समीर पाख्रिन(२०१६) नेपाली साहित्यको पूर्वपरिचित नाम हो । उनका अनुगमन (एकाङ्कीसङ््रग्रह, २०७५) र परिणति (नाटक, २०७८) गरी दुर्ई कृति पूर्वप्रकाशित छन् । मूलतः नाटक र अंशतः कविता माध्यमबाट नेपाली साहित्यमा दर्बिलो कदम राखेका पाख्रिन आप्mनो नवीनतम कृति अनुत्तरित प्रश्न (कथासङ्ग्रह, २०८०) लिएर पाठक माझ उपस्थित भएका छन् । यस सङ्ग्रहका अधिकांश कथा पत्रपत्रिकामा प्रकाशित भइसकेका हुन् । पूर्वप्रकाशित ९ र ३ अप्रकाशित गरी यस कृतिमा एक दर्जन कथाहरू सङ्गृहित छन् ।

कथाकार मन्दिरा मधुश्रीका शब्दमा समीरको कथा लेखनको धरातल हाम्रै परिवेशमा अडिएको छ । हाम्रै घरपरिवार, समाज, देशका घटना–परिघटनाको सूक्ष्म अध्ययन, चिन्तन र विश्लेषण हुन्छन् उनका सिर्जनामा । समिरका कथा पढ्दा आप्mनै कथा पढे जस्तो लाग्छ (पछिल्लो आवरण पृष्ठ) । सामाजिक तथा पारिवारिक जीवनका अनेकन समस्यामाथिका प्रश्न, राजनीतिका कूटिल दाउपेचजन्य समस्याले उठाएका प्रश्न तथा आर्थिक असमानताले निम्त्याएका समस्यामाथि प्रश्न वास्तवमा यी र यस्तै अनुत्तरित प्रश्नका उत्तरहरूको खोजी स्रष्टा पाख्रिनका कथाले गरेका छन् । यस अर्थमा कथा जीवन्त छन्, सामयिक र स्वाभाविक पनि लाग्छन् ।

पहिलो कथा दोधारले स्वदेशभित्रको बेरोजगारी समस्या र वैदेशिक रोजगारप्रति युवाको मोहलाई कथ्य बनाएको छ । शहरी जीवनका विकटता, बेरोजगारीका कारण सृजित आर्थिक, सामाजिक तथा पारिवारिक समस्या, निजी स्कूलको शिक्षकका रूपमा प्राप्त हुने अल्पकालीन रोजगार र त्यसप्रतिको सामाजिक दृष्टिकोण कथामा व्यक्त भएका छन् । एकातिर लोकसेवा आयोगको अधिकृतमा छनोट भएको समाचार र अर्काेतिर वैदेशिक रोजगारको भिसासहितको हवाईटिकट । यी दुवै एकसाथ हात लाग्दा स्वदेशमैं बसौं कि वैदेशिक रोजगारमा लागौं भन्ने द्विविधालाई दोधार कथाले विषय बनाएको छ ।

दोस्रो कथा मेरो जन्मघरले जन्मघरप्रति स्नेहभाव व्यक्त गरेको छ । मातापिताप्रति श्रद्धाभाव, वृद्धवृद्धाप्रति सहृदयता र जन्मघरको ममता कथामा सहजताका साथ व्यक्त भएको छ । प्रायः भग्नावशेषका रूपमा पुगेको र भूतघरका रूपमा चिनिएको आप्mनो जन्मघर खरीद गरी स्वर्गीय मातापिताको नाममा वृद्धाश्रम निर्माण गरी असहायहरूलाई आश्रय दिने पुनीत कर्मका माध्यमबाट नवपुस्तालाई समाजसेवामा लाग्न अभिप्रेरित गरिएको छ ।

