पर्सा जिल्लाको जीराभवानी गाउँपालिका–३ जीतपुरमा युवा उद्यमी शेखर चौधरीले बेमौसमी कटहर तथा सजिवन खेती शुरू गरेका छन्। होटल र शैक्षिक व्यवसायमा पनि दशकदेखि सक्रिय चौधरीले पाँच वर्ष लामो अध्ययन गरेर कटहर र सजिवनको व्यावसायिक खेती शुरू गरेका हुन्। पर्सा जिल्लामा व्यावसायिक तरकारीखेती गर्ने किसानको कमी छ। बहुदरमाई नगरपालिकामा हरियो तरकारीखेती गरिन्छ। पूरा जिल्लामा बहुदरमाई नपा हरियो तरकारीखेतीमा चर्चित छ। यसअघि हाल वीरगंज महानगरपालिका–२५ श्रीसिया पनि कुनै बेला हरियो तरकारीखेतीको लागि चर्चित थियो। बारा जिल्लामा सिम्रौनगढ नगरपालिका, बलिरामपुर गाउँपालिका, कलैया उपमहानगरको बन्जरियालगायतका स्थानहरू हरियो तरकारीखेतीका लागि प्रख्यात छन्। पर्साका केही स्थानमा उत्पादित हरियो तरकारी जिल्लाका लागिपनि पर्याप्त छैनन्। यहाँ बारा, मकवानपुरमा उत्पादित हरियो तरकारीले बजार लिएको छ। केही मात्रामा सीमापारि भारतको बिहार र महाराष्ट्रबाट आलु र प्याजलगायतका तरकारी आयात हुन्छन्। तर बारामा उत्पादित हरियो तरकारी कलैया, वीरगंज, नारायणघाट, पोखरा, काठमाडौंलगायतका ठाउँहरूमा पुग्दै आएका छन्।

मुलुक सङ्घीय गणतन्त्रमा गएपछि सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको सरकार बनेको छ। तीनै तहको प्राथमिकतामा कृषि क्षेत्र परेको छ। अझ स्थानीय तह किसानहरूसँग सबैभन्दा नजीकको सरकार हो। कृषि कर्ममध्ये हरियो तरकारीखेतीका लागि पालिकाहरूले बेलाबेलामा मौसमी तथा बेमौसमी तरकारीखेतीबारेमा तालीम दिने, तरकारीखेतीमा प्रख्यात देशभित्रका स्थानहरूको भ्रमण गराउने अनि सीप अनुसारको तरकारीखेती गर्न बीउबिजन, मल, कीटनाशक औषधिहरूका साथै स्प्रे, मोटर आदि सहयोग उपलब्ध गराउँदै आएका छन्। स्थानीय पालिकाहरूबाट उपलब्ध कृषि उपकरणहरूको बारा जिल्लाका किसानहरूले उपयोग गरेका देखिन्छन् तर पर्सामा त्यस्तो देखिन सकेको छैन। पर्सामा बहुदरमाई नपाबाहेक हरियो तरकारी गर्ने पालिकाहरूको खोजी गर्नुपर्छ। तर हरियो तरकारीखेतीको नाममा तालीम, भ्रमण, उपकरणहरूको सुविधा भने सबै पालिकाका किसानहरूले लिएका देखिन्छन्। वितरण अनुसारको प्रतिफल नदेखिनुको एउटै कारण हो, दुरुपयोग। अब यो दुरुपयोग कर्मचारीहरूले कागजीरूपमा गरेका हुन् कि, किसानका नाममा आफ्ना कार्यकर्ताहरूलाई वितरण गरेका हुन् कि आदि विषय भने खोजिएको खण्डमा वास्तविकता बाहिरिन्छ।

पर्सा र बारामा मौसमी तरकारीखेती हुँदै आए पनि बेमौसमी हरियो तरकारीखेतीका लागि भने छिमेकी मकवानपुरका किसानहरू अगाडि छन्। अनि अहिलेसम्म सीमापारि भारतसँग बेमौसमी तरकारीखेतीका लागि आश्रित हुनुपर्ने अवस्था विद्यमान नै छ। मौसमी तरकारीखेतीमा किसानहरूलाई मुनाफा कम हुन्छ। मौसममा सबै किसानले तरकारीखेती गर्ने र त्यसको बजार मूल्य कम हुने हुँदा जीराभवानी गापामा चौधरीले मौसम र बेमौसम दुवै समयमा उत्पादन हुनेगरी कटहर र सजिवन खेती शुरू गरेका हुन्। चौधरी जस्तै अन्य किसानहरूले पनि बजार अनुगमन गरेर बेमौसमी तरकारीखेती गर्ने हो भने पर्सेली उपभोक्ताहरू बारा, मकवानपुर र भारतमा आश्रित हुनुपर्दैन थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here