विश्व रक्तदाता दिवस जून १४ (जेठ ३२ गते) हिजो मनाइएको छ । प्रत्येक अङ्ग्रेजी वर्ष जून १४ का दिन र विक्रम संवत्मा भने कुनै वर्ष जेठ ३१ र कुनै वर्ष ३२ गते यो दिवस पर्छ र विश्वव्यापीरूपमा दिवस मनाइने गरिन्छ । नेपालमा पनि यो दिवस विगत २३ वर्षदेखि मनाइँदै आएको छ । मानिसको शरीरमा दौड्ने रगत मानिसबाट नै आपूर्ति हुन्छ । अन्य कुनै जीवजन्तु, पशुपक्षीको रगत मानिसमा चढ्दैन र मानिसको लागि मानिसकै रगत आवश्यक पर्ने हुनाले रक्तदानलाई महादान भनिएको हो । एकजना स्वस्थ मानिसमा छ लिटर अर्थात दश पिन्ट रगत हुन्छ । १८ वर्ष पुगेका र ६० वर्षमुनि उमेर समूहका सबै स्वस्थ व्यक्तिले रक्तदान गर्न सक्छन् । रक्तदान गरेर शरीरमा रगत घट्ने होइन । रक्तदान गर्ने व्यक्तिको रगत तीन महीनामा सामान्य खानपीनबाट पुनः सञ्चय हुने गर्छ । एकपटकमा एकजना मानिसले ४७० एमएल रगत दान गर्न सक्छ र यो रगत दान गरेपछि ९० दिनमा शरीरले पुनः दान गर्न सक्ने क्ष्Fमता प्राप्त गर्छ । रक्तदान नगर्ने व्यक्तिको पनि ४७० एमएल रगत ९० दिनपछि खराब हुन्छ । यसरी शरीरमा खराब हुने यो मात्राको रगत दान गर्दा स्वास्थ्यका लागि पनि राम्रो हुने र अरूको ज्यान बचाउन प्रयोग भएर दानी कहलिने भएकोले नै रक्तदान गर्नका लागि उत्प्रेरित गरिएको हो ।
रगतको जात, लिङ्ग, वर्ण, धर्म हुँदैन र सबै मानिसलाई रगत चाहिन्छ अनि आवश्यक परेकालाई दान गर्न सकिन्छ । रगतबाट मानिसको धर्म, जात र लिङ्ग छुट्टिंदैन । विभिन्न कारणले रगतको आवश्यकता हुने व्यक्तिलाई सबै धर्म, सम्प्रदाय एवं लिङ्गका मानिसले रक्तदान गरेर सहयोग गर्न सक्छन् । त्यसैले रक्तदानलाई मानवीय धर्म भनिएको हो । महिलाहरूले रजस्वला भएको नौ दिनपछि रक्तदान गर्न सक्छन् । तर सुत्केरी, बालबालिकालाई दूध खुवाउँदै गरेको र एन्टिबायोटिक औषधि प्रयोग गरिएको अवस्थाका महिलाले रक्तदान गर्न सक्दैनन् । पुरुषहरूमा दीर्घरोग लागेका, एन्टिबायोटिक औषधि सेवन गरेका, शरीरमा रगतको कमी देखिएका, वजनको हिसाबले ४५ किलोमुनि रहेकाबाहेक १८ वर्ष पुगेका र ६० वर्षमुनिका सबै स्वस्थ व्यक्तिले रक्तदान गर्न सक्छन् । पछिल्लो समय रक्तदान गर्ने मानिसहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ भने रगतको खपत पनि बढ्दो छ ।
रक्तदाता समूह, नेपाल रेडक्रस सोसाइटी र सामाजिक सङ्घसंस्थाहरूको निरन्तर प्रयासबाट अहिले वार्षिक साढे १४ हजार पिन्टसम्म पर्सा, बारा, रौतहट र सर्लाहीबाट रगत सङ्कलन भइरहेको छ । चालू आवको तथ्याङ्क अनुसार रक्तसञ्चार केन्द्रबाट सङ्कलित कुल रगतभन्दा करीब १८ सय बढी रगत वितरण भएको छ । अस्पतालको सङ्ख््यामा वृद्धिसँगै रगतको माग पनि बढेको हो । रगत परीक्षणमा लाग्ने शुल्क मात्र लिंदा पनि अहिले प्रतिपिन्ट रगतको लागि रु एक हजार ५० तिनुपर्छ । पर्सा, बारा र रौतहट जिल्लाका कतिपय पालिकाहरूले सोबापतको रकम व्यवस्था गरिदिएकाले उक्त पालिकाका मानिसहरूलाई निश्शुल्क रगत प्राप्त भइरहेको छ । यस प्रकारको व्यवस्था अन्य जिल्लाका पालिकाहरूले पनि गरिदिने हो भने गरीब, विपन्नहरूलाई आवश्यकता परेको बखत सहज, सरल तरीकाबाट रगत उपलब्ध हुन्थ्यो र बिरामीका अभिभावकहरूलाई रगतका लागि तनावको सामना गर्नुपर्दैन थियो ।