माधव तिमल्सिना, ठोरी, ३१ जेठ/

ठोरी गाउँपालिकाको आयोजनामा बिहीवार गापा कार्यालयमा आव २०८१/८२ को नीति तथा कार्यक्रमका लागि सर्वपक्षीय अन्तक्रिया  सम्पन्न भएको छ।

अन्तक्रियामा सहभागीहरूले आगामी नीति तथा कार्यक्रममा गापाले शिक्षा, कृषि, पर्यटन प्रवद्र्धनको लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताए।

यसैगरी, नीति तथा कार्यक्रमसँगै पालिकाले ठोरीको आमूल परिवर्तनको लागि शिक्षा, कृषि, पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने बताए। उनीहरूले भौतिक विकाससँगै गापाले चेतना परिवर्तनका निम्ति पनि विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका थिए।

गापाका जनप्रतिनिधिले विकासलगायतका काम गर्दा दलीय विभेद नगर्न र सोअनुरूपको नीति तथा कार्यक्रम र बजेट पनि नल्याउन सुझाए। सहभागीहरूले जनप्रतिनिधिहरूले सबैलाई समानरूपमा व्यवहार गर्नुपर्ने र सोहीअनुरूपको विकास निर्माणलगायत सामाजिक काम गर्दा गापाको उन्नति हुने सुझाव दिएका थिए।

सहभागीहरूले गापाका सामुदायिक विद्यालयहरूको शिक्षाको स्तर उकास्न विद्यमान गापा शिक्षा ऐन संशोधन गर्नुपर्ने र अनुगमनमा कडाइ गरी विद्यालयमा पालिकाको स्थिति बलियो बनाउनुपर्ने सुझाव दिएका थिए।

यसैगरी, विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गर्दा मातृभाषामा निर्माण गर्नुपर्ने बताए। कार्यक्रममा सहभागीहरूले पर्यटन प्रवद्र्धन क्षेत्रमा ठोरीले पछिल्लो समय फड्को मार्दै गर्दा होटल व्यवसाय फस्टाएको तर सोसँगै देह व्यापारको विकृति पनि शुरू भएकोमा चिन्ता व्यक्त गरे। उनीहरूले यस्ता अनैतिक कार्य कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेतर्फ पनि गापाको पहल हुनुपर्ने बताए।

यसैगरी, कृषिमा विशेष प्राथमिकता, निष्क्रिय कृषि सहकारी खारेजी, नमूना टोल घोषणा गरी भौतिक विकास गर्नुपर्ने र गुणस्तरीय स्वास्थ्य, खानेपानीको उचित व्यवस्थापनतर्फ पनि गापाले पहल गर्नुपर्ने बताए। विपद् व्यवस्थापनमा गापाको सक्रियता बढाउनुपर्ने, सामाजिक सुरक्षा भत्ता सहजरूपमा उपलब्ध गराउने वातावरणको निर्माण गर्नुपर्ने र त्यसका लागि बैंकिङ सेवाको व्यवस्था पनि नीति तथा कार्यक्रममा समेट्न सुझाव दिएका थिए।

गापा उपाध्यक्ष् गोकुलीकुमारी रेग्मीले आगामी दिनमा आफ्नो  नेतृत्वमा अन्तरपार्टी सञ्जाल गठन हुने घोषणा गरिन्। उनले सबैको चाहना ठोरीको समृद्धि भएकोले सोअनुरूपको काम गर्ने आश्वासन दिइन्। उनले केही त्रुटि, कमीकमजोरी रहेको स्वीकार्दै त्यसलाई आगामी दिनमा दोहोरिन नदिन प्रतिबद्धता जाहेर गरिन्। उनले सबैको सकारात्मक सुझावलाई आगामी नीति तथा कार्यक्रममा समावेश गरी सोहीअनुरूप बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गरिन्।

उनकै अध्यक्ष् तामा भएको अन्तक्रियामा ठोरी गाउँ कार्यपालिका सदस्य ठाकुरप्रसाद न्यौपाने, नेका ठोरीका सभापति सन्तोष श्रेष्ठ, एमालेका सचिव जगेन्द्र पौडेल, माओवादी केन्द्रका उपाध्यक्ष भक्तबहादुर सुनार, नेपाली काङ्ग्रेसका रामबहादुर श्रेष्ठ, प्रकाश खनाल, समाजसेवी वेदमन थापा, शिक्षक महासङ्घ ठोरीका अध्यक्ष अमृत श्रेष्ठ, शिक्षक सङ्गठनका केन्द्रीय सदस्य केशव शर्मालगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here