रामराजा मोहन विक्रम बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभूषण कुशवाहाको हिजो साँझ गोली हानी हत्या भएको विरोधमा शनिवार कलैया बजार क्षेत्र तनावग्रस्त रह्यो।
मृतकका परिवारजन, शुभचिन्तक, विद्यार्थीलगायत विभिन्न दलका कार्यकर्ताहरूले जिल्ला प्रशासन कार्यलय बारा अगाडि शव राखी प्रर्दशन गरेका थिए। जिप्रका र भरतचोकका विभिन्न स्थानमा टायर बालेर शनिवार दिनभर प्रदर्शन भयो, जसले गर्दा सवारी साधनहरू सञ्चालन भएनन् भने बजार क्षेत्र तनावग्रस्त थियो।
कुशवाहाको हत्या आरोपमा अहिलेसम्म सातजनालाई शङ्काको आधारमा पक्राउ गरेर सोधपुछ, छानबीन भइरहेको बारा प्रहरीले जनाएको छ। शङ्काको आधारमा पक्राउ गरिएकाले उनीहरूको नाम सार्वजनिक गरिएको छैन। विरोधमा उत्रेकाहरूले बारा प्रहरीले अपराधीसँग साठगाँठ राखेकोले हत्याका घटना भइरहेको आरोप लगाएका छन्।
तर बारा प्रहरीले भने अपराधीको पहिचान भएको, उनीहरू तत्काल फरार रहेका र जुनसुकै अवस्थामा पनि पक्राउ गरी कानूनी कारबाई गरिने बताएको छ। बारा प्रहरीको यो अनुसन्धानबारे प्रमुख जिल्ला अधिकारीले परिवारजन र आन्दोलनकारीहरूलाई सम्झाएपछि परिवारले शव बुझेको छ।
प्रहरी स्रोतका अनुसार कुशवाहाको उनको छिमेकीको इशारामा हत्या भएको हो। लेनदेन र जग्गा विवादमा कुशवाहाको हत्या भएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ। हिजो साँझ आदर्श कोतवाल गाउँपालिका–३ बतराटोलमा अज्ञात समूहले कुशवाहामाथी गोली प्रहार गरेको थियो। उनी आदर्श कोतवाल गाउँपालिका–२ खजुरियाबाट कलैया आउँदै गर्दा दुईवटा मोटरसाइकलमा सवार चारजनाले बीच बाटोमा रोकेर गोली प्रहार गरेका थिए।
दाहिने कोखामा गोली लागेर गम्भीर घाइते कुशवाहाको घटनाको दुई घण्टापछि वीरगंजको वयोधा अस्पतालमा मृत्यु भएको थियो।