प्रस, परवानीपुर, २ असार/

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सङ्घ र प्रदेश सरकारको भरमा स्थानीय तह चलाउन नसकिने बताएका छन्।

परवानीपुर गाउँपालिकाद्वारा वीरगंजमा आयोजित अन्तरस्थानीय तह समन्वय बैठकमा नगरप्रमुख सिंहले भने, “प्रत्येक वर्ष सङ्घ र प्रदेश सरकारको अनुदानको सिलिङ घट्दै गइरहेको छ। सशर्त अनुदानमा समेत यो नगर्नुस्, त्यो नगर्नुस् भनेर शर्त राखिएका हुन्छन्। तसर्थ ती सरकारको भर परेर बजेट निर्माण गर्दा स्थानीय तह चलाउन निकै गार्हो भएकोले स्थानीय तहले आन्तरिक स्रोत बलियो बनाइ आत्मनिर्भर बजेट ल्याउन पहल गर्नुपर्छ।”

स्थानीय स्तरबाट राजस्व र करको दायरा बढाउँदै विभिन्न क्षेत्र पहिचान गर्दै राजस्व सङ्कलनमा आत्मनिर्भर बन्नुपर्ने उनको सुझाव थियो। उनले त्रिभुवन राजमार्गसँग जोडिएका वीरगंज मनपा, परवानीपुर गापा र जीतपुरसिमरा उमनपामा टड्कारोरूपमा देखिएको समस्या श्रीसिया नदी प्रदूषण, कबाडी/सवारी कर असुलउपरमा अनियमितता एवं फरक दर, तीनवटै पालिकामा घर/नक्शा पासको शुल्क समान नहुनुलगायतका बुँदामा तीनवटै पालिकाले छलफल अघि बढाएर कर र नीतिमा एकरूपता अपनाएर जानुपर्ने सुझाव दिए।

जीतपुरसिमरा उमनपाका प्रमुख राजन पौडेलले घरबहाल कर पाँच प्रतिशत लिंदै आएकोमा आगामी वर्षदेखि वीरगंज र परवानीपुरसरह १० प्रतिशत लिने बताए। साथै प्रदूषण कर, मनोरञ्जन कर, सहकारी, बैंक तथा वित्तीय संस्थाहरूलाई समेत करको दायरामा ल्याउनुपर्ने उनको सुझाव थियो। घरबहाल कर सङ्कलनमा तीनवटै पालिका कडाइका साथ अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा परवानीपुर गापाका अध्यक्ष रामक्षेत्रीप्रसाद कुर्मीले राजस्व र करमा समानरूपले जानुपर्ने तथा तीनवटै पालिकाको सीमा क्षेत्र स्पष्ट पार्दै पछि परेका ठाउँहरूलाई विकास गर्न पनि तीनवटै पालिकाबीच सहकार्य एवं समन्वय हुनुपर्ने सुझाव दिए। उनले चैनपुरचोकदेखि सुखचैना गाउँसम्म परवानीपुर गापाको क्षेत्र पर्छ, त्यसपछि मनपाको सुखचैना र पटेलनगर जाने बाटो भए तापनि महानगरले त्यसमा बजेट खर्च नगरेको बताए। त्यसैगरी, परवानीपुर, ताजपुर, कोइरिया क्षेत्र मनपा क्षेत्रमा पर्छ तर भौगोलिक हिसाबले परवानीपुरले काम गर्नुपर्ने हो भन्दै त्यहाँ पनि ध्यान दिनुपर्ने उनले औंल्याए। परवानीपुर गापा–५ बहुअरीमा लुकहीमाई मन्दिर पनि महानगरको सेवा क्षेत्रमा पर्ने भएकोले सो ठाउँको विकास गर्नुपर्ने उनले माग गरे।

अध्यक्ष कुर्मीले तीनवटै पालिकामा राजस्वलगायत अन्य नीति नियम समान हुनुपर्ने उद्देश्यका साथ एउटा कार्यदल गठन गरिएको बताउँदै सो कार्यदलले निर्दिष्ट गरेको बुँदामा तीनवटै पालिका समन्वय गरेर जानुपर्ने बताए।

महानगरका राजस्व महाशाखा प्रमुख मनोज कर्णको संयोजकत्वमा गठन भएको चार सदस्यीय कार्यदलमा जीतपुरसिमराका राजस्व शाखा प्रमुख रमेश सुवेदी, परवानीपुरका राजस्व शाखा प्रमुख कृष्ण यादव र परवानीपुर गापाका सूचना तथा प्रविधि शाखा प्रमुख रवि जयसवाल छन्। कार्यदलले चाँडै बैठक गरी राजस्वमा समान किसिमको नीति नियम बनाएर आगामी आव २०८१/८२ को नगरसभा र गाउँसभाको लागि सुझाव पेश गर्ने जनाइएको छ।

गापा अध्यक्ष कुर्मीको अध्यक्षता एवं हरिओम साहको सहजीकरणमा भएको कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, जीतपुरसिमरा उमनपाका उपप्रमुख भोला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत निर्मला काफ्ले, परवानीपुर गापाकी उपाध्यक्ष् सुगन्धी देवीलगायतको सहभागिता थियो। कार्यक्रममा परवानीपुर गापाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले स्वागत एवं समन्वय बैठकबारेमा प्रकाश पारेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here