आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा बङ्गलादेश नेदरल्यान्ड्सलाई २५ रनले पराजित गर्दै विजयी भएको छ। वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा गए राति सम्पन्न खेलमा बङ्गलादेशले दिएको १६० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३४ रनमा समेटियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार नेदरल्यान्ड्सका लागि एनगेलब्रेक्टले २२ बलमा सर्वाधिक ३३ रन बनाए। त्यस्तै विक्रमजित सिंहले २६, कप्तान स्कट एडवड्र्सले २५, माइकल लेभिटले १८, आर्यन दत्तले १५ तथा म्याक्स ओडाउडले १२ रन बनाए।
बङ्गलादेशका लागि होसेनले तीन विकेट लिए भने तास्किन अहमदले दुर्ई विकेट झारे। त्यस्तै मुस्तफिजुर रहमान र तान्जीम शकीबले समान एक–एक विकेट लिए।
त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५९ रनको योगफल बनाएको थियो। बङ्गलादेशका लागि शाकीब अल हसनले ४६ बलमा नौ चौकासहित सर्वाधिक ६४ रन जोडे भने तान्जिद हसनले ३५ रन बनाउँदा महमुदुल्लाहले २५ रन तथा जाकेर अलीले १४ रन बनाए। नेदरल्यान्ड्सका लागि आर्यन दत्त र पल भ्यान मिकरनले समान दुर्ई दुर्ई विकेट लिए भने टिम प्रिङ्गलले एक विकेट लिए।
यो जीतसँगै समूह ‘डी’ मा रहेको बङ्गलादेशले तीन खेलमा चार अङ्क जोडेको छ। नेदरल्यान्ड्सको तीन खेलमा दुर्ई अङ्क रहेको छ। त्यस्तै नेपालको दुर्ई खेलमा एक अङ्क रहेको छ। श्रीलङ्काको तीन खेलमा एक अङ्कमात्र रहेको छ। नेपाल र दक्षिण अफ्रिकाको खेल भोलि हुनेछ। दक्षिण अफ्रिका भने विश्वकपको सुपर आठमा पुगिसकेको छ।