तेस्रो कथा अनुत्तरित प्रश्नले पारिवारिक पृष्ठभूमिलाई कथ्य विषय बनाएको छ । लकडाउनको समयमा भएको प्रविधिमैत्री भर्चुअल शिक्षण विधि र यसले बालबालिकामा पारेको प्रभाव चित्रण गरिएको यस कथामा बालमनोविज्ञानमा आधारित सिकाइ कार्यकलापमा जोड दिनुपर्ने सन्देश कथामा पाइन्छ । सामान्य पारिवारिक असमझदारीले निम्त्याएको असाधारण परिणति कथामा वर्णित छ ।

चौथो कथा हाँस्दाहाँस्दैले साहित्यिक क्षेत्रमा देखापरेका विकृति विसङ्गतिलाई चिरफार गरेको छ । विमोचन समारोहमा समीक्षकले राख्ने धारणाले लेखक तथा पाठकमा पार्ने प्रभाव कथाको कथ्य बनेर आएको छ । कृतिमाथि स्वच्छ समीक्षा जरुरी छ । अति आग्रह र अति पूर्वाग्रह दुवै घातक छन् । यसले लेखक तथा पाठक दुवैलाई हानि गर्छ । एकजना समीक्षकको पूर्वाग्रहले लेखनवृत्तिमा पारेको प्रभाव देखाउँदै प्रभाव र दबाबमा नपरेर निरन्तर लेखनकर्ममा लाग्ने व्यक्ति नै सच्चा लेखक हो । समयले सिर्जनाको मूल्याङ्कन अवश्य गर्छ ।

पाँचौं कथा बदर मतले राजनीतिका विकृति विसङ्गतिलाई उधिनेको छ । जनतामाथि नेताले बाँड्ने चुनावी आश्वासन, भोटप्राप्तिका लागि बिच्छ्याइने जालझेल, सोझासिधा जनतामा राजनीतिप्रति वितृष्णालगायत विषय कथाले उठाएको छ । राजनीतिक सचेतनाको अभावले मत बदर हुने दृष्टान्त पनि प्रस्तुत छ ।

छैटौं कथा मिलापत्रले नारी समस्या उठाएको छ । घरपरिवारमा नारीमाथि हुने हिंसा, लैङ्गिक विभेद, बहुविवाहजस्ता विषय कथ्य बनेर आएका छन् । पितृसत्ताको सोचले आक्रान्त सामाजिक संरचना भत्किनुपर्छ । अशिक्षा र अन्धविश्वास नै नारीमाथिको दमनको कारक बनेको छ । र, यस्ता अत्याचारविरुद्ध आवाज बुलन्द हुनु आवश्यक छ ।

सातौं कथा अन्तर्वार्तामा एकजना सफल उद्यमीको कथा प्रस्तुत गरिएको छ । उद्यमशील बन्न सके थोरै लगानी र व्यावसायिक चिन्तनबाट सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश कथाले व्यक्त गरेको छ । हातमा सीप, काममा जाँगर र व्यवहारमा इमानदारी भए बेरोजगारी बस्नुपर्दैन, स्वरोजगार सृजना गरी अरूलाई समेत अवसर दिन सकिन्छ ।

आठौं कथा झन्डै अनर्थ भएकोले प्राकृतिक प्रकोप र यसले निम्त्याएको समस्यालाई प्रस्तुत गरेको छ । ग्राम्यवासीले प्रदर्शन गरेको सहृदयता र सरलता, त्याग र समर्पणले आजको स्वार्थप्रेरित समाजमा मानवताको नवीन सञ्चार गर्ने आशा राख्न सकिन्छ । अशिक्षा र अन्धविश्वासकै कारण ग्रामीण समाजमा मातृशिशुको स्वास्थ्यमा देखापर्ने समस्यालाई कथाले उठाएको छ । तीर्थ यात्रामा निस्केका परिवारका सदस्य बेखबर भएपछि अन्तिम संस्कारको तयारी हुन लाग्दा अचानक आइपुगेपछिको वर्णन रोमाञ्चक छ ।

