र पशुचौपाय क्षति नभएको प्रनि कुशवाहाले बताए। सुरक्षाकर्मी र स्थानीयहरूको सहयोगमा वरपरका घरहरूमा आगो लाग्न नदिन गरेको प्रयास सफल भएको प्रनि कुशवाहाले बताए। उनले आगलागी घटनामा करीब १५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको पनि उनले बताए।