चीनका प्रधानमन्त्री ली कियाङले अस्ट्रेलियासँग रहेको तनावपूर्ण व्यापारिक सम्बन्ध थप सुदृढ बनाउन दुवै मुलुक लागिपरेको बताएका छन्।चीन–अस्ट्रेलियाबीच देखिएको व्यापार तनावपछि पछिल्लो सात वर्षमा अस्ट्रेलियाको भ्रमण गर्ने ली उच्चपदस्थ चिनियाँ अधिकारी हुन्।
लीको चार दिने भ्रमणले प्रमुख अस्ट्रेलियाली निर्यातको शृङ्खलाविरुद्ध लगाइएका दण्डात्मक उपायहरू हटाउने र यसले चीन–अस्ट्रेलिया व्यापार वृद्धिको सम्भावना बढाउने बेइजिङले विश्वास लिएको छ। चीन अस्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। उसले गत वर्ष प्रमुख वस्तुहरू फलाम, कोइला र खनिज पदार्थसहित आप्mनो निर्यातको लगभग ३० प्रतिशत हिस्सा ओगटेको थियो। सन् २०२३ मा दुईतर्फी व्यापार ३२७ अर्ब अस्ट्रेलियन डलर (२१६ अर्ब डलर) पुगेको थियो।
सन् २०२० मा अतिराष्ट्रवादी चिनियाँ सरकारसँग परेको कूटनीतिक दरारका कारण चिनियाँ प्रतिबन्धका कारण कोइला, काठ, जौ, गाईको मासुका साथै वाइनको निर्यातमा समस्या भएको थियो। ती प्रतिबन्धहरूले अस्ट्रेलियाली निर्यातकर्ताहरूलाई एक वर्षमा अनुमानित २० अर्ब अस्ट्रेलियाली डलर (१३ अर्ब अमेरिकी डलर) घाटा लागेको थियो।
सन् २०२२ मा प्रधानमन्त्री एन्थोनी अल्बानेजको सरकारले सत्ता सम्हालेपछि र चीनप्रति नरम कूटनीतिक दृष्टिकोण राखेपछि क्रमशः ती वस्तुमा लगाइएको अतिरिक्त शुल्क हटाइएको छ।ली र अल्बानीजले सोमवार क्यानबेरामा बन्द कोठामा विदेशी प्रभाव, मानव अधिकार, यस क्षेत्रमा चिनियाँ सेनाको कथित ‘असुरक्षित’ व्यवहार र प्रशान्त क्षेत्रमा उनीहरूको प्रतिद्वन्द्विताका विषयमा वार्ता गर्नेछन्। रासस