नवौं कथा नयाँ युगको सङ्केतले राजनीतिक तथा सामाजिक क्षेत्रमा देखापरेका विकृति विसङ्गति कोट्याउँदै जनतालाई नेतामुखी नबन्न र समाजको परिवर्तनका संवाहक स्वयं बन्न आह्वान गरिएको छ । जनता नेतामुखी बन्दै गएका, नेतामा राजनीतिक इमानदारिता र नैतिकता ह्रास हुँदै गएको छ तर हामी आफैं समाजको विकास र निर्माणका आधारशिला बन्न सक्छौं । अतः थोरै इच्छाशक्ति र थोरै मात्र त्यागको भावना भयो भने नयाँ युग आउँछ ।

दशौं कथा दुवै हातमा लड्डुले स्थानीय राजनीतिका कुटिल चाललाई प्रस्तुत गरेको छ । राजनीतिलाई देश र समाजको हितका लागि नभएर स्वार्थपूर्तिको माध्यम बनाउने प्रवृत्तिप्रति कथामा व्यङ्ग्य गरिएको छ । साम, दाम, दण्ड, भेदको नीति लिएर स्वार्थपूर्तिमा प्रवृत्त नेताको चरित्र कथाले उदाङ्ग पार्दै वर्तमान राजनीतिक वृत्तमा देखापरेका परिदृश्य प्रस्तुत गरेको छ ।

एघारौं कथा आजको श्रवणकुमारले सेवा नै परम धर्म हो भन्ने चिन्तन व्यञ्जित गरेको छ । निस्स्वार्थ सेवा गरे त्यसको प्रतिफल प्राप्त हुने सन्देश छ । अभिभावकप्रति सन्तानको कर्तव्य देखाउन खोजिएको छ । आगन्तुकप्रति गर्नुपर्ने सद्व्यवहार, मानवीय संस्कारलगायत विषयलाई कथाले कथ्य बनाएको छ । कर्तव्य निर्वाह नगर्ने तर अधिकार खोजी गर्ने आधुनिक समाजमा व्यक्तिवादी प्रवृत्ति हावी छ ।

अन्तिम कथा एटिएम कार्डले वित्तीय साक्षरतालाई कथ्य बनाएको छ । वित्तीय साक्षरताको अभावले हुन सक्ने दुर्घटनाप्रति सचेत बनाएको छ । पारिवारिक विश्वासको अभाव र त्यसले सृजित समस्या कथाको विषय हो । उचित मार्ग निर्देशन र पारिवारिक संस्कार भएन भने बालबालिका दुव्र्यसनी बन्ने कुरामा हामी सबै सचेत हुनुपर्छ ।

अन्त्यमा, सामाजिक विषयवस्तुलाई न्यून आदर्श र अधिक यथार्थ उन्मुख सञ्चेतनाको संवरण गर्न खोज्नु कथाकार पाख्रिनको मूल कथावृत्ति देखिन्छ । कथाकारकै शब्दमा विनापूर्व तयारी कथाविधामा प्रवेश गरेको हुँदा मेरा कथाहरू कलात्मक र शैलीपरक नभएका हुन सक्छन् । यसैले म मेरा कथाहरू प्रशोधनमा नपरेका अर्गानिक कथाहरू हुन् भन्न मन पराउँछु (मेरा दुर्ई कुरा) । उनका कथामा भाषाशैलीगत सरलता र सहजता छ, न्यून साहित्यिक लालित्य र गुम्फनरहित स्वाभाविक तर प्राञ्जल कथ्य बोलियुक्त अभिव्यक्ति । विमातृभाषी नेपालीको कथनमा देखिने भाषिक वैशिष्ट्य यदाकदा उनका कथामा देखिन्छन्, कतै पात्रानुकूल स्वाभाविक स्वरूपमा त कतै भाषिक सम्पादनको अभाव र मुद्राराक्षसगत त्रुटिका रूपमा । समग्रमा उनका कथाले समस्याको उठान, कथ्यको उत्कर्षण र सारवस्तुको निष्कर्षणमा स्वाभाविकता प्राप्त गरेका छन् । यस अर्थमा अनुत्तरित प्रश्नभित्रका कथा पठनीय र वैचारिक छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here